भरतपुर, १८ जेठ ।
‘गंगा’ ब्रान्डको दूध र दूधजन्य परिकारहरूको उत्पादन र बजारीकरण गर्दै आएको गंगानगर दुग्ध उत्पादक सहकारी संस्थाले दूध दिवस मनाएको छ । `दीर्घ जीवन, गुणस्तरीय दूध तथा दुग्ध पदार्थको सेवन´ भन्ने नाराका साथ सहकारीले २२औँ अन्तराष्ट्रिय तथा १२औँ राष्ट्रिय दूध दिवस मनाएको हो ।
दिवसको अवसरमा सहकारीले आफ्नो सेवा क्षेत्र भरतपुर १३, १४ र २२ का नवनिर्वाचित जनप्रतिनिधिहरुलाई खादा र अविरले बधाई समेत प्रदान गरेको थियो । त्यस्तै फरक क्षमता भएका व्यक्तिहरुलाई दुध हस्तान्तरण गरेर कार्यक्रमको उद्धघाटन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद रामलाल महतोले दूधमा आत्मनिर्भर हुन प्रदेशले विभिन्न कार्यक्रम गर्दै आएको बताए । पूर्वधारको विकाससँगै कृषि क्षेत्रमा अघि बढ्न प्रदेशमार्फत विभिन्न योजना कार्यान्वयन भएको उनको भनाई थियो ।
सहकारीका अध्यक्ष कृष्णप्रसाद सापकोटाले सहकारी नारामा मात्र नभई व्यवहारिक रुपमा नै दूध क्षेत्रमा राज्यले लगानी गर्नुपर्ने बताए । उनले राज्यबाट प्राप्त हुने सहयोग लिने प्रक्रिया झन्झटिलो भएको भन्दै नीतिगत रुपमा सहज बनाउनुपर्नेमा जोड दिए ।
किसानलाई दूधको उचित मूल्य दिलाउने अपेक्षासहित उद्योगका रूपमा संचालित यस सहकारीले आफ्नै नमुना पशुपालन फार्मसँगै तीन स्थानबाट दूध संकलन गर्दै आएको छ । संकलित दूध आफैले प्रशोधन गरी दही, मोही, घिउ, पनिर, नौनी, खुवा, बटर, छुर्पी, क्रिमलगायतका विभिन्न परिकार उत्पादन र बिक्री गर्दै आएको छ । २०४९ सालमा स्थापना भएको यस सहकारीमा अहिले ५ सयभन्दा बढी किसान आवद्ध छन् ।




