भरतपुर फुटबल क्लबलाई ठूलो राशीको प्रायोजन

भरतपुर, २२ मंसिर
चितवनको स्थापित भरतपुर फुटबल क्लब (बीएफसी)ले अहिलेसम्मकै ठूलो धनराशीको प्रायोजन पाएको छ । आगामी तीन वर्षका लागि २४ लाख रुपैयाँको प्रायोजनसहित अब यो क्लब ‘केबीए ग्लोबल भरतपुर फुटबल क्लब’ भएको छ ।

क्लबलाई नारायणगढस्थित शैक्षिक परामर्शदाता केबीए ग्लोबलले वार्षिक ८ लाख दिने गरी ३ वर्षका लागि शीर्ष प्रायोजन गरेको हो । प्रायोजनसम्बन्धी सम्झौतामा बुधबार क्लबका अध्यक्ष लालसिंह गुरुङ र केबीए ग्लोबलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शम्भु कँडेलले हस्ताक्षर गरे ।

क्लबले यो प्रायोजनलाई मोफसलका क्लबहरूले पाएको अहिलेसम्मकै ठूलो धनराशीको भएको दाबी गरेको छ । “यो ठूलो धनराशीको प्रायोजन हो”, क्लबका प्रशिक्षक धुर्व भुषालले भने, “काठमाडौँबाहिरका क्लबले यति राशीको रकम प्रायोजन पाएको मलाई जानकारी छैन ।”

यसअघि उक्त क्लबलाई नारायणगढकै सेन्ट्रल कलेज एण्ड भोकेसनल ट्रेनिङ सेन्टरले प्रायोजन गरेको थियो । त्यसबेला सेन्ट्रल कलेजले वार्षिक ५ लाख दिएको थियो ।

केबीएका सीईओ कँडेलले सामाजिक संस्थागत उत्तरदायित्वअन्तर्गत खेलकुदमा लगानी गरेको बताए । अहिले ३ वर्षका लागि मात्रै सम्झौता गरिए पनि लामो समय सँगै जान सकिने उनले बताए । “खेल स्वास्थ्यका लागि अनिवार्य छ”, उनले भने, “युवाको ठूलो आकर्षण रहने खेलबाट हाम्रो व्यवसाय प्रवद्र्धन पनि हुनसक्छ ।”

केबीएको मुख्य कार्यालय अष्ट्रेलियामा छ । अष्ट्रेलियाको डार्विनमा पनि यो संस्थाले क्रिकेट क्लब सञ्चालन गरिरहेको कँडेलले जानकारी गराए । त्यस्तै अरू क्लबहरू पनि प्रायोजन गरिरहेको उनले बताए ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै चितवन जिल्ला फुटबल संघका महासचिव रामहरि ढकालले फुटबलमा व्यावसायिक संस्थाहरूको आकर्षण देखिनु निकै सुखद भएको बताए । उनले क्लबले पनि व्यवसायिक संगठनको हित सोचेर अघि बढ्नुपर्ने बताए ।

भरतपुर फुटबल क्लब वि.सं. २०५८ सालमा स्थापना भएको हो । वि.सं. २०७२ मा विधिवत दर्ता भएको यो क्लबले हालै काठमाडौँमा सञ्चालित सी डिभिजन क्वालिफाइङ खेलेको थियो ।

मोफसलका अधिकांश नकआउट फुटबल खेलेको क्लबले पछिल्लो २ वर्षमा मात्रै ७ वटा गोल्डकप खेलेको र ५ वटामा फाइनल पुगेको क्लबका सचिव रोमस पाण्डेले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट