सम्पूर्ण एनआरएन अभियान एक प्रसव र पीडादायी वेदनामा छ । हो, यसो भन्दा मेरो मन भारी भएको छ । तर विवश छु आज सम्पूर्ण एनआरएनए अभियान एक प्रसव र पीडादायी वेदनामा छ भन्न । अब अबेर नगरी हामी सवै मिलेर यसको निकासका लागि निःस्वार्थ जुट्नुको विकल्प छैन ।
यसरी संस्था आज यस किसिमको समस्यामा पर्नुको प्रमुख कारण भनेको संस्थाको निर्वाचन प्रक्रिया, नेतृत्व छनौट विधि र तरिका हो । आवश्यकताभन्दा बढी (तपाईं हामीहरु नै जोजो संलग्न छौँ) नेपालस्थित राजनीतिक दल, अझ चरम स्वार्थ, व्यक्तिगत मनोमानी र टकरावका पछाडि लाग्यौं । यो गलत भयो, र यो दुःखद परिणाम आयो । अन्य कुराहरुमा कहीं कतै समस्या छैन । एनआरएनएले उत्कृष्ट कामहरु गरेको छ, गर्ने नै छौं ।
निकास के त ?
एनआरएनए नेतृत्वले समयमै डेलिगेट्स विवादलाई सम्बोधन गर्ने प्रयास गरेको भए समस्या बल्झेर परराष्ट्र वा उच्च अदालतसम्म जाने स्थिति आउने नै थिएन । त्यसैले सर्वप्रथम विधिसम्मत ढंगले डेलिगेट्स विवादलाई समाधान गरिनु पर्छ । त्यसका लागि नवनिर्वाचित एनसीसीहरुलाई एनआरएनएको विधान अनुसार विना भेदभाव डेलिगेट्स छनोट गर्न दिनु पर्छ ।
आफ्नो प्रतिनिधि छनोट गर्ने अधिकार एनसीसीको हो, यसमा केन्द्रले हस्तक्षेप गर्न मिल्दैन ।
अब सबैले संस्थालाई प्रधान ठानेर, विधि विधानलाई मानेर मात्र निर्वाचन प्रक्रिया र नेतृत्व चयनलाई विश्वव्यापी र अन्तर्राष्ट्रिय मान्यता अनुसार हुने गरी कायम गरौं । मन, वचन र कर्मले पालना गरौं । जस्तो कि यो अब एनआरएनएको निर्वाचन विधि र पद्धति अन्तर्राष्ट्रिय परोपकारी र सामाजिक संस्था रोटरी क्लब र लायन्स क्लबको जस्तो हुने गरी अभ्यास गरौं ।
गैरआवासीय नेपाली संघका संसारभर रहेका एनसीसीहरू ‘भिजन २०२० एण्ड वियोन्ड’ र यसको थप विकास र परिमार्जनसहित अगाडि बढनु पर्दछ । उक्त भिजनले संसारभर छरिएर रहेका नेपालीहरूको एक साझा संस्था (United Natoins of Nepali Diaspora) को परिकल्पना गरेको छ । अब सम्पूर्ण रूपमा संस्थाको सुधार विकास र परिमार्जनका लागी फेरि एकपटक निःस्वार्थ जुरुक्क उठौं ।
एनआरएनए विश्व संजालले अपनाएका मूल्य, मान्यता, उद्देश्य, मिशन, भिजन र एजेण्डाहरुभित्र नै हामी सबैसबै एनआरएनहरुको जीवन छ, भावना छ, नेपाल बाहिरको सानो नेपाल छ भन्ने मेरो बुझाई छ । यी र यस्तै भावनाहरुको जीवन्त कार्यान्वयन गराउनका लागि हामी सबै जुट्नुको विकल्प छैन ।
व्यवस्थित गर्नु पर्ने कामहरु
१) विश्वसनीय, पारदर्शी र स्वतन्त्र सचिवालयको निर्माण
२) भिजन २०२० एण्ड वियोन्डको विकास, पालना र कार्यान्वयन
३) एनआरएनलाई साझा, सरल, सहभागितामूलक र समावेशी बनाउन विधानलाई सरल र स्पष्ट पार्ने
४) उदाहरणीय संस्थागत वैदेशिक लगानी भित्र्याउने
५) ज्ञान, सीप र बौद्धिक सम्पत्तिको लगानी र सहकार्य
६) गैरआवासीय नेपालीका युवा, दोश्रो तथा नयाँ पुस्तालाई जोड्ने सेतु बनी काम गर्ने (एक पटकको नेपाली सधैँको नेपाली)
७) नेपाल सरकारसँगको सहकार्यमा श्रमिक एनआरएन बीमा कोषको स्थापना र कार्यान्वयन
८) भूतपूर्व गोर्खा सैनिकहरुको समान सेवासुविधा र पीडाबारे सशक्त आवाज
अन्त्यमा,
सबैमा सादर अनुरोध गर्दछु कि, एनआरएनए अभियान र यस संस्थाको अब सम्पूर्ण रूपमा सुधार विकास र परिमार्जनका लागि फेरि एक पटक हामी सबैसबै सरोकारवाला छातीमा हात राखी निःस्वार्थ रूपमा जुरुक्क उठौं ।
जय एनआरएनए । जय नेपाल ।
(लेखक खरेल एनआरएनए एनसीसी अष्ट्रेलियाका पूर्वप्रवक्ता हुन् ।)




