काठमाडौँ, २९ मंसिर ।
कांग्रेस सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् । उनले २७३३ मत पाएका छन् ।
दोस्रो चरणको निर्वाचनमा ४६२३ मत खसेको थियो । यसमध्ये ४५८८ मत सदर भएको थियो ।
अर्का प्रत्यासी डा. शेखर कोइरालाले १८५५ मत पाएका छन् । बुधबार बिहान ३ बजे मतगणना सम्पन्न भएको हो ।
यस जितसँगै देउवा दोस्रोपटक नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएका हुन् । १३ औं महाधिवेशनमा रामचन्द्र पौडेललाई पराजित गर्दै देउवा सभापति बनेका थिए । सो महाधिवेशनमा पनि देउवाले दोस्रो चरणको निर्वाचनबाट जित हासिल गरेका थिए । त्यसबेला देउवालाई कृष्ण प्रसाद सिटौलाले सहयोग गरेका थिए ।
यो महाधिवेशनमा पनि दोस्रो चरणमा देउवाले जित निकालेका हुन् । सभापतिका प्रतिस्पर्धीहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन जनाएका थिए ।
मंगलवार दिउँसो साढे ३ बजेदेखि शुरु भएको दोस्रो चरणको मतदान राति साढे ९ बजे सकिएको थियो । ३ घण्टा चलेको निर्वाचनमा ४५६२ मत खसेको थियो । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको निर्वाचन भएको थियो ।





