भरतपुर, ६ पुस ।
सधैं स्कुल पुगेपछि कक्षाकोठामा पढ्न बस्ने गुरुकुल कलेज भरतपुरमा कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरू मंगलबार बिहान पहिलो र दोस्रो घण्टीमा नियमितजसो पढ्न बसेनन् । उनीहरू अलि फरक ढंगले प्रस्तुत भए । सरासर कलेजको सभाहलमा गए । कलेजले आयोजना गरेको `पढ्न किन आवश्यक छ ? पुस्तक किन पढ्ने ?´ भन्ने बिषयको छलफल कार्यक्रममा सहभागी बने । 
कलेजले अतिरिक्त क्रियाकलाप अन्तर्गत `विद्यार्थीमा पठन संस्कृति कसरी बढाउन सकिएला ? यसले उनीहरूमा कस्तो किसिमको प्रभाव पार्ला ? यसबाट विद्यार्थीले केकस्ता फाइदा लिन सक्लान् ?´ भन्ने बिषयको ज्ञान दिन यो किसिमको कार्यक्रम आयोजना गरिएको कलेजका प्राचार्य टीकाराम चापागाईंले बताए । 
मकवानपुर बहुमुखी क्याम्पसका सहप्राध्यापक एवम् साहित्य चिन्तक उदय अधिकारीलाई उक्त कार्यक्रममा वक्ताका रूपमा बोलाइएको थियो । अधिकारीले करिब २०० विद्यार्थीलाई पठन संस्कार कसरी विकास गर्ने भन्ने सन्दर्भमा प्रवचन दिए । अधिकारीले नेपाली र अंग्रेजी साहित्यका विश्वप्रसिद्ध कृति र लेखकका उदाहरण दिँदै अतिरिक्त किताब पढ्नाले विद्यार्थीहरूको बौद्धिक क्षमता विकास हुनुका साथै धेरै कुराको ज्ञाता बनाउने बताए । 
साहित्य चिन्तक अधिकारीले आफ्ना कुरा राखेपछि केही विद्यार्थीहरूले उनीसित जिज्ञासा पनि गरे । यो क्रम प्रश्नोत्तरका रूपमा चल्यो । कक्षा ११ का विद्यार्थी चोलराज पन्तले `कुनै चिज आफूलाई मन पर्दैन तर त्यसको बारेमा जान्ने इच्छा भयो भने त्यसको जानकारी कसरी लिने ?´ भनेर प्रश्न गरे ।
कक्षा ११ कै अर्का विद्यार्थी रोशन शर्माले `मोटिभेट कसरी हुने ?´ भनेर प्रश्न राखे । कक्षा ११ कै छात्रा अमृता सापकोटाले `शिक्षाको क्षेत्रमा परिवर्तन कसले गर्ने ? परिवर्तन हुनकै लागि किताब नै किन पढ्ने ?´ भनेर प्रश्न राखिन् । सहप्राध्यापक अधिकारीले मोटिभेट हुन संसारका सबै चिजहरू चिन्नुपर्ने बताए । ‘ती चिज चिन्नको लागि विद्यार्थीमा उत्सुकता हुनुपर्छ, त्यसको लागि किताब पढ्नुपर्छ, चलचित्र हेर्नुपर्छ’ अधिकारीले भने, ‘सामाजिक सञ्जाल र सिरियलमा पनि धेरै कुराको जानकारी राखिएको हुनाले विद्यार्थीहरूले आफ्नो ध्यान त्यसतर्फ पनि दिनुपर्छ ।’ 
कक्षा १२ का छात्र दिप्सन हमालले पनि अधिकारीलाई प्रश्न गरे, ‘मलाई पढ्न मन लाग्छ तर म पढ्नै सुरु गर्न सक्तिन’ उनको जिज्ञासा थियो । कक्षा १२ कै आविष्कार पौडेलले ‘मलाई पढ्नुपर्छ भन्ने थाहा छ, तर मलाई पढ्न मनै लाग्दैन, किताब पल्टायो कि निद्रा मात्रै आउँछ, यसबाट कसरी छुटकारा पाउने ?’ भनेर प्रश्न गरे । कक्षा ११ का सुगम पोख्रेलले `साहित्यिक क्षेत्रमा कसरी पाइला चाल्ने ?´ भनेर जिज्ञासा राखे । ‘विद्यार्थी जीवनमा अध्ययन र अनुभवमा कुन पक्ष प्रभावकारी मानिन्छ ?’ भनेर दोस्रो प्रश्न पनि राखे पोख्रेलले । 
कक्षा ११ का नवीन आचार्यले `सबैले प्रश्नको सहि जवाफ नै दिन्छन् भन्ने मापन के छ ?´ भनेर प्रश्न गरे । उनले गरेको अर्काे प्रश्न थियो, `किताबमार्फत संसारभरको सम्पूर्ण ज्ञान प्राप्त गर्न सकिन्छ त ?´ करिब २ घण्टासम्म विद्यार्थीले साहित्य चिन्तक अधिकारीलाई ध्यानपूर्वक सुने । अधिकारीले प्रश्न सोध्न आग्रह गरे । विद्यार्थीहरूले विभिन्न किसिमका प्रश्न बनाएर सोधे । कतिले उठेर सोधे, कतिले मञ्चमै पुगेर सोधे । उठेर सोध्न अप्ठ्यारो मानेका केही विद्यार्थीले कागजमा प्रश्न लेखेर अधिकारीसम्म पुर्याए । अधिकारीले पनि किताब पढ्ने र समसामयिक बिषयमा चासो राख्ने बानी गरेमा मनको डर भाग्ने र सबैसँग निडर र निर्धक्क भएर बोल्न सकिने बताए । अधिकारीले कसैसँग पनि प्रश्न गर्न डराउन नहुने भन्दै विद्यार्थीलाई आत्मविश्वास राख्न सुझाव दिए । आगामी दिनमा भिडमा पनि हात उठाएर प्रश्न गर्नसक्ने बन्न उनले सुझाव दिए ।
कक्षा ११ कि अनिता थापाले `कुनचाहिँ शिक्षण र सिकाइ पद्धति उपयुक्त छ ?´ भनेर प्रश्न गरिन् । कक्षा १२ का दिपेश उपरकोटीले `शैक्षिक क्षेत्रको गुणस्तर कसरी बढाउन सकिन्छ ?´ भनेर प्रश्न गरे । कक्षा १२ कि छात्रा मुना बस्नेतले पनि `पुस्तक पढ्दा कस्ता खाले पुस्तक छान्नुपर्छ ?´ भनेर प्रश्न राखिन् । कार्यक्रममा साहित्य चिन्तक अधिकारीले आफूलाई रुचि लाग्ने क्षेत्र र बिषयमा लेखिएका किताब पढ्न विद्यार्थीलाई आग्रह गरे । किताब पढ्नेहरूसँग संगत गरेर उहाँहरूका सिफारिसका किताब पढ्दा फाइदा हुने अधिकारीले बताए ।
कलेजका प्राचार्य टीकाराम चापागाईंले विद्यार्थीलाई किताब पढेर त्यसका बारेमा जानकारी लिएर प्रश्न गर्नसक्ने हिम्मत राखेमा विद्यार्थी सबै कुरामा सफल हुने बताए । कुनै पनि कुरामा मोटिभेट हुन सुरुमा आफै अगाडि बढ्नुपर्ने चापागाईंको सुझाव थियो । कलेजका प्राध्यापक सिर्जन अविरलले यी खालका छलफल कार्यक्रमले विद्यार्थीलाई सिर्जनशील बनाउन सहयोग गर्ने धारणा राखे ।





