भरतपुर, १० पुस ।
प्रतिनिधिसभाको ‘अर्ली इलेक्सन’को चर्चा भइरहँदा निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मिति प्रस्ताव गरेको छ । शुक्रबार आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तहको निर्वाचन आगामी १४ र २२ वैशाखमा गर्न प्रस्ताव गरेका छन् । प्रमुख प्रतिपक्षी दल एमालेले लगातार संसद्को कार्यकाल एक वर्ष बाँकी रहँदै ‘अर्ली इलेक्सन’को माग गरिरहँदा आयोगले स्थानीय तहको चुनावमा प्रस्ताव गरेको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सकेसम्म एकै चरणमा र सम्भव नभए दुई चरणमा निर्वाचन गर्न सकिने सुझावसहित चुनावको मिति आयोग पदाधिकारीले प्रधानमन्त्रीसमक्ष प्रस्ताव गरेका छन् । ‘एकै चरणमा निर्वाचन गर्न सकिने भएकाले आयोगले १४ वैशाख ०७९ मा स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव दिएको छ । यदि एकै पटकमा सम्भव नभएको अवस्थामा १४ र २२ वैशाख २०७९ मा गरी दुई चरणमा चुनाव गर्न सकिने प्रस्ताव आयोगले सरकारसँग गरेको छ,’ प्रवक्ता शर्माले भने । नयाँ पत्रिका दैनिकमा यो समाचार प्रकाशित छ ।





