भरतपुर, १६ चैत ।
भरतपुर महानगरका साहित्यकारहरुले महानगर प्रमुख रेनु दाहाल सहित यहाँका जनप्रतिनिधिको कामको प्रशंसा गरेका छन् । जिल्लामा नाम चलेका प्रतिष्ठित साहित्यकारहरुले महानगर प्रमुख रेनु दाहालको नेतृत्वको उपप्रमुख सहितको टिमको खुलेर चर्चा गरे ।
मंगलबार महानगरमा आयोजित प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूलाई सपथ कार्यक्रममा बोल्ने सबै जसो साहित्यकारहरुले वर्तमान महानगरको नेतृत्वकैै कारण महानगरको चौतर्फी विकास भएको बताए । चितवन साहित्य परिषदका संस्थापक अध्यक्ष केदारनाथ खनालले भौतिक संरचना मात्रै विकास हो भनेर बुझिने मानसिकतालाई परिर्वतन गरी मानवीय सम्वेदनाका कुरा, चिन्तन मननका कुराहरु पनि विकासकै आधार हुन भन्ने कुरा नगरपालिकाले प्रमाणित गरेर देखाएको बताए ।
प्रज्ञा प्रतिष्ठानको गठनसँगै यसले दीर्घकालसम्म महानगरको विकास र सुशासनमा धेरै ठूलो सहयोग प्रदान गर्ने उनको भनाई छ ।
कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख एवं प्रज्ञा प्रतिष्ठानको कुलपति रेनु दाहालले पदाधिकारी र सदस्यहरुलाई सफत गराईन् ।
प्रज्ञा प्रतिष्ठानको कुलपतिमा नगर प्रमुख र प्रज्ञा सभा सदस्यहरूमा उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, एकजना वडा अध्यक्ष सहित तीनजना कार्यपालिका सदस्य र नगर शिक्षा अधिकारीसमेत गरी ३१ सदस्यीय प्रज्ञा सभा गठन भएको हो ।
गत पुस ८ गते सम्पन्न महानगरको दशौं नगरसभाले भरतपुर महानगर प्रज्ञा प्रतिष्ठान ऐन २०७८ पारित गरेसँगै प्रतिष्ठान गठन गर्ने कानुनी आधार खुलेको थियो ।
ऐनबमोजिम प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको र समितिले सिफारिस गरेका व्यक्तिहरूमध्येबाट नगर प्रमुख रेनु दाहालले प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरू मनोनयन गरेकी हुन् ।
महानगरपालिकाले यहाँको भाषा, साहित्य, कला, संस्कृतिको उत्थान र श्रीवृद्धिको लागि प्रज्ञा प्रतिष्ठान गठन गरेको महानगर प्रमुख रेनु दाहालले बताईन् । प्रज्ञा प्रतिष्ठानको कार्यालय महानगरमै रहने र आगामी दिनमा यसका लागि आवस्यक बजेट समेत बिनियोजन हुने दाहालले बताईन् ।
साहित्यकार इन्द्रप्रसाद रेग्मी प्रतिष्ठानको उपकुलपति मनोनित भएका हुन् । त्यस्तै साहित्यकारहरू केदारनाथ खनाल, प्रकाश चापागाईं र विष्णुदेवी तिवारी उषालाई प्रज्ञा परिषदको सदस्यमा मनोनित भएका छन् ।
यसैगरी महानगरले प्रज्ञा सभा सदस्यहरूमा अमृता रामदाम, डा एकनारायण पौडेल, एलबी क्षेत्री, प्राडा कर्ण बानियाँं, डा केशवराज चालिसे, किसान प्रेमी, गायत्री श्रेष्ठ, डा धनेश्वर भट्टराई, प्राडा नारायणप्रसाद खनाल, पूर्णबहादुर अधिकारी, पोषराज पौडेल, भूपेन्द्र खड्का भूपिन, रमाकान्त सापकोटा, रामहरि श्रेष्ठ, शशीकिरण रेग्मी रह शर्मा, श्रीराम महतो, सुरेन्द्र अस्तफल, हरि योञ्जन र होमनाथ भण्डारीलाई मनोनयन गरेको छ ।
महानगरपालिकाले कार्यपालिका सदस्यहरू मध्येबाट वडा नम्बर २५ का वडाअध्यक्ष विजय भुजेल र कार्यपालिका सदस्यहरू चक्र रूचाल र पवित्रा केसीलाई प्रज्ञा सभा सदस्यमा मनोनयन गरेको छ ।
यसैगरी प्रज्ञा परिषद र प्रज्ञा सभाको सदस्य सचिवमा महानगरका अधिकृत छैठौं बालकृष्ण थपलियालाई मनोनयन गरिएको हो । कार्यक्रममा महानगर उपप्रमुख पार्वती शाह ठकुरीले महानगरले पूर्वाधार विकास मात्रै नभई साहित्य भाषा संस्कृति र कलाको समेत प्रबर्द्धन र विकास गरेको बताईन् ।
महानगरका प्रवक्ता एवं वडा नम्वर १० का अध्यक्ष अरुणपीडित भण्डारीले सबै साहित्यकारको भावनको कदर गरी महानगरले महानगरको छुट्टै पहिचानका लागि प्रज्ञा प्रतिष्ठान गठन गरेको बताउँदै जनप्रतिनिधिले गरेका विकासका बारेमा कला र साहित्यबाट नगरवासीमा प्रवाह गर्न आग्रह गरे ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले आफूहरुले धेरै मेहनतका साथ साहित्यकारकै सर सल्लाहका आधारमा प्रज्ञा प्रतिष्ठान गठन गर्न सफल भएको र यसले आगामी दिनमा महानगरमा धेरै राम्रो नतिजा दिने बताए ।





