भरतपुर, १९ जेठ ।
संयुक्त राष्ट्र संघको नमूना अभ्यास गराउने उद्देश्यका साथ चितवनको सौराहामा नमूना संयुक्त राष्ट्र सङ्घीय महासभा (एमयुएन) सुरु भएको छ । चितवनका २ सहित काठमाडौँको ६ वटा गरी ८ विद्यायका ८० विद्यार्थीको सहभागितामा बिहिबारदेखि नमूना संयुक्त राष्ट्र सङ्घीय महासभा सुरु भएको हो । सभा सञ्चालक समितिमा पनि २० जना विद्यार्थीहरु रहनेछन् ।
कार्यक्रमको शुभारम्भ हुनु अघि पत्रकार सम्मेलन गर्दै भरतपुरको अङ्कुरम् एकेडेमीका प्रिन्सिपल सुमन पौडेलले आफ्नो विद्यालयबाट मात्र ३१ जना विद्यार्थी नमुना सभामा सहभागी हुने बताएका थिए । उनका अनुसार सभामा सहभागी विद्यार्थीहरुले विभिन्न देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय मानवअधिकार, अन्तर्राष्ट्रिय प्रेस, विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा रही आफ्ना परिषदको एजेण्डामा विस्तृत छलफल गरी तार्किक भनाइहरु प्रस्तुत गर्ने छन् ।
संयुक्त राष्ट्र संगठनको अवधारणा र अभ्यासको विषयमा विद्यार्थीलाई ज्ञान प्रदान गर्न यो कार्यक्रमको आयोजना गरिएको हो । जसले विद्यार्थीहरुको नेतृत्व विकास, कुटनीतिक सीपको विकास, वाक कलाको सीपको विकासलगायतको सीप विकास हुने विश्वास छ ।
सिक्स ह्याट्स प्रालिको आयोजनामा सुरु भएको यो कार्यक्रम आगामी आइतबार प्रत्येक एजेण्डामा संकल्प पत्र तयार गरेर सम्पन्न हुनेछ ।
कार्यक्रममा सहभागी विद्यार्थीहरु मध्य उत्कृष्ट तीन छनौट गरिनेछ । उनीहरुलाई अमेरिकामा हुने नमूना राष्ट्र संघीय सम्मेलनमा सहभागी हुन २५ देखि ७५ प्रतिशतसम्मको खर्च सञ्चालक समूहले बेहोर्ने पनि प्रिन्सिपल पौडेलले बताए ।





