भरतपुर,१५ जेठ ।
नाम – मनकुमारी चेपाङ ।
उमेर –४८ वर्ष ।
पेशा : अटोचालक
हरियो रङको कुर्ता सुरुवालसँगै साइड ब्याग र साथमा उस्तै रङको अटो रिक्सा । यहीँ हुलियामा भेटिएकी मनकुमारीको जीवनमा संयोगले एकैसाथ यी रङहरु मिसिएका हुन् । आज शहरमा अटो हाकेर दैनिक सयौँलाई गन्तव्यमा पुर्याउने ‘हैसियत’ सम्म आइपुग्दा मनकुमारीले संघर्षका धेरै आयामहरु पार गरेकी छिन् । भरतपुरका गल्ली चोक हुँदै चिल्ला अनि फराकिला सडक नाघेर कोषौ टाढासम्म अटो हाकेर यात्रुलाई गन्तव्य पुर्याउनु अघि उनले पढ्नकै लागि पनि कैयौ साघुरा गोरेटोहरु पार गरेर आएको किस्साहरु छन् ।
यसै पनि सिमान्तकृत चेपाङ समुदायमा जन्मेहुर्केकी मनकुमारीको लागि यहाँसम्म पुग्न असम्भव प्राय थियो । तर आत्मविश्वास र केही गर्ने भोकले सबैकुरा सम्भव हुन्छ भन्ने उदाहरण हुन् उनी ।
०००
मनकुमारी चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाको विकट पहाडी गाउँ काउलेमा जन्मेकी हुन् । विपन्न परिवारमा जन्मेहुर्केकी मनकुमारीको परिवारलाई बिहानबेलुकाको खानाको जोहो गर्नु नै ठूलो कुरा हुन्थ्यो । यस्तो अवस्थामा पढ्ने लेख्ने परको कुरा थियो । तीनै अभावबीच हुर्कीएकी मनकुमारीको १७ वर्षकै कलिलो उमेरमा गाउँमै बिहे भयो । गाउँमा कुटो कोदालो, वनजंगल धाउने दैनिकी हुन्थ्यो तर दुई छाक टार्न सम्म पनि धौ धौ पथ्र्यो । मनकुमारीे बिहे अगाडि जुन अभाव र गरिबीबाट गुज्रेकी थिइन्,बिहेपछि पनि आर्थिक अवस्था त्यो भन्दा पर थिएन । बिहे गरेको केही वर्षमै उनी चार सन्तानकी आमा बनिन् । केही महिनासम्म आफैँले उब्जाएको अन्नपातले चलेपनि बाकी महिनाहरु जंगलको गिठ्ठा र कन्दमुलको साहारामा परिवारको गुजारा चलाउनु पर्ने स्थिती उनको अगाडि थियो ।
चरम आर्थिक अभावको परिस्थितिबाट उन्मुक्त कसरी पाउने भनि उनी सोचिबस्थिन् । आफ्नो सन्तानहरु हुर्कर्दै जादा आर्थिक भार पनि बढ्दै गएको तर आम्दानीको स्रोत भने केही नभएको अवस्थाले उनको मन पिरोलिरहन्थ्यो ।
मनकुमारी घरमा छोराछोरी हेरचाह गर्थिन । श्रीमान ज्यालामजदुरी गर्न धादिङ पुग्थे । तर उनले कमाएको पैसा मनकुमारीको हातमा सुको पदैन्थ्यो । छोराछोरीलाई हरेक दिन कसरी खुवाउने भन्ने पिरलोले उनको पेट पोल्थ्यो । श्रीमान न घर आउने न पैसा नै पठाउने गर्थे । घरमा बस्नुको विकल्प नभएपछि अनन्त आफू पनि साना –साना बालबच्चा च्यापेर श्रीमान भएकै ठाउँ धादिङको हुण्डीखोला झरिन । यो २०५८ सालतिरको कुरा थियो । ‘छोराछोरी खाना मागेर रुन्थे, श्रीमान बजारतिरै काममा व्यस्त तर पैसा पठाउनुहुदैन्थ्यो, भोकै बच्चा रोएको थाम्न नसकेर बालबच्चा बोकेर धादिङ झरे’ उनले विगत स्मरण गरिन् ।
