पत्रकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण

भरतपुर, १६ चैत ।
चितवनका पत्रकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । पत्रकार महासंघको ६७ औँ स्थापना दिवस र भरतपुर अस्पतालको ५९ औँ वार्षिकोत्सवको अवसरमा स्वास्थ्य परीक्षण गरिएको हो ।

नेपाल पत्रकार महासंघ चितवन शाखाको आयोजना, भरतपुर अस्पतालको प्राविधिक सहयोग र नेपाल औषधि व्यवसायी संघ चितवनको सहकार्यमा कार्यक्रम भएको हो । गत सोमबार १६६ जना पत्रकारको रगतको नमूना संकलन गरिएको थियो । सोही नमूनाको रिपोर्ट हेरेर चिकित्सकहरुले परीक्षण गरेका हुन् । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष एवं फिजिसियन डा. भोजराज अधिकारी, मेडिकल सुपरिटेण्डेण्ट अर्थाेपेडिक सर्जन प्रा.डा.कृष्णप्रसाद पौडेल, मुटुरोग विशेषज्ञ डा.मणि गौतम, फिजिसियन डा.गोविन्द कँडेल, फिजिसियन डा.नवराज लामिछाने, फिजिसियन डा. प्रमोद पौडेल, फिजिसियन डा. प्रतिक्षा श्रेष्ठलगायतका चिकित्सकहरुले पत्रकारहरुको स्वास्थ्य परीक्षण गरे ।
आवश्यक पत्रकारहरुलाई महासंघ मै र्ईसिजि समेत गरिएको छ । थप उपचार गर्नुपर्ने पत्रकारहरुलाई भरतपुर अस्पतालमा समन्वय गरिएको कार्यक्रम संयोजक विप्लव काफ्लेले बताए ।

महासंघको सभाहलमा आयोजित स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले पत्रकार र चिकित्सक दुईटा टाउको र एउटै पेट भएको चराको संज्ञा दिए । उनले भरतपुर अस्पतालले मेडिकल सिटीको नेतृत्व गर्ने गरी विकास गर्नुपर्नेमा जोड दिए । भरतपुर अस्पतालको विकासका लागि पत्रकारहरुले स्वच्छ आलोचना गर्नुपर्ने बताउँदै अस्पताललाई अगाडि बढाउन सबै लाग्नुपर्ने बताए । केन्द्रीय अस्पताल भनिए पनि एकाडेमिक र विशिष्ठिकृत सेवाका लागि संघीय सरकारबाट पर्याप्त सहयोग नभएको उनको गुनासो छ ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले सरकारले क्षमता नै नहेरि बीमा गराउँदा भरतपुर अस्पतालमा सेवाग्राहीको भिड बढेको बताए । उनले बीमा कार्यक्रम नै असफल हुने खतरा रहेको बताउँदै अनावश्यक रुपमा होलबडी चेकअप, रिफर र औषधिका लागि मात्रै पनि ठूलो संख्यामा बिमा गरेकाहरु आउने गरेको बताए । आवश्यक नै नभएकाहरु आउँदा अस्पतालमा भिड बढेको र लामो समय पालो कुर्नु पर्ने बाध्यता रहेको उनको भनाई छ ।

कार्यक्रममा महासंघका अध्यक्ष नारायण अधिकारीले स्वास्थ्य परीक्षण कार्यक्रमलाई वार्षिक रुपमा नियमित क्यालेन्ण्डरमा राखेर लैजानुपर्ने बताए । महासंघका सचिव दीपेन्द्र अधिकारीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष प्रकाश ज्ञवालीले स्वागत गरेका थिए । स्वास्थ्य परीक्षण कार्यक्रमका संयोजक विप्लव काफ्लेको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमपछि पत्रकारहरुको स्वास्थ्य परीक्षण गरिएको छ । सो अवसरमा नेपाल औषधि व्यवसायी संघ चितवन शाखाले औषधि निःशुल्क रुपमा वितरण गरेको थियो । संघका अध्यक्ष ईश्वरकुमार भण्डारीले आफूहरुसँग उपलब्ध औषधिहरु निःशुल्क रुपमा वितरण गरेको बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट