२५ वर्षअघि एक शिक्षकले गरेका ती घृणित हर्कत

भरतपुर, १४ जेठ
यौनजन्य दुर्व्यवहारका घटनाहरू एकपछि अर्को बाहिरिरहेको बेला भरतपुरको एक प्रतिष्ठित अंग्रेजी स्कुलका पूर्वविद्यार्थीहरूले वर्षौंअघि आफूहरूमाथि श्रृंखलाबद्धरूपमा भएका दुर्व्यवहार बाहिर ल्याएका छन् । २०५८ सालमा भरतपुरको सनराइज इङ्लिस स्कुलबाट एसएलसी परीक्षा दिएका विद्यार्थीहरूले त्यसबेला एक शिक्षकले आफूहरूमाथि गरेको यौनजन्य दुर्व्यवहार सम्झिँदा पनि झसङ्ग हुने गरेको सुनाएका छन् ।

उनीहरूले त्यसबेला उक्त स्कुलका सहायक प्रिन्सिपलसमेत रहेका बर्तौला थरका एक शिक्षक (जसको नाम उनीहरूले सामाजिक सञ्जालहरूमा सार्वजनिक गरे पनि यहाँ खुलाइएको छैन)ले किशोरीहरूमाथि यौनजन्य हर्कत गरेको भन्दै ती शिक्षकलाई सामाजिक बहिस्कार गर्न अपिल गरेका छन् । सामाजिक सञ्जाल फेसबुकबाट ‘स्पिकअप’ ह्यासट्यागसहित शिक्षकको नामै किटेर लामो अभिव्यक्ति सार्वजनिक गरेकी एक महिलाले किशोरी उमेरमा ती शिक्षकबाट भोग्नुपरेको दुव्र्यवहारले आफू अत्यन्तै मानसिक पीडामा परेको बताएकी छन् ।

सामाजिक सञ्जालमा सनराइजका पूर्वविद्यार्थीहरूले यो मुद्दालाई ‘बुस्टअप’ गरिरहेको भेटिएपछि कायाकैरनले २०५८ मा एसएलसी दिएका केही महिलाहरूसँग श्रृंखलाबद्ध कुराकानी गरेको छ ।

त्यसमध्ये हाल लण्डन रहेकी एक महिलाले भनिन्, “मैले भोग्नुपरेको दुव्र्यवहारको विरुद्धमा बेलामा बोल्न सकिनँ, कसैलाई भन्न सकिनँ । यही भन्न सकिनँ भन्ने पीडाले म धेरै छटपटिन्छु ।” सुन्दरी प्रतियोगितामा सहभागी भएपछि आयोजकबाट बलात्कारको सिकार हुनुपरेको घटना सार्वजनिक गरेर एक युवतीले आफूलाई पनि बोल्ने आँट दिएको उनले बताइन् । “ती बहिनीको हिम्मत देखेर यस्ता कुराले आफू मात्रै गुम्सिएर बस्ने होइन रहेछ भन्ने लाग्यो”, उनले कायाकैरनसँगको फेसबुक म्यासेन्जरमा गरेको श्रव्य कुराकानीमा भनेकी छन्, “अहिले शेयर गरेपछि मन शान्त भएको छ, हलुँगो भएको छ ।”

उनले सार्वजनिक गरेको ‘स्टेटमेन्ट’मा भनिएअनुसार तत्कालीन सहायक प्रिन्सिपलसमेत रहेका बर्तौलाको नियत घृणालायक थियो । उनी किशोरीहरूलाई असहज हुने गरी छुन्थे । मुसार्थे । यस्तो हर्कतले गर्दा किशोरीहरू तिनीसँग खुब डराउँथे । “हामीलाई शरीरको पछाडि भागमा छुने, सुमसुम्याउने गर्थे”, लण्डन बस्ने महिलाले जारी गरेको स्टेटमेन्टमा भनिएको छ, “यति मात्रै होइन, हात बढाउँदै हामीहरूको छातीसम्म लान्थे । त्यहाँ पनि सुमसुम्याउथे । दुख्ने गरी समात्थे”, उनले एउटा घटना उक्त स्टेटमेन्टमा लेखेकी छन्, “एकचोटि म ७ कक्षामा पढ्थेँ, मेरो उमेर १३–१४ वर्षको थियो होला, हाम्रो परीक्षा चलिरहेको थियो । म लेखिरहेकी थिएँ । ती सर मेरो पछाडि आए । मेरो ढाडतिर हात राखे । बिस्तारै सुमसुम्याउँदै, पिट्दै गर्न थाले । म असाध्यै डराइरहेकी थिएँ । बिस्तारै उसले मेरो छातीतिर हात बढायो । मेरो छातीमा दुख्ने गरी बेस्सरी निमोठ्यो ।”