अभावको पहाड बोकेर काउलेबाट धादिङ झरेकी उनी गुजाराको लागि गिट्टी कुट्न थालिन । त्यहीँ कामबाट आएको पैसाले खानाको जोहो हुनथाल्यो । धादिङ झरेपछी कामकै सिलसिलामा उनी चेपाङ संघमा जोडिन पुगिन् । साथै उनले सामाजिक व्यक्तित्व चन्द्रकुमारीलाई समेत भेट्ने मौका पाइन् । उनीसँगको भेटघाटले मनकुमारीको जिन्दगीले नयाँ फड्को मार्यो । चन्द्रकुमारीले उनलाई पढ्नका लागि पोत्साहन गरिन । ‘मनकुमारी, तिमी पढ । पाँच मात्रै पढ्न पाए पनि तिमी जागिर पाउछौ । जमाना खराब छ दुःख गरेरै कमाएपनि लुटेर खान पनि सक्छ । तिमी पढ्नुपर्छ भन्नुभया’े उनले त्यो बेला चन्द्रकुमारीले देखाएको उज्यालो बाटो सम्झिइन ।

दुई छाक जोहोको चिन्ताले पिरोलिनुपर्ने मनमाया ‘जागिर’ पाइने लोभले पढ्न तयार भइन । चन्द्रकुमारीले उनलाई ६ महिने पौढ शिक्षा पनि दिलाइन । जस्ले उनलाई पढ्न हौसला दियो ।
२०६३ सालताकाको कुरा हो, मनकुमारीको कान्छो छोरा ६ महिनाको मात्र थिए । जेठा छोरा ४ मा पढ्दै थियो । माइलो छोरो २ मा, माइलो छोरी १ मा र कान्छी छोरी शिशु कक्षामा पढ्दै थिइन् । बिहान बेलुका गिट्टी कुट्ने दिउँसो स्कुल जाने गर्न थालिन ।
धादिङको जोगिमाराको एक विधालयमा मनकुमारी छोराछोरीसँगै तीन कक्षामा भर्ना भइन । चार छोराछोरीलाई साथमा लिएर ६ महिने छोरालाई काखमा च्यापेर उनी पढ्नलाई गुन्द्री बोकेर स्कुल जान थालिन् । सबै उनका छोराछोरी सरहका विधार्थीहरु बेन्चमा बसेर पढ्थे उनी छोरा भुलाउदै कालोपाटीका अक्षर फुटाल्दै पढ्ने ध्याउन्नमा हुन्थिन् । दिनभरी स्कुल जानू , बिहान बेलुका गिट्टी कुटेर गाँसको जोहो गर्नु उनको दैनिकी बन्यो । ती दिनहरुमा भने श्रीमानको साथ उनले पाएकी थिइन् । तर कमाउने चिन्ता र परिवार व्यवस्थापनको जिम्मा उनकै थियो ।
‘श्रीमान सोझो हुनुहुन्थ्यो, काम गरेको पैसा नि माग्न नजान्ने । मैले नै गएर मागेर लिएर आउथे । उहाँलाई कि त तपाईं स्कुल जानू कि म जान्छु भन्थे उहाँले तिमी नै जाउ भन्नुभएपछी फकाएर काममा पठाउथे’ उनले सुनाइन् ।
बच्चा बोकेर साना छोराछोरीसँगै स्कुल धाइरहेकि मनकुमारीलाई कति गाउँलेले खिसीट्याउरी गर्थे ।
तर उनी विचलित भइनन् । गाउँलेले साथ नदिएपनि चन्द्राकुमारीले पढ्नको लागि हौसला निरन्तर दिइरहिन् ।
