भरतपुर, २५ जेठ ।
सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा चिप्लिएर खस्दा भरतपुरमा दुई जनाको मृत्यु भएको छ । बुधबार साँझ भरतपुर महानगरपालिका- १९ तमुटोलकी रामप्यारी गुरुङको घरमा रहेको सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा अचानक चिप्लिएर खस्दा कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका- ९ बस्ने २४ वर्षीय छतिराम थारु र २३ वर्षीय राम चौधरीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा छतिराम अचानक चिप्लिएर खसेका थिए । उनी खसेपछी उनीसँगै काम गरिरहेका भिनाजु नाता पर्ने रामले उनलाई निकाल्न भित्र पसेको थिए तर दुबै जना बाहिर निस्कन सकेनन् ।
दुबै जना सेफ्टी ट्याङ्कीमा फसेको जानकारीपश्चात् प्रहरी, सेना र शसस्त्रको टोली घटनास्थलमा खटिइ दुबै जनाको शव निकालेका हुन् ।
प्रवक्ता अधिकारीका अनुसार दुई वटै शव पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा लगिएको छ ।





