भरतपुर, १५ पुस ।
मिस्टर नेपाल एसिया सिजन- ३ को उपाधि चितवनका विशाल परियारले जितेका छन् । बुधवार साँझ ६० जनालाई पछाडि पार्दै परियारले यो उपाधि जितेका हुन् । योसँगै उनले मिस्टर एसिया- २०२२ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएका छन् ।
राप्ती नगरपालिका- ५ स्थायी घर भएका १९ वर्षका विशाल स्नातक पहिलो वर्षका विद्यार्थी हुन् । मोडलिङ्ग र नृत्यमा रुचि राख्ने उनी लामो समयदेखि यसै क्षेत्रमा जोडिइरहेका छन् ।
विशालले अहिले अन्तराष्ट्रिय प्रतियोगितामा प्रस्तुत गर्ने तयारी सहित जिम्मेवारी थपिएको बताएका छन् । “यो उपाधिसँगै मेरो काँधमा अझ धेरै जिम्मेवारी थपिएको छ, म एकदम खुशी छु” उनले भने- “जति जिम्मेवारी थपियो त्यति नै चुनौती पनि बढ्दो रहेछ ।”
मञ्जरी नेपालद्वारा आयोजित उक्त प्रतियोगितामा म्यान अफ नेपाल प्युठानका सञ्जीत जिसी र मिस्टर नेशनल नेपालको उपाधि कञ्चनपुरका रमित कार्कीले हात पारेका छन् । त्यस्तै मिस्टर ट्यालेण्टको उपाधि सञ्जितले जितेका छन् । ६ महिना अघिबाट सुरु भएको प्रतियोगितामा १ सय २० जनाले अडिसन दिएका र उनीहरुबाट ६० जना छनोटमा परेको आयोजक मञ्जरी नेपालका प्रबन्ध निर्देशक विशाल आले मगरले बताए ।
विभिन्न चरणपछि प्रतियोगितामा चितवन, कञ्चनपुर , रुपन्देही , नवलपरासी र प्युठानका ५ युवा उत्कृष्ट ५ मा परेका थिए । फाइनल प्रतियोगिताको निर्णायकमा बैँकर बिन्दु सिंजाली, मिडिया पर्सनालिटी अशोक परियार, फेशन डिजाइनर मुना राना, युवा व्यवसायी अनिल अधिकारी रहेका थिए । कार्यक्रममा राप्ती नगरपालिका वडा नम्बर- ४ का वडाध्यक्ष शमशेर लामाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा चितवन स्कुल अफ फेशन, नेभारा फेशन डिजाइनिङ्ग इन्ष्टिच्युट, विशाल स्कुल अफ फेशनको डिजाइनमा मोडलहरुले वाक गरेका थिए ।





