भरतपुर, २४ जेठ
बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले ट्राफिक सचेतना अभियानलाई तीव्रता दिएको छ । विभिन्न विद्यालयमा आधारित सचेतना कार्यक्रम गरिरहेको ट्राफिक प्रहरीले मंगलबार भरतपुर–२९ का विद्यार्थीहरुलाई प्रशिक्षण दिएको छ ।
२९ नम्बर वडाको एक मात्र माध्यमिक विद्यालय कविलास माध्यमिक विद्यालय, जुगेडीमा अध्ययनरत विद्यार्थीहरुलाई जिल्ला ट्राफिक कार्यालय चितवनबाट गएको टोलीले प्रशिक्षण दिएको हो ।
उक्त कार्यक्रममा कार्यालयका ट्राफिक प्रहरी नायब निरीक्षक कृष्णज्यू ठकुरीले उपस्थित करिब डेढ सय विद्यार्थीलाई ट्राफिक चिह्न, दुर्घटनाका कारण र न्यूनीकरणका उपायबारे जानकारी दिएका छन् । “करिब ६० प्रतिशत सवारी दुर्घटना मानवीय कारणले हुन्छन्”, उनले भने, “यसलाई हामी आफैँले न्यूनीकरण गर्न सक्छौँ ।”

चालक तथा पैदलयात्रीको लापरबाहीका कारण धेरैजसो दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको तथ्यांकले देखाउँछ । त्यसैगरी दुर्घटनाको दोस्रो कारणमा यान्त्रिक गडबढी देखिने गरेको ठकुरीले बताए । “त्यस्तो कारण १० प्रतिशत हाराहारीमा हुन्छन्”, उनले भने, “एक्कासि टायर पड्किने, ब्रेक फेल हुने जस्ता कारणले पनि दुर्घटना हुनसक्छन् ।”
प्रशिक्षणका क्रममा उनले कक्षा ९ र १० मा अध्ययन गर्ने किशोरकिशोरीलाई सडक किनारामा हिँड्दा वा बाटो काट्दा अपनाउनुपर्ने सावधानीबारे सिकाएका थिए । “पहिले रोकिनुस्, चारैतिर हेर्नुस्, एकिन हुनुस्, अनि मात्रै बाटो काट्नुस्”, उनले सुझाए, “सडक किनारामा हिँड्दा पनि कमिलाको शैलीमा एकै लाइनमा हिँड्नुस् ।”
सो क्रममा उनले सूचनामूलक, चेतावनीमूलक र आदेशमूलक ट्राफिक चिह्नहरु विद्यार्थीलाई चिनाएका थिए । कार्यक्रममा उपस्थित विद्यार्थीहरुले कार्यक्रमबाट ट्राफिक नियमबारे धेरै कुरा जान्न पाएको प्रतिक्रिया दिए ।

ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले विद्यार्थी अति नै उत्सुक हुने र उनीहरुको माध्यमबाट अभिभावक, गाउँ, टोल र समाज पूरैलाई सिकाउन सकिने भएकोले विद्यालय केन्द्रित कार्यक्रम गरिएको बताए । “विद्यार्थी समाजको वास्तविक प्रतिनिधि हुन्”, उनले भने, “उनीहरुमार्फत समाजलाई धेरै कुरा सिकाउन सकिन्छ ।”
ट्राफिक प्रहरी कार्यालयले ट्राफिक सचेतन अभियानअन्तर्गत हरेक महिना कम्तीमा ४ विद्यालयमा यस्तो कार्यक्रम गर्दै आएको छ । यो अभियान निरन्तर अघि बढिरहेको अधिकारीले बताए । विद्यालयका साथै चालक तथा यात्रुहरुलाई पनि सचेतना कार्यक्रम गरिरहेको उनले बताए ।

कविलास माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक राजुकुमार सापकोटाले ट्राफिक सचेतना कार्यक्रम विद्यालयमा निकै उपलब्धीमूलक भएको बताए । “विगतमा पनि ट्राफिक कार्यालयले गरेका कार्यक्रम उपलब्धीमूलक थिए”, उनले भने, “विद्यालयमा सिकेकोभन्दा ट्राफिक आफैँ उपस्थित भएर सिकाएको सिकाइ बढी उपयोगी देखिएका छन् ।”





