काठमाडौँ, २५ मंसिर ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदको निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवासहित ६ जनाको उम्मेदवारी परेको छ । यस्तै, दुई उपसभापतिका लागि ७ जनाको उम्मेदवारी परेको छ भने दुई महामन्त्री पदका लागि ६ जनाले उमेद्वारी दिएका छन् ।
सभापति पदमा देउवासँग शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिले प्रतिस्पार्धा गर्ने भएका छन् । यस्तै सभापतिकै दौडमा कल्याण गुरुङ र युवराज न्यौपानेले पनि मनोनयन दर्ता गराएका छन् । कोइराला, सिंह र निधिले भने उपसभापति र महामन्त्रीसहितको समूह बनाएर उम्मेदवारी दिएका हुन् ।
महामन्त्रीमा देउवाका पक्षबाट प्रकाशशरण महत र प्रदीप पौडेलको उम्मेदवारी परेको छ । कोइराला प्यानलबाट महामन्त्रीको लागि मिनेन्द्र रिजाल र गगन थापाले उम्मेदवारी दिएका छन् भने सिंहको प्यालनबाट विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दिएका छन् । निधिको प्यानलबाट महामन्त्रीमा राजाराम कार्कीले उम्मेदवारी दिएका छन् ।
उपसभापति पदमा देउवा प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का उम्मेदवार बनेका छन् । कोइराला प्यानलबाट उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारीको उम्मेदवारी परेको छ । सिंहको प्यानलबाट सुजाता कोइराला उपसभापतिको उम्मेदवार बनेकी छन् । निधिको प्यानलबाट दिव्येश्वरी शाह पनि उम्मेदवार बनेकी छन् । उपसभापतिमा महेश आचार्यले स्वतन्त्र उम्मेद्वारी दिएका छन् ।
अघिल्लो महाधिवेशनमा सभापति पदमा पराजित भएका रामचन्द्र पौडेलले भने यस पटक उमेद्वारी दर्ता गराएनन् । देउवा इतर पक्षबाट सभापति पदका लागि एकमात्र उमेद्वार अघि सार्ने विषयमा सहमति हुन नसकेपछि पौडेल चुनावबाट बाहिरिन पुगेका हुन् ।





