भरतपुर, १४ चैत ।
कुर्घा चितवन नवलपुर सम्पर्क समाजले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । समाज स्थापना भएपछि पहिलोपटक ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।
पर्वत जिल्लाको साबिक कुर्घा गाविसबाट बसाइँसराइ गरि चितवन तथा नवलपरासीपूर्वमा बसोबास गर्दै आइरहेका ८० वर्ष माथिका २२ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको समाजका उपाध्यक्ष नेत्र पौडेलले बताए । समाजका अध्यक्ष चन्द्रमणि शर्मा पौडेलसहित समाजका प्रतिनिधिले ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाइ कलश दिएर सम्मान गरेका थिए ।
कार्यक्रममा समाजले प्रकाशन गरेको नयाँ वर्ष २०७९ सालको भित्तेपात्रो पनि विमोचन गरिएको थियो । ९८ वर्षीया ज्येष्ठ नागरिक रञ्जतादेवी चापागाईंले भित्तेपात्रो विमोचन गरेकी हुन् ।
कार्यक्रममा स्वागत मन्तव्य समाजका महिला उपाध्यक्ष प्रमिलादेवी पौडेलले दिएकी थिइन् भने गोपाल पौडेल, दयानिधि शर्मा र खिलप्रसाद शर्मा र निरुदेवी पौडेलले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रमलाई समाजका सचिव प्रेम क्षेत्रीले सहजीकरण गरेका थिए ।
आगामी दिनमा आफ्नै पुर्ख्यौली थलो कुर्घामा पुगेर पनि ज्येष्ठ नागरिकलाई सम्मान गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रम गरिने योजना रहेको समाजका उपाध्यक्ष एकनारायण शर्माले बताए ।





