भरतपुर, १६ चैत ।
नारायणगढ लेडी जेसीजले कालिका नगरपालिका -१० देउजरका स्थानीयलाई सहयोग उपलब्ध गराएको छ । नारायणगढ लेडी जेसीजको संरक्षणमा रहेको जेसीज गाउँका कुल ५२ घरपरिवारलाई खाद्य सामग्री तथा जस्तापाता वितरण गरिएको नारायणगढ लेडी जेसीजकी अध्यक्ष जेसी अनिता श्रेष्ठ अधिकारीले बताइन् ।
कार्यक्रममा जेसीजका आइपिएनपी सिनेटर अरुणेश्वर खनाल प्रमुख अतिथि थिए । खनालले नारायणगढ लेडी जेसीजले समुदायमा जेसीज अभियान अन्तर्गत दूरदराजमा रहेका सहयोगापेक्षीको पहिचान गरि सहयोग उपलब्ध गराएकोमा खुसी व्यक्त गरे । कार्यक्रममा अतिथिका रूपमा नारायणगढ लेडी जेसीजकी पूर्वअध्यक्ष एवम् नेपाल जेसीजका पूर्वकानुनी सल्लाहकार सिनेटर मनशा थैव श्रेष्ठ, पूर्वअध्यक्ष जेसी निरु कार्की, कालिका जेसीजका अध्यक्ष जेसी मेनुका थापा अधिकारी, कालिका जेसीजका निवर्तमान अध्यक्ष सन्देश रेग्मीसहित नारायणगढ लेडी जेसीजका बोर्ड पदाधिकारी र सदस्यहरुको सहभागिता थियो ।
सहयोग वितरण कार्यक्रमको संयोजक अनु पन्त रहेकी थिइन् । देउजरको जेसीज गाउँमा खाद्य सामग्रीसँगै घरका छाना सजाउन जस्तापाता पनि उपलब्ध गराइएको कार्यक्रम संयोजक पन्तले बताइन् । उक्त जस्तापाता नारायणगढ लेडी जेसीजकी प्रतिनिधि सुमी नेपालले सौजन्य गरेकी हुन् ।
सहयोग वितरण कार्यक्रमको सहजीकरण जेसीजकी महासचिव हेमा श्रेष्ठले गरेकी थिइन् ।




