काठमाडौँ, २१ जेठ ।
कवि तथा उपन्यासकार सुमन वर्षाको उपन्यास `अन्ततः यन्त्रणा´ लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको लोकार्पण कार्यक्रममा प्रमुख अतिथि (साहित्यकार तथा महामन्त्री, नेपाली कांग्रेसका) विश्वप्रकाश शर्मा, विशिष्ट अतिथि वरिष्ठ साहित्यकार भुवन ढुंगाना, अतिथि प्रयागराज भट्टराई, समीक्षक साहित्यकार महेश पौडेल, समीक्षक साहित्यकार अनुपमा रेग्मी, रहेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि शर्माले साहित्य गहना नभएर गौरव भएको बताए । `गहना लगाइन्छ फुकालिन्छ तर गौरव सधैँ नै अमर हुन्छन्´ शर्माले भने- `राजनीतिज्ञहरु कता हराएर जान्छन् तर साहित्यकारहरु अमर हुन्छन् ।´
नारी विषयलाई समेटिएको यस उपन्यासमा जति पुस्ता आए पनि नारीका पीडाहरु उस्तै रहेका र महत्त्वपूर्ण विषयवस्तुको उठान गरिएको विशिष्ट अतिथि भुवन ढुंगानाले बताइन् । समीक्षकद्वय साहित्यकार महेश पौडेल र अनुपमा आचार्यले पनि पुस्तकको टिप्पणी गरेका थिए । कार्यक्रममा कवि दिनेश अधिकारी, कवि राधेश्याम लेकाली, कवि कृष्ण प्रसाइँ, त्रिभुवनचन्द्र वाग्ले, निलम कार्की निहारिका, विधान आचार्य, जयदेव भट्टराईलगायत विशिष्ट साहित्यकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन कवि ऋषभदेव घिमिरे र कार्यक्रमको अध्यक्षता शिखा बुक्सका प्रमुख पुष्पराज पौडेलले गरेका थिए ।





