सैपाम, ८ पुस ।
लायन्स क्लब पोखरा लेकाइड, ट्रेकिङ इक्युपमेन्ट सप एसोसियसन (टेसा) पोखरा र पोखराकै फ्रेण्ड्स अफ नेचरले संयुक्त रुपमा चितवनको पहाडी गाउँ सिद्धिको सैपाममा न्यानो कपडा वितरण गरेका छन् । कालिका नगरपालिका–११ को सैपाम आधारभूत विद्यालयमा बुधबार आयोजना भएको कार्यक्रममा सो विद्यालयमा पढ्ने र सैपाम गाउँका समेत गरेर १२० जना चेपाङ समुदायका बालबालिकाई न्यानो कपडा वितरण गरिएको थियो ।
लायन्स क्लब पोखरा लेकसाइडका अध्यक्ष नवराज अधिकारीले भुकम्पपछि आफुहरु विभिन्न खाले सहयोग अभियानमा पोखरा बाहिरका विभिन्न ठाउँ पुगेको र पछिल्ला वर्षमा न्यानो कपडा लिएर विकट इलाकाहरुमा पुग्ने गरेको बताए । टेसा पोखराका अध्यक्ष नारायणप्रसाद सापकोटा यो टोली चार वर्षयता आफुहरु न्यानो कपडा लिएर चितवनको चेपाङ बस्ती माडी र काउलेको हात्तीबाङसमेत गएको बताए ।
चितवनमा मुख्य गरेर चेपाङ समुदायका बालबालिकालाई जाडो याममा न्यनो कपडा दिदै आएको लायन्स क्लब पोखराका पुर्व अध्यक्ष रामु गौतमले बताए । ‘चेपाङ समुदायका विभिन्न खाले समस्याहरु सुने देखेको हुँदा हामी थोरै नै भए पनि सहयोग लिएर आउने गरेका छौं’ पुर्व अध्यक्ष गौतमले भने । सैपाम स्कुलका प्रअ दलबहादुर बोहराले चेपाङ मात्रै बस्ने सैपाम गाउँ र चेपाङ मात्रै पढ्ने विद्यालयमा अनेकौ संकटहरु भएको बताए ।
सैपाममा जंगलको बीचमा रहेको पाखो पखेराहरुमा घर बनाएर चेपाङ समुदायका व्यक्तिहरु बसेका छन् । ३२ सालदेखि त्यो ठाउँमा बस्दै आएका चेपाङहरुले कसैले पनि अहिलेसम्म लालपुर्जा पाएका छैनन् । गाउँमा राम्रो बाटो घाटो छैन । बिजुली पनि अझसम्म पुगेकै छैन । ‘अरु कुरा त छाड्नुस हामीलाई खान लाउनकै समस्या छ’ सैपामका बासिन्दा रामबहादुर चेपाङले भने ।
त्यसैले गाउँमा आउने सानो सहयोगले पनि ठुलो राहत दिने उनले बताए । त्यसै गरी सोही टोलीले केपी किरण शर्माले रत्ननगर मंगलपुरमा संचालन गरेको गामबेसीको चेपाङ संरक्षण केन्द्रमा बस्ने बालबालिकाहरुलाई पनि न्यानो कपडा ज्याकेट सहयोग गरेको छ । आश्रम संचालनका लागि सानै भए पनि सहयोग होस भनेर पोखराबाट आएका टोली सदस्यहरुले १० हजार रुपैयाँ नगद सहयोग पनि गरेका थिए ।




