राप्ती, २८ जेठ ।
राप्तीमा विभिन्न संस्थाहरूको सहयोगमा स्कुले बालबालिकाहरूको मुटु परीक्षण गरिएको छ । चितवन मुटु अस्पताल, नेपाल हार्ट फाउन्डेसन र लायन्स क्लब अफ चितवनको संयुक्त आयोजनामा राप्ती ७ का स्कुले बालबालिकाहरूको मुटु परीक्षण गरिएको हो ।
वरिष्ठ मुटु रोग विशेषज्ञ डा शंकर लौडारीको नेतृत्वमा सञ्चालित उक्त शिविरमा १२ जना स्वास्थ्यकर्मीको सहयोगमा इसिजी र इको कार्डियोग्राफी सेवा सहित स्वास्थ्य परीक्षण गरिएको थियो । परीक्षणपछि स्वास्थ्यमा समस्या देखिएका बालबालिकाहरूलाई नि:शुल्क औषधि वितरणको व्यवस्था गरी गम्भीर किसिमका समस्या भएकाहरूलाई चितवन मुटु अस्पतालमा नि:शुल्क उपचारको व्यवस्था मिलाइएको शिविरका व्यवस्थापक लोकराज भुसालले जानकारी दिए ।
शिविरमा राप्ती ७ मा रहेको दिव्यज्योति मातृ सहयोग, सिरकोट आधारभूत विद्यालय र सिरकोट निम्न माद्यामिक विद्यालयका ४३७ जना बालबालिकाहरूको मुटु परीक्षण गरिएको थियो ।
यस अघि रत्ननगरको झुवानी मा.वि., बछ्यौली मा.वि., मालपुर तथा बद्रयानी माविमा करिब १६०० बढीको मुटु परीक्षण गरिएको आयोजकले जनाएको छ । त्यस्तै आगामी दिनमा बज्रहट्टि र शक्तिखोरका विद्यालयमा पनि यस्तै शिविर सञ्चालन गरिने अधिकारीले जानकारी दिए ।





