राप्ती, ३ पुस ।
लियो क्लब अफ चितवन स्टारले सामाजिक कार्यलाई अभियानका रूपमा अगाडि बढाएको छ । विशेषगरी समाजसेवाको मूल भावनालाई पछ्याउँदै क्लबले सरसफाइ कार्यक्रम आयोजना गर्ने भएको छ ।
क्लबले महिनामा ४ पटक सरसफाइ कार्यक्रम आयोजना गर्नेछ । नगरका विभिन्न ठाउँमा अब सरसफाइ अभियान चल्नेछ । शनिबार राप्ती नगरपालिका ७ स्थित वीरेन्द्रनगर चोकको सरसफाइ क्लबले गरेको छ ।
राप्ती नगरपालिकालाई फोहोर व्यवस्थापनमा असहज महसुस भैराखेको बेला दुर्गन्ध फैलिन नदिन कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष निरज कँडेलले बताए। `राप्ती नगरको हरेक चोकमा फोहोरको दुर्गन्ध फैलिएको छ । यसलाई केहि हदसम्म भएपनि कम गर्न हामी अघि सरेका छौँ´, उनले भने ।
सरसफाई मानिसको जीवनमा एकदम महत्त्वपूर्ण भएकोले क्लबको तर्फबाट निर्णय गरेको क्लबका कोषाध्यक्ष विशाल सारु मगरले बताए । त्यस्तै फोहोरलाई व्यवस्थापन गर्न नगरले पनि भुमिका खेल्नुपर्ने उनले बताए। `सरसफाई नभएमा विभिन्न रोग लाग्छ, त्यसैले मानव जीवनमा यो महत्त्वपूर्ण छ । चोकचोकमा फोहरहरु थुप्रिएको छ, यसको व्यवस्थापन नगरले गर्नुपर्ने हुन्छ । हाम्रो साथ त सधैँ हुने नै छ´, उनले भने ।
सरसफाइभित्र समाजका विभिन्न पक्षहरूलाई समेट्न सकिने क्लबका सचिव आर्यन सेढाईले बताए । `सरसफाइ पनि त एक सामाजिक काम हो नि । फोहोर भए त दुर्गन्ध मात्र नभई बजारको सुन्दरता नै हराउँछ´ उनले भने ।
क्लबले यसभन्दा अघिको कार्यक्रममा राप्ती नगरपालिकाको विभिन्न चोकमा डस्टबिन राख्ने काम गरेको थियो ।




