रसुवा, १५ पुस ।
चीनको केरुङमा बाक्लो हिमपातका कारण नेपाल सामान आयात प्रभावित भएको छ । मंगलबार साँझदेखिको हिमपातका कारण नेपाल ल्याउन चीनको केरुङस्थित गोदाममा राखिएको सामान लोड हुन नसकेको व्यवसायीले बताएका छन् ।
केरुङमा करिब ३ फिटभन्दा बढी हिउँ परेको बताइएको व्यवसायी पुरुषोत्तम पौडेलले बताए । ‘पहिलेको भन्दा धेरै हिउँ परेको छ’, उनले भने, ‘अहिले सामान लोड गर्ने स्थिति छैन भन्ने खबर आएको छ ।’
हिमपातका कारण सामान लोड भएर नेपाल आउन लागेका चिनियाँ कन्टेनरसमेत केरुङमै रोकिएको पौडेलले बताए । ‘सामान लोड भएर बसेका गाडी केरुङबाट रसुवागढी आउन सकेको छैन । हिमपात भइरहेकाले लोड हुन सकेको छैन भनेर जानकारी आएको छ’, उनले भने, ‘हिउँ छ, यातायात अवरुद्ध भएको छ भनिएको छ। अब कति दिन लाग्छ भन्ने यकीन छैन ।’
अर्का व्यवसायी शारदाप्रसाद पराजुलीका अनुसार हिमपातका कारण अबको केही दिन नेपालमा सामान आयात प्रभावित हुने देखिएको छ । चिनियाँ पक्षले दैनिक बिहान ७ कन्टेनर र साँझ २ कन्टेनर गरी दैनिक ९ वटा कन्टेनरमार्फत रसुवागढीसम्म सामान निर्यात गर्दै आएको थियो ।
मंगलबार बेलुका नै नाकाको सीमापारि पुगेका ७ कन्टेनरले बुधबार बिहान रसुवागढीसम्म सामान ल्याएको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख रामप्रसाद मैनालीले बताए ।
‘बुधबार बिहान ७ चिनियाँ कन्टेनरमार्फत सामान आयात भएको छ । बेलुकी दुई कन्टेनर आउने गथ्र्यो’, उनले भने, ‘तर बुधबार भने आएन । चिनियाँ पक्षले हामीलाई केही जानकारी गराएको छैन ।’ -न्युज कारखाना





