काठमाडौं, १० पुस ।
आख्यानकार सीमा पुरीको दोस्रो उपन्यास `अपरिचित´ सार्वजनिक भएको छ । शनिबार एपेक्स लाइफ स्कुल कपनमा पुस्तकको विमोचन गरिएको हो ।
साहित्यकार मित्रलाल पंज्ञानीले उपन्यास अत्यन्त सुन्दर भाषा र शैलीमा लेखिएको र यसले मानवीय व्यवहार देखाउने चेष्टा गरेको बताए । त्यसैगरि अर्का समीक्षक मधुसूदन पाण्डेयले सीमाको लेखन र लगनको प्रशंसा गर्दै लेखिकाको सुन्दर भविष्य रहेको धारणा राखे ।
प्रमुख अतिथिका रुपमा बोल्दै प्रा.डा. रामप्रसाद ज्ञवालीले भने, ‘लेखाइ सुन्दर छ । सामाजिक कथामा आधारित छ । तर परिमार्जन गर्न सकिने ठाउँ छ ।’
उक्त कार्यक्रममा विशेष अतिथिका रुपमा अभिनेत्री सरिता लामिछाने, बरिष्ठ सञ्चारकर्मी पुरुषोत्तम दाहाल, प्रकाशन संस्था बिएन पुस्तक संसारका सूर्य बिसीलगायतले मन्तव्य राखेका थिए । त्यस्तै आख्यानकार सीमा पुरीले उपन्यासको रचना गर्भ सुनाएकी थिइन् । यस अघि उनको `परी´ उपन्यास प्रकाशित छ ।
बिएन पुस्तक संसार प्रालिद्धारा आयोजित उक्त कार्यक्रमको सभापतित्व भीमादेवी पाण्डेयले गरिकी थिइन् भने सञ्चालन शशी शर्मा मजगैंयाले गरेका थिए ।
पुस्तकको मूल्य ३८५ रहेको छ ।





