काठमाडौं, १२ पुस ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले अध्यक्ष केपी ओलीको दम्भ र अंहकारले नेकपा एकता भत्किएको आरोप लगाएका छन् । आइतबारदेखि जारी माओवादीको आठौं महाधिवेनको बन्द सत्रमा राजनीतिक प्रतिवेशन पेश गर्ने क्रममा प्रचण्डले एमालेसँगको एकताबारे समीक्षा गर्दै यस्तो आरोप लगाएका हुन् ।
प्रचण्डलाई उद्धृत गर्दै महाधिवेशनमा सहभागीले एक नेताले भने, “एमालेसँगको एकता गलत थिएन तर ओलीकै दम्भ र अहंकारले एकता प्रक्रिया टिक्न सकेन ।” हिजो महाधिवेशनको बन्दसत्र तथा त्यसको अघिल्लो दिन नेता तथा कार्यकर्ताहरूसँगको भेटघाट तथा छलफलमा पनि प्रचण्डले पार्टी एकता नचाहँदा नचाहँदै भत्किएको बताएका थिए । उनले त्यस क्रममा आफूहरूबीच कमजोरी रहेको र त्यसको समीक्षा गर्नुपर्ने बताएका थिए ।




