राप्ती, ११ पुस ।
पूर्वी चितवनको राप्ती नगरपालिका २ मा सुरु हुन गइरहेको प्रथम गड्यौली महोत्सवको ८० प्रतिशत काम सकिएको छ । यसका साथै महोत्सवका कामहरु तीव्र रुपले अगाडि बढेको छ ।
यही पुस १४ गतेदेखि महोत्सव सुरु हुन गइरहेको छ । आइतबारसम्म बार लगाउने, स्टेज बनाउने र गेट बनाउने काम सकिएको महोत्सव आयोजक समितिका संयोजक तथा आयोजक संस्था गड्यौली भिलेजका अध्यक्ष गणेश लामाले बताए ।
महोत्सवमा बाल उद्यान बनाउन बाँकी छ । त्यो कार्य पनि तत्काल सकिने लामाले बताए ।
महोत्सवमा राष्ट्रिय स्तरमा ख्याति पाएका कलाकारहरुको मनोरञ्जनात्मक सांगीतिक प्रस्तुति हेर्न पाइनेछ । विशेषगरी व्यापार, व्यवसाय र पर्यटन प्रवर्द्धनलाई विशेष जोड दिईएको महोत्सवको मुख्य आकर्षण हेलिकप्टर रहेको लामाले बताए । हेलिकप्टरबाट देवघाट, मौलाकालिका दर्शन तथा चितवनका दृश्यहरु अवलोकन गर्न पाउने उनले बताए ।
चितवनमा महोत्सवको मौसम चलिरहेको बेला गड्यौली महोत्सवलाई स्थानीयले उत्सुकताका साथ पर्खिएको आयोजकले विश्वास लिएको छ ।
कोरोनापछि राप्तीमा हुन लागेको यो पहिलो ठूलो मेला हो । आयोजकले यसलाई महाउत्सवको रुपमा हेरेको छ ।
महोत्सवमा ५० हजार भन्दा बढी दर्शक सहभागी गराउने उद्देश्य रहेको पनि आयोजक समितिले बताएको छ । कोरोनाले थलिएको बजारलाई उकास्ने हेतुले महोत्सव आयोजना गर्न लागिएको आयोजक समितिले जनाएको छ ।




