बाँदरमुढे घटना: १७ वर्षदेखि न्याय खोजिरहेको एउटा घाउ

बाँदरमुढे (माडी),  २४ जेठ।

देब्रे हात र देब्रे खुट्टाभरी घाउका खतैखत छ । मंगली पुनको भाँचिएको ढाड पुर्ण निको भएको छैन । कान राम्रो सुन्दिनन् । डाक्टरले आसै मारेकी मंगली बाँच्न त बाँचेकी छन् । तर, बल्झिरहने घाउ बोकेर ।

तत्कालीन विद्रोही माओवादीले २०६२ जेठ २३ गते दक्षिणी चितवन माडीको बाँदरमुढे खोलामा थापेको एम्बुसमा परेकी थिइन् मंगली । जसै जेठ २३ नजिकिँदै जान्छ, उनको मनमा त्यही त्रासदी हुण्डरी बनेर आइदिन्छ । औषधि नखाइ उठेर हिड्नै सक्दिनन् । “जाडो महिनामा दुखाइ झनै बढ्छ, कान पनि सुन्न सक्दिनँ”, उनले आफ्नो पीडा सुनाइन् ।

सोमबार जेठ २३ गते बिहान माडी–७ की यमकला चुवाइ निन्याउरो अनुहार लिएर बाँदरमुढे आइन् । घाइते र मृत्यु भएकाका अरू परिवारले जस्तै उनले पनि स्मृति पार्कमा फूल चढाइन् । दियो र अगरबत्ती बालिन् । यसरी नै स्मृति पार्कमा फूल चढाएको यो १७ औँ वर्ष हो । तर, जति वर्षहरू बढ्दै जान्छन्, उनीहरूमा रहेको न्याय पाउने आशाको सानो धर्सो झनै सानो हुँदै जान्छ । उनीहरूको कामना यही छ कि, त्यो धर्सो मसिनिएर एकदिन च्वाट्टै नछिनोस् ।

सरोकारवालाले दिने झुटा आश्वसनले खाटा बसेको घाउ उप्काएर नुनचुक दलेजस्तो हुने गरेको उनीहरुको भनाइ छ । एम्बुसमा परी ४२ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा अधिकांश माडीका स्थायी बासिन्दा थिए । नेपाली सेनाका तीन जवानले पनि उक्त घटनामा ज्यान गुमाएका थिए । विस्फोटमा एउटै घरका तीन जनासम्म परेका थिए ।

१५० यात्रु बोकेर माडीको बगईबाट भरतपुरतर्फ आउँदै गरेको ना. १ ख ३२४५ नम्बरको यात्रुबाहक बसमा माओवादीले बम विस्फोट गराउँदा घटनास्थलमा ३९ र उपचारका क्रममा तीन जनाको मृत्यु भएको थियो ।

सामान्य घाइते भई घरमा उपचार गराएका घाइतेको रेकर्डबाहेक ७५ जना घाइते भएका थिए । त्यसैमध्येकी एक थिइन् कामकै सिलसिलामा माडीकै देवन्द्रपुरदेखि बसन्तपुरसम्म आइरहेकी यमकला । ८ महिनाको गर्भवती उनले गाडी पड्किँदा ‘घ्यार्र’ को आवाजसम्मको स्मरण छ । त्यसपछिको घटना उनलाई केही याद छैन । घटनाको तीन दिनपछि होस खुल्दा काठमाडौँको छाउनी सैनिक अस्पतालमा छटपटाइरहेको अवस्थामा आफूलाई पाइन् ।

एक महिनासम्म अस्पतल बसेकी उनको आँखामा बमको छर्रा पर्नुको साथै खुट्टा र मेरुदण्ड भाँचिएको थियो । पेटको बच्चासहित विस्फोटमा परेकी उनको बच्चा अशक्त जन्मियो । उनकी छोरी अहिले सुस्तमनस्थिति छिन् । अहिले पनि उनको दैनिकी औषधिकै सहारामा चलिरहेको छ । “औषधि खाइरहनुपर्छ शरीर दुख्छ । सुतेको ठाउँमा कोल्टे फेर्न अर्कैको सहारा चाहिन्छ”, उनले भनिन्, “अब धेरै बाचिन्न जस्तो लाग्छ ।”

