भरतपुर, २८ जेठ ।
सडक भासिएको पृथ्वी राजमार्गको आँबुखैरेनी मुग्लिन सडकखण्डमा पहरो काटेर सडक फराकिलो पार्ने काम धमाधम भइरहेको छ । काम छिटो सम्पन्न गर्न रातको समयमा समेत पहरो काट्ने कार्य गरिएको छ ।
यात्रुलाई समस्या नपरोस् भनेर रातको समयमा समेत पहरो काट्ने काम भइरहेको इलाका प्रहरी कार्यालय बन्दीपुरका प्रहरी निरीक्षक हरिबहादुर क्षेत्रीले जानकारी दिए । सडक विभाग यान्त्रिक कार्यालय डुम्रे, तनहुँको डोजरको सहायतामा सडक माथिको पहरो काटेर फराकिलो पार्ने काम भइरहेको उनले जानकारी दिए ।
हाल सो क्षेत्रमा मोटरसाइकल, कार र माइक्रोबस जस्ता साना सवारी साधन सञ्चालनमा ल्याइएको क्षेत्रीले जानकारी दिए । पहरो धेरै काट्दा सडक माथिबाट पनि पहिरो जाने जोखिम हुने भएकोले एकतर्फी रुपमा ठूला सवारी साधन सूचारु गर्न दुई वटा डोजरको प्रयोग गरेर काम भइरहेको क्षेत्रीले जानकारी दिए । ठूला सवारी सञ्चालनमा ल्याउन अझै तीन दिन लाग्ने अनुमान प्रहरीको छ ।
तनहुँको आँबुखैरेनी खैरेनी गाउँपालिका–४ मर्स्याङ्दी जलविद्युत केन्द्रको ड्याम साइड नजिक शुक्रबार बिहान ४ बजे सडक भासिएकोले यातयात अबरुद्ध छ। ‘ठूलो परिमाणमा सडक भासिएर मस्र्याङ्दी नदीमा खसेकोले यातायात बन्द छ । सडक मुनीको भाग भासिएपछि सडक माथिको पहरोलाई डोजरको सहायतामा काटेर साना सवारी सञ्चालनमा आउने बाटो बनाइएको छ । सडकको भित्तो खोतल्ने कार्य हाल भइरहेको प्रहरीले जनाएको छ ।
पहिरोमा बा १० च ४६४९ नम्बरको कार र वा ३३ प १०८१ नम्बरको मोटरसाइकल पुरिएका थिए। पहिरोले पुरिएर गोरखाको बारपाक घर भएर हाल तनहुँको आँबुखैरेनी बजारमा बस्ने २९ वर्षीय केशव घिमिरे र हेटौंडा उपमहानगरपालिका(७ का ३५ वर्षीय हेमबहादुर भुजेलको मृत्यु भएको छ ।





