गैँडाकोट, १९ जेठ ।
गैँडाकोटस्थित जनक कलेजले बिहीबार एक कार्यक्रमको आयोजना गरी १७ जना प्राध्यापकलाई ल्यापटप वितरण गरेको छ । सोही अवसरमा कलेजले बिबिएस तेस्रो वर्षको अन्तिम परीक्षामा आफ्नो विषयमा उत्कृष्ट नतिजा ल्याउन सफल ४ जना प्राध्यापकलाई पुरस्कृत गरेको छ । प्राध्यपकहरु प्रद्युम्न ढुङ्गाना, राजन तिमिल्सिना, सत्यराज भण्डारी र अर्जुन पाण्डे नगदसहित पुरस्कृत भएका हुन् ।
कार्यक्रममा बोल्दै गैँडाकोट–५ का वडाध्यक्ष रत्नप्रसाद सापकोटाले स्थानीय सरकारको तर्फबाट कलेजको विकासमा सहयोग गर्ने प्रतिबद्वता व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि उनले प्राध्यापकलाई ल्यापटप वितरण गरेर कलेजले प्रशंसनीय कार्य गरेको बताए ।
क्याम्पस प्रमुख चेतनाथ भुसालले २०६४ सालमा स्थापना भएको यस कलेजमा ४ सय जनाभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको जानकारी दिए । कलेजमा नवलपुर र चितवनका विभिन्न स्थानबाट बिद्यार्थीहरु अध्ययन गर्न आउने गरेको उनको भनाई थियो ।
कार्यक्रममा सञ्चालक समिति सदस्य वेदप्रसाद गौडेल, जनक नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक चुडामणि शर्मा कँडेल, प्राध्यापक एवम् नेपाल राष्ट्रिय शमशेर माविका प्रधानाध्यापक ईन्द्रराज भट्टराईलगायतले मन्तब्य ब्यक्त गर्दै कलेजको प्रगतिको कामना गरेका थिए ।
कलेज सञ्चालक समिति अध्यक्ष कमलप्रसाद पराजुलीको अध्यक्षता भएको कार्यक्रममा सहायक क्याम्पस प्रमुख प्रद्युम्न ढुङ्गानाले स्वागत मन्तव्य राखेका थिए । प्राध्यापक हिमालदेव पंगेनीले कार्यक्रमको सहजीकरण गरेको थिए ।