उनी आफूलाई जरो काटेको बुट्यानसँग तुलना गर्छिन् । भन्छिन्, “शरीर बमको छर्राको बिखले गलाउँदै लगेको छ तर राज्यले उपचार खर्चसम्म दिएको छैन ।” केही संघस्ंस्थाले दिएको २÷४ हजारबाहेक गएको साल एक लाख रुपैयाँ नगरपालिकाले राहत दिएको उनले बताइन् । दुई छोरा र एक छोरीकी आमा यमकला राज्यले जीविकोपार्जन र छोराछोरीको शिक्षादीक्षाको जिम्मा राज्यले लिनुपर्ने माग राख्छिन् ।

गुनासो त मंगलीको पनि उस्तै छ । माडी नगरपालिकाले दिएको १ लाख रकमबाहेक राहतको नाममा अरू केही नपाएको गुनासो गर्छिन् । उपचारकै लागि मासिक १० देखि १५ हजार खर्च गर्नुपर्ने बाध्यता उनी सुनाउँछिन् । श्रीमान्सँग छुट्टिएर माइतमै बसेकी उनले उपचार र छोराछोरीको लागि भएको एक कठ्ठा जमिन धितो राखेर ऋण झिकेकी छन् । तर, ब्याजसमेत तिर्न नसक्दा जग्गा नै लिलाम हुने अवस्था आएको उनी बताउँछिन् । “हामीले पूर्णरूपमा क्षतिपूर्ति पनि पाएको छैनौँ”, उनी भन्छिन्, “औषधि उपचारको ग्यारेन्टी होस्, छोराछोरीले निःशुल्क पढ्न र रोजगारीको व्यवस्था होस् ।”

पीडित परिवारले भनेजस्तो न्याय पाएन र राहत पनि । उनीहरूले न्याय माग्दै सत्य निरुपण आयोगमा ५७ उजुरी पनि दिएका छन् । तर, अहिलेसम्म फाइल खोलिएको छैन । “राज्यले नहेर्दा हामी धेरै मर्कामा छौँ”, यमकला भन्छिन्, “अब त आश पनि लाग्न छाड्यो, यतिका वर्ष सरकारले खै हेरेको ? अब हेरिहाल्यो भने दोषीलाई कारबाही होस्, हाम्रो जीविकोपार्जन र छोराछोरीको पढाइका लागि हेरिदिओस् ।”

घटनाको जिम्मेवारी लिएको माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटक–पटक झुटो आश्वासन दिएकोमा उनको आपत्ति छ । “प्रचण्डले पीडितको माझमा आउँदा ठुल्ठूला पोका लिएर आउँछु भन्ने आशा देखाउने”, उनी भन्छिन्, “त्यसले पीडा बढाउने काम मात्रै भयो, मह्लमपट्टी खै ?”

माडी–७ कै दुर्गामाया मगरको गुनासो पनि उस्तै हो । माइती बरुवा हिडेकी मगर सो घटनामा घाइते भएर ६ वर्षसम्म उठेर हिड्न नसक्ने भइन् । घटनामा परेर मेरुदण्ड भाँचिएको उनको उपचार अहिलेसम्म पनि चलिरहेकै छ । तीन वर्ष बिस्तारामा थला परेकी र तीन वर्ष ह्विलचेयरको सहारामा समय गुजारिन् । त्यतिबेला उपचारको लागि खर्च भएको ९ लाख ऋण अहिलेसम्म उनको परिवारले चुक्ता गर्न सकेको छैन । “एक कठ्ठा जग्गा बेचेर पनि तिर्न नसकेर अहिले ब्याजको स्याज तिनुपरेको छ”, उनी भन्छिन्, “झरी–बादल–जाडो मौसम आउँदा शरीरको दुखाइ बढ्दै जान्छ । औषधिबिना चल्न सक्दिनँ ।”