उनले यही कुरा कायाकैरनसँगको कुराकानीमा पनि बताएकी छन् । त्यति मात्रै होइन, उनले यही कुरा त्यतिबेलाका स्कुल व्यवस्थापन हाँक्ने एक वरिष्ठ व्यक्तिलाई पनि फोनमा भनेकी छन् । उक्त अडियो कायाकैरनसँग पनि सुरक्षित छ ।

त्यसमा उनी थप्छिन्, “मलाई असाध्यै पीडा भएपछि म जुरुक्क उठेँ र प्रतिकार गरेँ । त्यसपछि बल्ल मलाई छोडिदियो ।”
हाल काठमाडौँको सतुंगल बस्ने उही समूहका अर्की महिलाले पनि यही कुरा बताएकी छन् । “हामी ती सरसँग आजित थियौँ, असजिलो तरिकाले नजिक आउने, हाम्रो भित्री कपडाको फित्ता समातेर तानिदिने, संवेदनशील अंगमा समातिदिने जस्ता घृणित कार्य गर्थे”, ती महिलाले कायाकैरनसँगको ह्वाट्सप कुराकानीमा भनेकी छन्, “हामी किशोरीका लागि ती सर दुष्ट राक्षसजस्ता थिए ।”

“ती दुष्टलाई हामी सर भन्न पनि सक्दैनौँ, मेरा कैयौँँ गुरुप्रति कत्रो सम्मानभाव जाग्छ तर तिनलाई सम्झिएर सर भन्न पनि आउँदैन”, लण्डनबाट ती महिला भन्छिन्, “भाइस प्रिन्सिपलको शक्ति दुरुपयोग गरेर तिनले हामीमाथि दुव्र्यवहार गरे ।” अहिले भरतपुर–४, पिपलचोकमा रहेको सनराइज स्कुल त्योबेला वीरेन्द्र क्याम्पसपछाडि रहेको उनले बताइन् ।

यति लामो समयपछि बल्ल यो घटना बाहिर ल्याएर तपाईंहरुले के पाउनुहुन्छ त ? भन्ने कायाकैरनको प्रश्नमा लण्डन रहेकी महिला भन्छिन्, “यो घटनाले मेरो जिन्दगीमा नराम्ररी पोलिरहन्छ, म कहिल्यै पनि शान्त भइनँ, साह्रै पीडा भोगेर बसेँ । अहिले तिनको हर्कत समाजलाई सुनाउन पाएपछि बल्ल मन हलुका भएको छ ।”

ती शिक्षकलाई आफूले त्यसबेला गरेको गल्ती महसुस गराएर सार्वजनिक क्षमायाचना गराउन आफूले चाहेको उनी बताउँछिन् । “हामीसँग त्यो बेलाको घटनाको कुनै पनि प्रमाण सुरक्षित छैन, यस्ता कुराको प्रमाण हुने कुरा पनि भएन । तर, हामी पीडितले खुलेर बोलेका कुराभन्दा ठूलो प्रमाण अरू के चाहियो र ? अब तिनले आफ्नो गल्ती महसुस गरून् र सार्वजनिकरूपमा माफी मागून् ।”

सनराइजको तत्कालीन व्यवस्थापन तहमा रहेका केही व्यक्तिहरूसँग बुझ्दा ती शिक्षकको व्यवहार विवादित नै थियो । उनी एउटा अनैतिक सम्बन्धका कारण पनि विवादित बनेका थिए । त्यसबेलाका एक शिक्षक भन्छन्, “यी नानीहरूसँग यस्तो हर्कत गरेको छेकछन्द त पाइएन तर अर्को एउटा केसमा चाहिँ विवाद भएको सम्झना छ ।” ती शिक्षक स्कुलमा खुबै रवाफ देखाउने खालका भएको तिनले बताए । ती शिक्षक २०५७/५८ सम्म सनराइज पढाउँथे । त्यसपछि जागिर छोडेर बेलायततिर लागे । बुझिएअनुसार अहिले पनि उनी त्यतै छन् ।

