गैंडाकोट, २९ मंसिर ।
युवापुस्ता माझ लोकप्रिय मानिएका जेसी गोकुल सापकोटाले नेपाल जेसीजको वर्ष २०२२ का लागि राष्ट्रिय अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । उनले उम्मेदवारी दिने र जीत पनि हासिल गर्ने लक्ष्यका साथ प्रचारप्रसारलाई तीव्र बनाएका छन् ।
जेसीजका देशभरका शाखा तथा जेसीलाई अध्यक्ष पदमा आफूलाई निर्वाचित गराउन उनले आग्रह गरेका छन् । पूर्वीनवलपरासीको गैँडाकोटमा २०३९ भदौ १८ मा जन्मिएका सापकोटा जेसीजमार्फत सामाजिक कामहरुमा सक्रिय हुँदै आइरहेका छन् ।
युवालाई राष्ट्र र राष्ट्रियतासँग जोड्दै मानसिक क्षमताको विकासमा आफू लाग्ने जेसी सापकोटाले बताउँदै आएका छन् । सकारात्मक चेत र सोच भएका युवाले मात्रै परिवार, समाज र देशको मुहार परिवर्तन गर्न सक्ने भन्दै आफूले नेतृत्व गर्ने अवसर पाएपछि देशभरका १६१ जेसीज शाखा मार्फत युवाहरुलाई आवश्यकता अनुसारको तालिम दिने उनले बताए । नेपाल जेसीजकै खर्चमा युवाहरुलाई तालिम दिएर दक्ष गराउने योजना रहेको उनको भनाई छ ।
तालिम र उत्प्रेरणा दिएर युवाहरुलाई देशको विकास तथा राष्ट्रियताको संरक्षणमा लाग्नेगरी काम गर्ने बताएका सापकोटाले जेसीजमा आवद्ध १८ देखि ४० वर्षका युवाहरुको आकर्षणकै केन्द्रविन्दु बनाएर छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
‘राइज फर हुमन डेभलपमेन्ट एण्ड ग्लोवल लिडरसीप’ भन्ने मान्यतालाई बोकेर अध्यक्ष पदका लागि मैदानमा उत्रिएका जेसी सापकोटाले नेपाली युवाले अब अन्तराष्ट्रिय तहमा नेतृत्व गर्नसक्ने क्षमता विकास गराउनुपर्ने बताए । आफू अध्यक्षमा निर्वाचित हुनासाथ यसैलाई मूल उद्देश्य बनाएर काम गर्ने उनको भनाई छ ।
देशभर जेसीजको फैलावट हुनुपर्ने र युवा तथा अभिभावकको समेत जेसीजमा चासो गराउने गरी आफूले कार्यक्रम र योजना ल्याएको सापकोटाले बताए ।
१८ देखि ४० वर्षका युवाहरु आवद्ध संस्थामा रहेको बेथिति र समस्यालाई समाधान गर्ने बताएका सापकोटाले सवैलाई समान व्यवहार गर्ने बताए । कोभिड १९ को महामारी, बाढी पहिरो, भूकम्पलगायतको समयमा पनि नेतृत्वदायी भूमिका खेलेर युवाहरुलाई राहत, उद्दार तथा सामाजिक कार्यमा सक्रिय गराउँदै हिँड्ने सापकोटा सफल नेतृत्वतर्फ अग्रसर भएका युवा मानिन्छन् ।
`जेसीजले धेरै युवाहरुलाई प्रशिक्षित गरिरहेका छ । तर ती युवाहरुलाई राज्यले परिचालन गर्न सकेको छैन´, सापकोटाले भने- `अव राज्य र युवावीच तालमेल हुनुपर्छ, जुन मेरो नेतृत्वमा पहल गर्नेछु ।´
सन् २००७ मा गैँडाकोट जेसिजको संस्थापक सदस्य भएका उनी सन् २०१८ मा गैँडाकोट जेसीजको अध्यक्ष भएका थिए । सन् २०१९ मा राष्ट्रिय उपाध्यक्ष, सन् २०२० मा राष्ट्रिय कार्यकारीणी उपाध्यक्षको जिम्मेवारी कुशलापूर्वक निभाइसकेका छन् ।
राष्ट्रिय उपाध्यक्ष हुँदा जेसीज शाखाहरुको भवन निर्माण गर्दा केन्द्रले आर्थिक सहयोग गर्नुपर्ने र जेसीजले राष्ट्रियताको मुद्दालाई समेत प्राथमिकतामा राख्नुपर्ने प्रस्तावलाई निर्णय गराउन सफल भएका थिए ।
जेसीजमा करिव १४ वर्षको अनुभवलाई अव अध्यक्ष पदमा रहेर सोही अनुभवलाई प्रयोग गर्दै जेसीजलाई थप उचाईमा पुर्याउने उनले बताए । जसको नीति उसकै नेतृत्व हुनुपर्नेमा जोड दिएका सापकोटा आफू राष्ट्रिय अध्यक्षमा निर्वाचित हुने कुरामा ढुक्क छन् ।
अहिले राष्ट्रिय कानुनी सल्लाहकारको भूमिकामा रहेका सापकोटा भन्छन् – `देशभरका जेसीहरुलाई भेटेँ, आफ्नो भावी कार्यक्रम र योजना राखेँ, सवैले साथ दिने बाचा गर्नुभएको छ ।´
नेपाल जेसीजको ४८औँ राष्ट्रिय महाधिवेशन पुस १ देखि ४ गतेसम्म पोखरामा हुँदैछ । जसले वर्ष २०२२ का लागि नयाँ कार्यसमिति चयन गर्ने छ ।