जोगिमारामा उनले ६ कक्षासम्म पढिन । बच्चाहरु हुर्कर्दै जादा अभाव पनि बढ्दै गयो । धादिङमा थप आम्दानीको स्रोतको विकल्प नदेखेपछि स–परिवार चितवनको कालिका नगरपालिकाको पदमपुरमा बसाइ सरे ।
‘परिवार खान पुग्ने पैसा कमाउन सकिएन, एक किलो चामल पकाउने ठाउँमा दुई किलो खाने भए छोराछोरी । मैले पनि पढ्न थाले । साहुहरुले पनि तिम्रो श्रीमान काममा आउनै छोड्यो भनेर पत्याउन छाडे । उल्टै ऋण लाग्यो । केही न केही गर्छु भनेर पदमपुर सरे’ उनले अभावले बसाइ सर्नुपरेको बाध्यता सुनाउदै भनिन्, ‘श्रीमान पदमपुर आउन मान्नुभएको थिएन । तर मैले सम्झाए । हामी त फर्केर जाउला तर बच्चाहरुलाई फेरि गिठ्ठा र भ्याकुरमै अल्झाउन हुन्न भने ।उहाँ पनि मान्नुभयो’
पदमपुरमा बस्नको लागि आफ्नो केही थिएन । बस्नको लागि जोहो गर्न चन्द्राकुमारीले उनलाई सहयोग गरिन् । उनको सहयोगमा मनकुमारीले सहकारीबाट ६० हजार ऋण निकालिन । सो पैसाले २ कठ्ठा जग्गा जोडेर टहरो हाले । गाँसको जोहो गर्न फेरि गिट्टी कुट्न थालिन । गिट्टी कुटेरै उनले सहकारीको किस्ता तिरिन् । धादिङमा थाती राखेको आफ्नोसँगै छोराछोरीको पढाइ पुनः सुरु गरिन् । चार जना छोराछोरी सहित उनी कक्षा ६मा पदमपुरको रेडक्रस विद्यालयमा भर्ना भइन । ठुली छोरीलाई अर्कै स्कुलमा भर्ना गरिदिइन ।
पढाइसँगै मनकुमारीले केही समय गिट्टी कुटेपछि बिहानबेलुका साइकलमा तरकारी ल्याएर भरतपुरमा बेच्न थालिन् । वर्षदिनपछि उनीसहित छोराछोरी भरतपुरमा डेरा सरे। छोराछोरीसहित चितवन माविमा उनी कक्षा ८ मा भर्ना भइन । उनको पढ्ने रहर यतिसम्म थियो कि भरतपुर सरेपछि उनी एका बिहानै मकै लिन साइकलमा गैडाकोट पुग्थिन । हतार हतार आएर खाना नखाई स्कुल जान्थिन् । एक छाक खाएर भए पनि उनले पढाइको भोकलाई कहिल्यै छाडिन्न । स्कुलबाट फर्केर उनी ठेलामा मकै बेच्थिन । पढाइ र कमाइ सँगसगै लगिरहिन् ।
एसएलसीमा विषय लागेपछि भने उनले पढाईलाई ‘ब्रेक’ लगाइन ।उनले भनिन्, ‘एसएलीसीसम्म त पढे । छोराछोरी पनि ठूलो कक्षामा पढ्न थाले त्यसैले कमाउन पनि पर्यो पढ्ने मन हुँदाहुँदै छोडे।’
मनकुमारीको अटो रिक्सा यात्रा
६–७ वर्षपहिले चितवनमा भर्खर भर्खर इ रिक्साको प्रचलन सुरु भयो । पुरुषहरुले जीवीकोपार्जनको माध्यमको रुपमा रिक्सालाई गतिलो माध्यम बनाउन थाले । भरतपुरको चौबिसकोठीमा मकै पोलेर बेच्र्दै गरेकी मनकुमारीलाई पनि रिक्सा हाक्ने हुटहुटी चल्न थाल्यो । रिक्सालाई आर्थिक उपार्जनको गतिलो माध्यम देखेकी उनले मकै बेचेर जम्मा भएको पैसाले इ–रिक्सा किनीन र चलाउन थालिन् । ‘दाजुभाइले चलाएको देखेर मलाई पनि रिक्सा चलाउन मन लाग्यो । मकै पोलेको पैसाले किनेर चलाउन थाले । इरिक्सा त एकैदिनमा सिके नि ’ मनकुमारीले अनुहार उज्यालो बनाउर्दै सुनाइन् ।
