चितवन, ११ जेठ ।
राप्ती नगरपालिका वडा नम्बर ४ ले वडा अध्यक्ष अक्षयकोषको स्थापना गर्ने निर्णय गरेको छ । वडामा आउनसक्ने विपद् जस्ता समस्या समाधानको लागि अक्षयकोष स्थापना गर्ने निर्णय गरिएको हो ।
स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट निर्वाचित भएका वडा अध्यक्ष केदार आचार्यका अनुसार अक्षयकोषमा वडा अध्यक्ष लगायत वडा सदस्यहरूले पाएको पहिलो महिनाको सेवासुविधा वापतको रकम जम्मा गरिनेछ ।
बैठकले वडा नम्बर ४ लाई खानेपानी समस्या रहित वडा बनाउने निर्णय गरेको छ । खानेपानी पहुँच नपुगेका तथा विपन्न वर्गलाई नि:शुल्क खानेपानी जडान गरिने वडा अध्यक्ष आचार्यले बताए । त्यस्तै बैठकबाटै खानेपानी, सरसफाइ तथा वातावरण स्वच्छताका लागि शैक्षिक एवम् जनचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको पनि उनले जनाए ।




