राप्ती, १३ पुस ।
पूर्वी चितवनको राप्ती नगरपालिका २ मा युगज्योति युवा क्लबद्वारा आयोजित प्रथम गड्यौली हाफ म्याराथन सम्पन्न भएको छ । म्याराथनको लागि गड्यौलीदेखि लोथरसम्मको १० किलोमीटरको यात्रा तय गरिएको थियो ।
म्याराथनमा कालीबहादुर गण भरतपुरका आशिष गुरुङ विजयी भएका छन् । उनले २२ मिनेट ३० सेकेन्डमा पूरा गरेका थिए ।
यसैगरि द्वितीय र तृतीय क्रमश: कालीबहादुर गणकै तिलकमणि अधिकारी र त्रिनेत्र गणका धिरज राई भए । अधिकारीले २६ मिनेट १० सेकेन्ड र राईले ३० मिनेटमा सो दूरी पूरा गरेका थिए ।
म्याराथनमा ९३ जना सहभागी भएको कार्यक्रम संयोजक प्रकाश क्षेत्री उप्रेतीले बताए । कार्यक्रम भव्य र सभ्य तरिकाले सम्पन्न भएको पनि उनले बताए ।
म्याराथनको प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमश पन्ध्र हजार , दस हजार र पाँच हजारसहित मेडल र प्रमाणपत्र रहेको छ । पुरस्कार यही पौष २४ गते गड्यौली महोत्सव समापनको दिन वितरण गरिने क्लबका अध्यक्ष जनक रिजालले बताए । मानव जीवनमा एथलेटिक्सको महत्त्वपूर्ण भुमिका भएकोले यसलाई एक कार्यक्रमको रुपमा आयोजना गरिएको पनि उनले बताए ।
मंगलबार आयोजित म्याराथनलाई गड्यौली महोत्सवकै एउटा कार्यक्रम अन्तर्गत लिइएको छ । यही पुस १४ बुधबारबाट प्रथम गड्यौली महोत्सव हुँदैछ । गड्यौली भिलेज आयोजक रहेको महोत्सवको सहआयोजकको रुपमा युगज्योति युवा क्लब रहेको छ ।





