भरतपुर, १४ जेठ ।
कविडाँडा राष्ट्रिय युवा वाङमयी प्रतिभा पुरस्कार २०७९ बाट कायाकैरन मिडिया नेटवर्क प्रालिका प्रबन्ध निर्देशक लेखराम सापकोटा सम्मानित भएका छन् ।
कविडाँडा साहित्य समाजको २०औँ वार्षिकोत्सवका अवसरमा सापकोटालाई सम्मान गरिएको हो ।
कायाकैरन दैनिक, कायाकैरन डटकम र सम्पूर्ण किताबका माध्यमबाट नेपाली साहित्य, कला र पठन संस्कृतिको विकासमा योगदान पुर्याएको भन्दै सापकोटालाई सम्मान गरिएको हो । पुरस्कारको राशि १५ हजार १ सय ६० नगदसहित सम्मानपत्र रहेको छ ।
कार्यक्रममा अन्य स्रस्टालाई पनि सम्मान गरिएको छ । सोही क्रममा कविडाँडा राष्ट्रिय सुवर्ण-तुलसी काव्य पुरस्कारबाट पोखराका वरिष्ठ कवि तीर्थ श्रेष्ठ सम्मानित भएका छन् । श्रेष्ठले ३० हजार १६० रूपैयाँसहित सम्मानपत्र प्राप्त गरे ।
कविडाँडा देव-खीना स्मृति सम्मान तथा पुरस्कार चितवनका वरिष्ठ साहित्यकार रेशम विरही र मकवानपुर जिल्लाका वरिष्ठ साहित्यकार तुलसी थापालाई संयुक्तरूपमा सम्मान गरिएको छ । यो पुरस्कारको राशि १५ हजार १ सय ६० रूपैयाँ र सम्मानपत्र छ ।
यसैगरी कविडाँडा अविनाशी कृति पुरस्कार २०७८ सालमा प्रकाशित मोक्ष उपन्यासलाई प्रदान गरिएको छ । यो उपन्यासका लेखक सिर्जन अविरललाई १५ हजार १ सय ६० रूपैयाँसहित सम्मानपत्रले सम्मान गरियो ।