श्रीमान्ले ज्याला मजदुरी गरेर औषधि उपचारको लागि खर्च जुटाउँदै आए पनि राज्यपक्षले भने नहेरेको उनी सुनाउँछिन् । “खै राज्यले के ग¥यो”, उनको आक्रोस छ, “माओवादीले पनि ढाट्ने काम मात्रै ग¥याो, यस्तो–उस्तो आश्वासन मात्रै पाइयो, औषधि उपचार र हामीलाई बाचुन्जेल पाल्नुपर्ने हैन ?”

बादरमुडे घटनाको स्मृतिमा बनाइएको स्मारकमा वैशाखीको साहारामा आइपुगेकी धनकुमारी पौडेलले मृतक आत्माको स्मरण गर्दै फूल चढाइन् । बेलाबेला झस्काइरहने त्यो निर्मम घटनाकी पिडीत समेत रहेकी पौडेलसँग शरिरमा चोट र मनमा पिडा नै पिडा मात्रै छ ।घटना भएको दिन श्रीमान बालेश्वर पौडेलसँग दातको उपचार गर्न भरतपुर हिडेकी उनीहरु दुवै घटनामा दुवै गम्भीर घाइते भए । उनका श्रीमान केही समयको उपचारपछि निको भएपनि धनकुमारी भने पूर्णरुपमा निको हुन सकेकी छैनन् । उनको सो घटनामा दुवै खुट्टा भाचिएका थिए भने शरिरका अन्य अंगमा पनि चेटपटक लागेको थियो । त्यहीँ घाउ अहिलेसम्म बोकेर हिडीरहेकी उनी गला अवरुद्ध गर्दै राज्यले गरेको बेवास्ता सुनाउँछिन् । ‘राज्यले पहिले अलिअलि हेरेको थियो पछि आएर  त्यो पनि बन्द गरे । अब हामीले के खाने कसरी औषधीउपचार गर्ने ? शरिरै नै यस्तो छ । कहिले त हिड्दा हिड्दै लड्छु हामी बुढाबुढी काम गर्न पनि सक्दैनौ राज्यले पनि हेर्दैन’ उनले सकसपूर्ण भोगाइ आँखाभरी आसु पार्दै सुनाइन् ।

माडी–९, अयोध्यापुरीबाट भरतपुरको गीतानगर घर बनाउने ठाउँतर्फ जाँदै गरेकी सीता सुवेदीले बाँदरमुढे घटनामा   डेढ वर्षकी काखे छोरी र श्रीमान् गुमाइन् । सीता आँफै घाइते बनिन् । अहिलेसम्म उनको भाँचिएको ढाड र खुट्टाले भर दिँदैन । उपचारबाट केही निको भए पनि बेला–बेला अस्पताल धाइरहनुपर्छ । तर, सरकारले द्वन्द्वकालीन घटनाको घाइतेको पहिचाने हुने रातो किताबमा नाम नराखेको उनको गुनासो छ ।

श्रीमान् आत्मराम सुवेदी र छोरी अञ्जली सुवेदी गुमाएकी उनलाई पनि राज्यले उचित राहतले सम्बोधन गर्न सकेको छैन । बर्सेनि जेठ २३ ले सम्झाउने त्यो बर्बरतापूर्ण घटनाले उनको आलो घाउ मात्रै कोटिन्छ । तर, सुनुवाइ हुँदैन । उनी भन्छिन्, “१७ वर्ष भइसक्यो । कति भन्नु, कति सुनाउनु । घाउ कोट्याएर नुन चुक छरेजस्तै मात्र हुन्छ । हाम्रो कुरा सुनुवाइ हुँदैन । हामीलाई परिपुरण र राहत कहिले मिल्छ ?”

