भरतपुर,१५ जेठ ।
चितवनको विकट पहाडी क्षेत्र कालिका नगरपालिका–१० सिद्धिमा विपन्न परिवारमा जन्मिएका भरत चेपाङले एसएलसीसम्मको पढाइ अरुको घरमा काम गर्दै पूरा गरे ।आर्थिक अभावका कारण उनले बाँकी पढाइ अघि बढाउन सकेनन् । थप पढ्नलाई उनले आफन्तसँग सहयोगको अनुनय नगरेका होइनन् । तर कसैले सहयोग गरेनन् बरु विदेश जाने भए ऋण दिनचाहिँ उनीहरू तयार देखिए । अनि क्याम्पस जाने रहर त्यागेर उनी यूएई हानिए । यसका लागि उनले एक लाख ऋण काडे । चार वर्ष यूएईमा कामगरी कमाएको पैसाले ऋण तिरे । दुई कठ्ठा जमिन जोडे । अनि फर्किए ।
नेपाल फर्केपछि उनको भेट ओखलढुंगाकी ज्ञानिता राईसँग भयो । दुवैको मन मिल्यो । विवाह गरे २०७० सालमा ।
सानैमा आमा गुमाएकी ज्ञानिताले मामाको सहयोगमा १२ कक्षासम्म पढेकी थिइन् । कामको सिलसिलामा उनी चितवन आएका बेला भरतसँग भेट जुरेको थियो ।
विवाहपश्चात ज्ञानिताले सिद्धिको एक विद्यालयमा प्रारम्भिक बाल विकास (इसिडी) का विद्यार्थीलाई पढाउन थालिन् । पूर्वको राई समुदायमा जन्मेर काठमाडौंमा पढाइ गरेकी उनले चेपाङ समुदायका बालबालिकालाई विद्यालयमा गरिने विभेद देखिन् ।
शिक्षक र शिक्षिकाले विद्यालयमा चेपाङ समुदायका विद्यार्थीलाई विभेदपूर्ण व्यवहार गर्थे, जुन उनलाई बिझ्थ्यो । उनी विद्यालयबाट फर्केपछि श्रीमानलाई सबै सुनाउँथिन् ।
भरतलाई पनि थप पीडानुभूति हुन्थ्यो । पढाइको महत्त्व राम्रोसँग बुझेका भरतले विदेशबाट फर्केपछि बेलाबेला गाउँ पुग्दा चेपाङ बालबालिका विद्यालय टाढा भएकै कारण शिक्षाबाट बञ्चित भएको, एउटै कक्षा दोहो¥याउनु पर्ने बाध्यतालाई नजिकबाट नियालिरहेका थिए ।
‘खानलाई ४ महिना पुग्दैन । सुत्नलाई ठाउँ छैन । विद्यालय नजिकै नभएकाले कक्षा दोहो¥याएर बर्सेनि एउटै कक्षामा पढ्नुपर्ने बाध्यता देखेपछि मेरो मन मानेन’, भरतले भने ।
चेपाङ समुदायका बालबालिका विपन्नताकै कारण पढ्न नपाएको देखेपछि २०७३ सालमा राष्ट्रिय माविमा दुई वटा भवनमा १५ जना चेपाङ बालबालिका राखेर सुरु गरे होस्टेल ।
१५ महिनासम्म त्यही विद्यालयमा राखे । पछि विद्यालयले भवन अभाव र सेक्सन बढाउनुपर्ने कारण देखायो । आवासको व्यवस्था अन्तै गर्नुपर्ने भयो । भरतले तत्काललाई समस्या टार्न आफूले विदेशमा जोडेको दुई कठ्ठा जग्गा एक लाख तीस हजारमा बेचेर आफ्नो बाख्रा गोठमा ब्लक लगाएर छात्रावासको आकार दिए ।
साना चार वटा कोठा बनाए छात्रका लागि । छात्राहरूलाई आफू बसिरहेकै घरमा राखे । होस्टल सञ्चालनमा ल्याएपछि श्रीमतीको पूर्ण साथ भए पनि परिवारका अन्य सदस्यले भने साथ दिएनन् ।
‘दिदी, दाइले कमाउने । कान्छाले केही गरेन । सम्पत्ति बेचेर सक्ने भयो भनेर आमाबुवा पनि टाढिनुभयो’, उनले विगत सम्झिए ।
