राज्यबाट कहिलेकाहीँ जनतामाथि अमानवीय र बर्बर घटना हुने क्रम अझै रोकिएको छैन । चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले माडी–९, कुसुमखोलामा नयाँ घर बनाएर बसोबास गरेका चेपाङका घरमा आगजनी गरेको घटना त्यस्तै अमानवीय र बर्बर छ । निकुञ्जको कोर इलाका अतिक्रमण गरेको आरोपमा घरमा आगजनी गरिनु आपत्तिजनक र अमानवीय छ ।
निकुञ्जका जिम्मेवार कर्मचारीको नेतृत्वमा गएको टोलीले आइतबार कुसुमखोलामा रहेका घरगोठ जलाएको घटनालाई सामान्य मान्न सकिँदैन । कुसुमखोलामा बसोबास गर्ने सुकुम्बासी चेपाङहरूका १५ घर जलेका छन् । २०४८ सालदेखि बसोबास गर्दै आएका काजीमान प्रजा र नयाँ घर बनाएका अन्य १४ जनाको घर जलेको छ । राज्यले कानुन पालना गराउँदा कहिलेकाहीँ बल प्रयोग गर्न सक्छ । तर बल प्रयोग अमानवीयरुपमा गर्न पाइँदैन ।
गतवर्ष निकुञ्जले घर जलाएपछि स्थानान्तरण गरिएका केही चेपाङ पुनः फर्केर कुसुमखोलामै नयाँ घर बनाएर बस्न थालेका थिए । निकुञ्जको कोर इलाकामा बस्ने सम्भावना नभएको भन्दै स्थानान्तरणका लागि कुराकानी हुँदै गर्दा समन्वय नै नगरी निकुञ्जले घर जलाउने र भत्काउने काम गर्नु कुनै हिसाबले पनि न्यायोचित छैन । २५ वटाभन्दा बढी झुप्राहरू नयाँ बनेका र तीमध्ये १० वटा घरमा मान्छे बस्न सुरु गरेको जानकारी प्राप्त भएको छ । ती घर निकुञ्ज अतिक्रमण गरेर बनाइएको हो भने नियमसंगत तरिकाले हटाइनु पर्छ । तर विकल्प नै नदिई हठात् आगजनीमा उत्रनु निकुञ्ज प्रशासनको गम्भीर गल्ती हो । वनभित्र बस्नुहुँदैन भनेर कुराकानी भएकै अवस्थामा सार्ने प्रयत्न भइरहेका बेला स्थानीय तहसँग समन्वय नै नगरी सुकुम्बासीका घरमा आगजनी गर्नु निकुञ्जको गल्ती नै हो ।
माडी नगरपालिकाको समन्वयमा स्थानान्तरण गरिसकेपछि पनि पुनःनिकुञ्जको कोर इलाका कब्जा गरेको भन्दै घर भत्काइएको भन्ने निकुञ्जको भनाइ छ । बारम्बार हटाउँदा पनि फेरि घर बनाएर बस्ने गरेपछि कारबाही गरिएको भनिएको छ । यस्तो कारबाही अमानवीय तरिकाले गर्न पाइँदैन । गत वर्ष साउनमा पनि निकुञ्जले २ घरगोठमा आगजनी गर्दै अन्य ८ घरगोठ हात्ती लगाएर भत्काएको थियो । उक्त घटनापछि विस्थापित भएका ८२ परिवारलाई तिनकोठे टिनको छानोसहित भवन बनाएर माडीको राइडाँडामा राखिएको छ । परुवी खोलामा ४२ परिवार र बगईमा २५ घर स्थानान्तरण गरिएको छ । सुकुम्बासी परिवारलाई विकल्प नदिई खेद्ने काम आपत्तिजनक छ । उनीहरुमाथि मानवीय व्यवहार होस् ।




