राप्ती, १३ जेठ ।
राप्ती नगरपालिकाका नगरप्रमुख शमशेर लामाले भण्डारा अस्पतालको अनुगमन गरेका छन् । शुक्रबार उनले आफू निर्वाचित भएपछि पहिलोपटक अस्पतालको अनुगमन गरेका हुन् ।
अस्पतालको अवस्था र त्यहाँ भएको कमिकमजोरीलाई मुख्य आधार बनाइ उनले अनुगमन गरेका हुन् । टिकट काट्ने समय, शैय्याको व्यवस्थापन, ल्याबको अवस्था र औषधीहरुको मूल्य निर्धारण तथा खरिदबिक्री प्रक्रियाबारे नगरप्रमुख लामाले अनुगमन गरेका छन् ।
अस्पतालमा सेवाग्राहीको चाप तथा अस्पतालले दिने सेवा सुविधाबारे उनले अनुगमनको क्रममा चासो व्यक्त गरेका छन् । अस्पतालको व्यवस्थापनमा भएको अपुग भौतिक संरचनालाई परिपूर्ति गरिदिने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।
भण्डारा अस्पताल राप्ती नगरपालिकाको एकमात्र अस्पताल हो । दस शैय्याको अस्पताल भएपनि कोठाको अभावले अहिले तीनवटा शैय्यामात्र अस्पतालमा रहेको छ । यसै अस्पताललाई विस्तार गरि भण्डारा अस्पतालको नयाँ भवनको निर्माणकार्य अगाडि बढिरहेको छ ।




