सदरमुकाम भरतपुरबाट २५ किलोमिटर पश्चिमतर्फको पर्यटकीय क्षेत्र मेघौलीमा ‘५ औं मेघौली पर्यटन महोत्सव’को तयारी तीव्र गतिमा अघि बढिरहेको छ । फागुन १८ बाट २४ गतेसम्म सञ्चालन गरिने महोत्सवको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागत गर्ने तयारी अहिले चलिरहेको छ । महोत्सवको तयारीबारे हामीले मेघौली पर्यटन विकास समितिका सचिवसमेत रहेका महोत्सव मूल समितिका सचिव पिताम्बर अर्यालसँग कुराकानी गरेका छौं । प्रस्तुत छ उहाँसँग गरिएको कुराकानी ।
पर्यटन महोत्सवको तयारी कसरी अघि बढ्दैछ ?
महोत्सवको तयारी अहिले तीव्र गतिमा अघि बढिरहेको छ । हामीले मूल समितिमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई समावेश गरिरहेका छौं । महोत्सवका लागि १ सय १ स्टल निर्माण भइरहेका छन् । प्रायः बूकिङ भएका छन् । बाल उद्यानको पनि तयारी भइरहेको छ ।
महोत्सवको उद्देश्य के हो ?
महोत्सवको मूख्य उद्देश्य हाम्रो यो ठाउँको चिनारी दिने नै हो । धेरै आन्तरिक तथा बाह्य पर्यटकलाई भित्राउने उद्देश्य हाम्रो हो । यहाँको प्राकृतिक सौन्दर्यले मेघौलीको परिचय विश्वभर गराएको छ । दुई नदीको संगम, यहाँको वन र वन्यजन्तु, आदिवासी जनजातिको संस्कृतिबारे महोत्सवमार्फत थप जानकारी गराउने हाम्रो उद्देश्य छ । मेघौलीलाई विश्वमाझ चिनाउनने २० वर्षअघि देखिको सोच हो । पछिल्लो दश वर्ष खासै महत्वपूर्ण गतिविधिहरु गर्न सकिएन । अहिले पर्यटन वर्ष–२०२० मनाइँदै गर्दा मेघौलीले पनि सहभागिता जनाएको हो । यहाँको पर्यटन उद्योगको प्रवद्र्धन गर्ने, हिजोको परिचयलाई बिर्सन नदिन राज्यलाई पनि झकझक्याउने हाम्रो सोच रहेको छ ।
विगत र अहिलेको मेघौलीमा के फरक छ ?
हिजो मेघौलीको परिचय चितवन राष्ट्रिय निकुञ्जभित्रको होटल टाइगर टप्स थियो । अरु कुरा खासै थिएनन् । साना होटलहरु थिए, एक दुई वटा । हामीले गाविस तहबाट देशमै पहिलो पटक २०५७ मा महोत्सव ग¥यौं । प्राकृतिक स्रोत र साधनको प्रयोग गरेर त्यतिखेर महोत्सव गरिएको थियो । त्यो समयमा मेघौली क्षेत्रमा साना पसलहरु मात्रै थिए । आज ठूला व्यवसायीहरु आइरहेका छन् । ठूलो फड्को मारेको छ पर्यटकीय दृष्टिले । तै पनि होटल व्यवसायी र सरकारसँग समन्वय मिलिरहेको छैन । अब हामी समन्वय गर्दै अघि बढ्नेछौं ।
सरकारी निकायको सहयोग कस्तो छ ?
खासै सहयोग थिएन । अबचाहिं सहयोग आउन थालेको छ । महोत्सवकै सन्दर्भमा पनि अहिले वडा तहबाट सहयोग आएको छ । दुई वटा वडाबाट तीन–तीन लाख रुपैयाँ सहयोग गर्ने आश्वासन आएको छ । प्रदेश सांसद् कृष्ण भुर्तेलले प्रदेश सरकारको तर्फबाट ४ लाख रुपैयाँ सहयोगको आश्वासन दिनुभएको छ । स्थानीय संस्थाहरुको पनि राम्रो सहयोग छ । मेघौली मध्यवर्ती उपभोक्ता समितिले २ लाख २० हजार, ४ वटा सामुदायिक वनहरुले तीन लाख सहयोग गर्ने भएका छन् । अन्य वनले पनि सहयोगको तयारी गर्दैछन् । स्थानीय सामुदायिक विद्यालयहरुबाट पनि सहयोग हुने अपेक्षा छ । हामीले विद्यालयका प्रधानाध्यापकहरुसँग पनि छलफल गरेका छौं ।
महोत्सवपछि पर्यटनमा कस्तो सुधार आउने अपेक्षा गर्नुभएको छ ?
मलाई लाग्छ महोत्सवसँगै यस क्षेत्रमा धेरै होम स्टे खुल्नेछन् । आदिवासी जनजातिको संस्कृतिको प्रवद्र्धन हुनेछ । अन्य जातिले पनि होटल व्यवसाय सहजरुपमा सञ्चालन गर्नेछन् । सहजरुपमा आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागत गर्ने वातावरण बन्नेछ । मेघौली विगतमा खेतीका लागि उपयुक्त क्षेत्र हो । तर, विस्तारै वन्यजन्तु बढ्न थालेका कारण खेतीमा समस्या आयो । अब हामीसँग यही वन र वन्यजन्तुको उपयोग गर्दै पर्यटन व्यवसायमा अग्रसर हुने उपयुक्त विकल्प छ ।