सोही घटनामा पाँच वर्षीय छोरा र श्रीमती गुमाएका माडी नगरपालिका ७ का निर्मल सापकोटा पनि न्यायको अनुभूतिसम्म गर्न नपाएको बताउँछन् । तत्कालीन समयमा काठमाडौँमा जागिर गर्ने उनले खुट्टा भाचिएको छोराको उपचार र गर्भवती श्रीमती चेकअपको लागि कुरिबसेका थिए । यता घरबाट हिडेको केही समयमै छोरा र श्रीमतीले बादरमुँडेमै गाडीमा हानिएको बमको निशानामा परि घटनास्थलमै ज्यान गुमाउन पुगे । सोमबार घटनास्थलमा बनाइएको स्मृति पाकर्मा भेटिएका उनले घटना भएको यतिका वर्ष बितीसक्दा पनि दोषी खुलेआम हिड्दा बर्बरतापूर्ण घटनालाई नै सामन्यीकरण गरिएको भन्दै न्यायको लडाइको लागि आफूहरु पछि नहट्ने चेतावनी दिन्छन् ।उनी भन्छन्, ‘हाम्रो लडाइ केही समयका लागि होइन हामी जुगौ लड्ने छौ । हामी मात्रै होइन हाम्रो छोराछोरी पनि लड्नेछन् , राजनितीको र नजानेका निहत्था मान्छेलाई पूर्वयोजना बनाएर निर्मम  तरिकाले मारियो । यो कुनै सानोतिनो घटना हुँदै होइन ।’

पिडीतलाई पूर्ण रुपमा क्षतिपूर्ति व्यवस्था शिक्षा, स्वास्थ्य रोजगारीको व्यवस्था र दोषीलाई कारबाहीको माग आफूहरुको रहेको सापकोटाको बताउँछन ।

घटनापीडितका लागि गर्छौँ नभनेको होइन, माओवादी र सरकारले पटक–पटक भनेकै हुन् । तर, दर्जनौँपटकको आश्वासन व्यवहारमा कार्यान्वयन नभएपछि उनीहरूले २०७४ मा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई चुनावमै बिथोल्ने प्रयास गरे । चितवन क्षेत्र नम्बर ३ बाट चुनाव लड्दै गरेका दाहाल माडीमा एउटा सभाका लागि मंसिर १७ गते गए । तत्कालीन गठबन्धनका तर्फबाट नेकपा एमालेका अध्यक्ष ओलीसमेत उक्त सभामा सहभागी हुन आउँदै थिए । दाहालले पीडितका प्रतिनिधिलाई भेटे । करोडौँका प्याकेज सुनाए । सहमति गरे । पीडितका परिवारलाई फेरि एकचोटि आशाको पासा फ्याँके । त्यसबेला दाहाल–ओलीले अँगालो हालेर भनेका थिए–‘अब माडी मणि बन्छ ।’ दाहालले शानदार मत पाएर चुनाव जिते । उनीहरूको बलियो सरकार बन्यो । तर, जनाएको सहमतिअनुसार काम भएन ।

घटना भएको माडी–८, बाँदरमुढे खोलाको किनारमा बनाइएको स्तम्भमा घटनामा ज्यान गुमाएकाहरूको सूची छ । त्यो बाटो भएर आउजाउ गर्दा घटनामा आफन्त गुमाएकाहरूको मुटु चिरिन्छ । उनीहरू आफ्नो दाहिने हात घरि छातीमा त घरि निधारमा लैजान्छन् र मनमै कामना गर्छन्–‘दिवंगत आत्माले शान्ति पाओस् ।’ तर, लगत्तै आफ्नै मन भने शान्त हुँदैन । अझै बिथोलिन्छ । निचोरिन्छ । बटारिएर आउँछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट