भरतपुर, २५ मंसिर ।
नेपाली कांग्रेसको सभापतिका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउनेमा वर्तमान सभापति शेरबहादुर देउवासहित शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपाने रहेका छन् ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय तोकेको थियो । सो समयसीमाभित्र देउवा, निधि, सिंह, कोइराला, गुरुङ र न्यौपानेले सभापति पदमा उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।
यस्तैगरी उपसभापतिमा ७ जनाले मनोनयन दर्ता गराएका छन् । उपसभापति पदमा पूर्णबहादुर खड्का, महेश आचार्य, सुजाता कोइराला, चन्द्र भण्डारी, धनराज गुरुङ, विजय गच्छदार र दिव्याश्री साहले उम्मेदवारी दर्ता गराएका हुन् ।
महामन्त्री पदमा मीनेन्द्रप्रसाद रिजाल, गगनकुमार थापा, विश्वप्रकाश शर्मा, प्रकाशशरण महत, राजाराम कार्की र प्रदीप पौडेलले उम्मेदवारी दर्ता गराएको समितिले जनाएको छ । यस्तै सहमहामन्त्री पदमा २० जना नेताको उम्मेदवारी परेको छ ।
सहमहामन्त्रीमा उम्मेदवारी दिनेमा मानबहादुर विश्वकर्मा, बद्री पाण्डे, फर्मुल्लाह मन्सुर, सुरेन्द्रप्रसाद चौधरी, देवराज चालिसे, रञ्जीत कर्ण, रामकृष्ण यादव, कमला पन्त, तेजुलाल चौधरी, किशोर सिंह राठोर, विकास लामा, जीवन परियार, गंगा सुनार, महेन्द्र यादव, भीष्मराज आङ्दाङ्बे, जीवनबहादुर शाही, चेतराज बजाल, शेख वकिल, उमाकान्त चौधरी र डीना उपाध्याय छन् ।
आइतबार बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय राखिएको निर्वाचन आयोगले जनाएको छ । नयाँ नेतृत्वका लागि मतदान सोमबार हुनेछ ।
कसको प्यानल बलियो ?
नेपाली कांग्रेसको सभापतिका लागि ६ जनाको उम्मेद्वारी दर्ता भएपनि चार शीर्ष नेताहरुबीच टकराव हुने भएको छ । बहालवाला सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा सभापतिमा दोहोरिन चाहेका छन् भने उनलाई शेखर कोइराला, विमलेन्द्र निधि र प्रकाशमान सिंहले चुनौती दिएका छन् ।
देउवा र कोइरालाले प्यानलसहित चुनाल लड्दैछन् । मुख्य प्रतिस्पर्धा उनीहरुबीच नै हुने आँकलन गरिएको छ । निधिले प्यानलबिना नै सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । सिंहले एक उपसभापति र एक महामन्त्रीको टिम बनाएका छन् ।
देउवाको प्यानलमा पुराना अनुहारहरु धेरै छन् । उपसभापतिमा उनले पूर्णबहादुर खड्का र डा. विजय गच्छदारलाई अघि सारेका छन् । यस्तै महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल उनको प्यानलमा समेटिएका छन् । युवा नेता प्रदीप पौडेल सिटौला समूहको तर्फबाट देउवा प्यानलमा मिसिएका हुन् ।
कोइरालाको प्यानलमा उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङलाई समावेश गरिएको छ । यस्तै महामन्त्रीमा मिनेन्द्र रिजाल र गगनकुमार थापा छन् ।
प्रकाशमानले आफ्नो प्यानलबाट उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्मालाई उभ्याएका छन् । शर्माले देउवाको प्यानलमा स्थान नपाएपछि सिंहको प्यानलमा खडा भएका हुन् । कांग्रेस सभापतिका लागि कम्तीमा ६ जना नेताहरुको भिडन्त निश्चित भइसकेको छ । लो प्रोफाइलका दुई उम्मेदवार कल्याण गुरुङ र युवराज न्यौपानेले पनि सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् ।
२६ वर्षकी बिनितादेखि ९१ वर्षीया शान्तिसम्म उम्मेदवार
देशको सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि चौधौं महाधिवेशनमा ६५ वर्षसम्मको उमेर अन्तर भएका उम्मेदवार मैदानमा उत्रिएका छन् ।
सभापतिमा ५० वर्षमुनिका कल्याण गुरुङ र युवराज न्यौपानेदेखि ७५ वर्षमाथिका शेरबहादुर देउवासम्मका उम्मेदवार मैदानमा उत्रिँदा केन्द्रीय सदस्यमा रामेछापकी २६ वर्षीया बिनिता खड्का र पर्साकी ९१ वर्षीया शान्तिदेवी कार्कीको उम्मेदवारी परेको छ । उनीहरुबीचको उमेरमा ६५ वर्षको फरक छ । जिजु हजुरआमा र पनातिनी उमेरका यी दुई महिला केन्द्रीय सदस्यको प्रतिस्पर्धामा एउटै क्लस्टरबाट उम्मेदवार बनेका छन् ।
विपी कोइरालाको प्रेरणाबाट राजनीतिमा लागेकी शान्ति कार्की र विपी कोइरालालाई फोटोमा देखेर र इतिहासमा पढेर राजनीतिमा लागेकी बिनिता खड्का दुवैजना खुला महिलातर्फ उम्मेदवार छन् । शान्ति वीरगन्ज महानगरपालिकाको उपमेयर हुन् । बिनिता भने रामेछापको सुनापति गाउँपालिका उपाध्यक्षमा पराजित भएकी थिइन् । दुवैजना जितका लागि मतदाता समक्ष गइरहेका छन् ।