युवतीहरूले मात्रै होइन, त्यतिबेला सनराइज पढ्ने पुरुष विद्यार्थीहरूले पनि यो हर्कतबारे बोलेका छन् । सनराइन पूर्वविद्यार्थी समाजका अध्यक्ष अनिल अधिकारी भन्छन्, “ती सरको नराम्रो हर्कतको चर्चा धेरै जनाबाट सुनिएको हो, साथीहरूले पीडा पनि पोखेको जानकारी छ”, उनले भने, “यस्तालाई सके कानुनी, नसकिए पनि सामाजिकरूपमा कारबाही गर्नुपर्छ ।”

कानुनी उपचारका लागि यो पुरानो घटनाको कुनै प्रमाण पुग्दैन । यसप्रति यो अभियान चलाउने युवतीहरू पूर्ण जानकार छन् । तर, त्यो बेला यस्तो घटना भएको थियो र ती व्यक्तिले गलत हर्कत गरेका थिए भन्ने जानकारी पाएर अरू यस्तै घटना व्यहोरकाहरू बाहिर आऊन् र बोलून् भन्ने चाहना आफूहरूको रहेको ती युवतीहरू बताउँछन् । “कम्तीमा आगामी पिँढीले यस्तो हर्कत भोग्नु नपरोस्, हामीजस्तो आफूभित्रै पीडा लुकाएर गुम्सिएर नबसून्, कसैले पनि यस्तो भोग्नु नपरोस्”, लण्डनबाट युवती भन्छिन्, “हामीलाई त यो गलत हर्कतविरुद्ध बोल्ने साहस बटुल्न यत्रो समय लाग्यो, प्लिज अहिलेका नानीहरू त्यसरी नबस्नुहोला ।”

सनराइज अहिले सिजी ग्रुपको मुख्य लगानीमा सञ्चालित छ । त्यहाँ पुराना लगानीकर्ता र शिक्षक स्टाफ थोरै संख्यामा बाँकी छन् । यो स्कुल यस क्षेत्रमा राम्रै नाम कमाएको स्कुलमध्ये पर्छ ।

यसबारे सनराइज स्कुलका अहिलेको भाइस प्रिन्सिपल भूमि तिवारीलाई कायाकैरनले सम्पर्क ग¥यो । उनले त्यो घटनाबारे जानकारी भएका कोही पनि शिक्षक स्टाफ अहिलेको शिक्षण समूहमा नरहेको बताए । “प्रत्यक्ष थाहा पाउने त कोही भेटिएनन् तर अनौपचारिकरूपमा यो घटना थाहा पाएर निकै दुःख लाग्यो”, उनले भने, “व्यक्तिहरू गलत पर्न सक्छन्, त्यसो भनेर संस्था नै गलत भन्न भएन । जे भयो भनिएको छ, त्यो एकदमै गलत र दुःखदायी छ ।”

लण्डन रहेकी युवतीलाई भरतपुरबाट फोन गर्ने तत्कालीन एक व्यवस्थापकले पनि यही भनेका छन् । “व्यक्ति गलत हुनसक्छन्, त्यसका लागि संस्था नै गलत भन्नु हुँदैन”, उनले भनेका छन्, “त्यसकारण गलत व्यक्तिको मिलेरै विरोध गरौँ, तर संस्थालाई गलतरूपमा नमुछौँ ।” उक्त कुराकानीमा ती युवती निकै विक्षिप्त भएर रोएकी पनि छन् । “मैले भोगेका दिन सम्झिएर सनराइजप्रति मेरो कुनै गौरव महसुस हुन्न”, ती युवती भन्छिन्, “सबैभन्दा बढी दुव्र्यवहार भोगेको नाताले मलाई असाध्यै पीडा हुन्छ ।” तैपनि संस्थालाई बदनाम गराउनु आफ्नो कुनै उद्देश्य नभएको उनले बताएकी छन् । उनले आफ्नो स्टेटमेन्टमा पनि लेखेकी छन्, “संस्थाप्रति मेरो सम्मान छ, अरू वास्तविक गुरुहरूप्रति पनि धेरै सम्मान छ ।”

ती आरोपित शिक्षकसँग सम्पर्क गर्ने कायाकैरनको प्रयास सफल भएको छैन । चितवनकै स्थानीयवासी उनी लामो समयदेखि बेलायततिरै रहेको बुझिए पनि सामाजिक सञ्जाल वा अरू सम्पर्क पत्ता लगाउन सकिएको छैन । उनी आफैँ सम्पर्कमा आए वा हाम्रो प्रयास सफल भए उनको भनाइ पनि प्रस्तुत गरिने नै छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट