भरतपुर, १४ पुस ।
आज देशभर मौसम बदली भई देशका अधिकांश ठाउँमा पानी परेको छ । हिमाली र उच्च पहाडी क्षेत्रमा हिउँ परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चिसो अत्यधिक बढेपछि पहाडी तथा हिमाली क्षेत्रमा पठनपाठन प्रभावित बनेको छ । नियमित पानी परेपछि विभिन्न जिल्लामा यातायात सेवासमेत प्रभावित भएको छ ।
चितवन र आसपासमा पनि रातिदेखि नै पानी परेको छ । काठमाडौं उपत्यकामा पानी परेको छ भने उपत्यका आसपासका डाँडाहरूमा हिमपात भएको भएको छ । काठमाडौंको चन्द्रागिरि डाँडामा पनि मिर्मिरेमा बाक्लै हिमपात भएको छ । चन्द्रागिरी हिल्स लिमिटेडका जेनेरल म्यानेजर अभिषेकबिक्रम शाहले चन्द्रागिरीमा हिमपात सुरु भएको जानकारी दिएका हुन् । चन्द्रागिरी काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य मानिन्छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्मै मौसममा आंशिकदेखि सामान्य बदली आई हिमपात र पानी पर्ने सम्भावना छ ।





