काठमाडौँ, १७ चैत
साहित्यकार आर. मानन्धरद्वारा रचित कवितासङ्ग्रह ‘कवितामा आकाश’ प्रकाशित भएको छ । साहित्यिक कृतिहरु प्रकाशन गर्दै आएको मञ्जरी प्रकाशन गृहले यो पुस्तक बजारमा ल्याएको हो ।
कृतिमा तीन खण्ड छन् — कविता, चिन्तन र दर्शन । कविता खण्डमा आकाशको विषयमा मात्र केन्द्रित भएका ४९ कविता छन् । यिनलाई प्रयोगधर्मी कविता भन्न सकिन्छ ।
दोस्रो खण्डमा मानव र जगत्लाई लिएर चिन्तन गरिएका ३६ कवितात्मक रचना छन् । तेस्रो खण्डमा पूर्वीय आध्यात्मिक दर्शनले भरिएका ३३ रचनाहरु प्रस्तुत भएका छन् । समग्रमा यस कृतिलाई दर्शनको भावभूमिमा कविता र कवितात्मकताको प्रयोग भन्न सकिन्छ ।
साहित्यकार अमर न्यौपानेले यस पुस्तकलाई आकाश–काव्य भनेका छन् । मूलतः नेपालभाषाका लेखक आर. मानन्धर पाँच वर्षअघि ‘क्षितिजको स्पर्श’ दर्शन–साहित्यको पुस्तक लिएर नेपाली साहित्य क्षेत्रमा देखा परेका थिए । यो उनको दोस्रो नेपाली कृति हो । नेपालभाषा र अंग्रेजीमा पनि उनका कृति प्रकाशित भइसकेका छन् ।