छात्रावासमा अहिले ३५ जना चेपाङ बालबालिका छन् । २० जना छात्र र १५ जना छात्रा । तिनलाई पढाउने जिम्मेवारी ज्ञानिता र भरतको टाउकोमा छ । ज्ञानिता दुई घण्टा पैदल हिँडेर प्रावि तहमा पढाउने जागिर गर्छिन् । भरतको सानोतिनो पसल छ । त्यही आम्दानीको स्रोत र बेलाबेला दाताहरूको आर्थिक सहायताले छात्रावास जेनतेन चलिरहेको छ ।
छात्रावास सञ्चालनका लागि स्थायी स्रोत केही छैन । ८ देखि १८ वर्षसम्मका विद्यार्थीहरू छात्रावासमा बस्छन् । नजिकैको सामुदायिक विद्यालयमा अध्ययन गर्छन् । त्यहाँ बस्ने विद्यार्थीलाई खाद्यान्न जोहो गर्ने चुनौती यथावत् छ ।
उनले बेलाबेला सामजिक सञ्जालमा खाद्यान्नलगायत आर्थिक साहयता हारगुहार गर्दै जुटाइरहेका छन् । छात्रावासमा बालबालिकाको लागि आवश्यक पूर्वाधारसमेतको अभाव छ । पढ्नका लागि टेबल कुर्ची त परै जाओस्, सुत्नका लागि पर्याप्त कोठाहरू छैनन्, खाट छैनन् । एउटै बेडमा पाँच जनासम्म अटीनअटी सुत्ने गरेको भरत सुनाउँछन् ।
टिनले छाएको कोठा गर्मी लागेसँगै बाफिलो बनेका छन् । ‘जाडो महिनामा जेनतेन चले पनि गर्मी महिना कसरी कटाउने भन्ने चिन्ता उत्तिकै छ । एउटै बेडमा पाँच जनासम्म सुत्छन्, आयस्रोतको राम्रो माध्यम केही छैन’, भरतले सुनाए ।
कमजोर आर्थिक जगमा उभिएको छात्रावासमा विद्यार्थीहरू सामान्य आवश्यकतालाई बिर्सेर भए पनि भोलिको स्वर्णीम उज्यालोको सपना उनिरहेका छन् ।
स्थानीय सरकारले आश्वसनबाहेक केही सहयोग नगरेको भरतको गुनासो छ । ‘मेयरले नगरपालिकाको तर्फबाट कागजपत्र बनाएर सहयोग गरे । त्यही देखाएर माग्दै हिँड भन्छन्’, उनले भने, ‘हामीले उहाँहरूलाई विभिन्न कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोलाउँथ्यौँ, आश्वसन दिनुहुन्थ्यो । तर उहाँहरूलाई खादा र माला किन्दाकिन्दै हैरान भयौँ । एक रुपैँया आएन । अहिले त हामीले बोलाउनै छाड्यौँ ।’
छात्रावासबाट अहिलेसम्म १५ जना चेपाङ विद्यार्थीले एसएलसी पास गरेर गइसकेका छन् । जेहेनदार, मिहिनेती विद्यार्थीलाई विभिन्न संघसंस्थाको सहयोगमा समन्वय गरी उच्चशिक्षाका लागि पहल गरिरहेको उनले बताए । यहाँ पास भएका विद्यार्थीमध्ये एक जना एचए पढ्दै छन् । अन्य ५ जना विद्यार्थीले उच्चाशिक्षा अध्ययन गरिरहेका छन् । कोही प्राविधिक शिक्षा लिएर पढिरहेको छात्रावास सञ्चालक ज्ञानिता बताउँछिन् ।
‘हामीले बाटो देखाइदिएका छौँ । हामीले पुलको काम गरेका हौँ । भविष्यको बाटो खन्ने काम त विद्यार्थी आफैँको हो’, उनले भनिन् ।
छात्रावास सञ्चालनमा अनेक चुनौती छन् । तर उनीहरू नडगमगाउने बताउँछन् । ‘शिरमा राखेको छौँ, यसलाई जसरी हुन्छ अगाडि बढाउनुपर्नेछ’, उनले भनिन् ।
छात्रावासमा रहेका बालबालिकाहरूको अनुहारमा शिक्षाले ल्याएको उज्यालोले नै आफूहरूलाई खुसी दिलाउने ज्ञानिता बताउँछिन् । ‘शिक्षा नै ठूलो रहेछ । हामी त जसोतसो बाचौँला, भोलिका सन्ततिको भविष्य पनि हेर्नुप¥यो । त्यसैले हामीले छात्रावास चलाइरहेका छौँ’, उनले भनिन् ।