बिहान चार्ज गरेको इ–रिक्साले दिउँसो चार बजेसम्म मात्रै धान्थ्यो । त्यसपछिको समय पनि उनले व्यर्थ फालिनन् । रिक्सा घरमा छोडेर चोबिसकोठीमा साँझसम्म मकै बेचिन । दुईवर्षपछि जुगाड भएको पैसाले उनले अटो रिक्सा किस्तामा निकालिन् । त्यसयता चार वर्षदेखि उनले अटो रिक्सा हाकिरहेकी छिन् ।
अहिले उनले दिनको १५ सय देखि दुई हजारसम्म अटो चलाएर कमाउछिन । अटो चलाउने अधिकांस पुरुष छन् । अटो चलाउर्दै गर्दा उनले प्रशसा र हेपाइ दुवै भोगेको सुनाउँछिन् ।
‘महिलाले चलाएको भनेर लडाउछ भनेर सोच्ने मान्छे पनि भेटे, केहीले भने प्रशंसा पनि गर्नुहुन्छ मेरो काम देखेर’ उनले सुनाइन् ।
मनमायाको जीन्दगीका संर्घष सकिएका छैनन्, तर तीनलाई छिचोलेर अझै पर पुग्ने आट उनीसँग छ । ‘पहिले सर्टपाइन्ट लगाएका मान्छे देख्दा डराएर लुक्थे, अहिले मन्त्री नै आएपनि अटो चढाएर पुर्याइन्दिन्छु भन्ने लाग्छ’उनले हास्दै भनिन्,‘मलाई त कार सिक्न मन छ, हेरौँ कहाँसम्म पुगिन्छ ।’

शिक्षाले दिएको आट
इच्छाकामनाको काउलेको कन्दराबाट झरेकी मनकुमारीले धादिङ हुन्डिखोलाबाट चितवन मा वि सम्म तीनवटा विद्यालय फेरेर एसएलसी दिदासम्म आफ्नो र छोराछोरीको फराकिलो क्षितिज कोरिसकेकी छिन् ।
दुई छोरीको विवाह भइसक्यो अहिले । संघस्ांस्थाको सहयोगमा कान्छो छोरा कक्षा ९ पढ्दै छन । एक छोरी स्नातक दोस्रो वर्षमा पढ्दै छन् । एक छोराले सिभिल इन्जिनियर पढ्दै गरेको उनी सुनाउँछिन । मनकुमारीलाई अहिले कसैले जीवनमा सबैभन्दा ठूलो कुरा के हो भनेर सोध्यो भने उनी मुस्कुराउर्दै जवाफ दिन्छिन् –‘शिक्षा’ ।
‘शिक्षाले आत्मविश्वास दियो । आट्यो भने जे पनि गर्न सकिन्छ जस्तोे लाग्छ सायद नपढेको भए मैले यसरी अटो चलाउने आट गर्दैनथे होला ’ उनले शिक्षाले दिएको उपलब्धी सुनाउँदै भनिन् । चेपाङ समुदाय अझै पनि राज्यको आधारभुत अधिकारबाट बन्चित छन् । शिक्षा, स्वास्थ्यको पहुँचबाट धेरै हदसम्म टाँढा छन् । मनकुमारीलाई यसको कारण नै शिक्षा लाग्छ । शिक्षाको अभावले आफ्नो समुदाय ै पछाडी परेको उनको तर्क छ । ‘मलाई पनि सानोमै पढ्न रहर नभएको होइन , स्कुल पनि टाँढा थियो । खाना नै पाइन्थेन पढाइ त टाढाको कुरा थियो ।’ उनले भनिन, ‘पढाइ भन्दा ठूलो कुरा केही रहेनछ । अहिले पहिलेजस्तो त छैन तैपनि हाम्रो समुदायलाई अझै पनि गाह्रो नै छ’।





