भरतपुर, ९ पुस ।
कालिका नगरपालिका वडा नम्बर १ स्थित राष्ट्रिय प्राथमिक विद्यालय गडुवाका करिब १०० जना विद्यार्थीलाई कापी, कलमलगायत न्यानो कपडा उपलब्ध गराइएको छ । त्यस्तै करिब १०० घरपरिवारलाई पनि न्यानो कपडा उपलब्ध गराइएको छ ।
भरतपुरस्थित ओम शान्ति एकेडेमी अन्तर्गत नेपाल युथ रेडक्रस सर्कलका विद्यार्थीहरूको सहयोगमा उक्त सहयोग सामग्री उपलब्ध गराइएको एकेडेमीका प्रधानाध्यापक टेकबहादुर श्रेष्ठले बताए ।
उक्त विद्यालयमा शिशुदेखि कक्षा ५ सम्म पढाइ हुने गर्दछ ।
सहयोग सामग्री वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि गुरुङ, वडा नम्बर १ का अध्यक्ष लीला गुरुङ लगायतको उपस्थिति थियो । युथ रेडक्रस सर्कलले सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरू गर्दै आइरहेको प्रधानाध्यापक श्रेष्ठले जानकारी दिए ।





