धु्रवराज खनाल
रत्ननगर, २८ फागुन
चितवनको पर्यटकीय नगरी सौराहाका होटल तथा रेस्टुरेन्टको स्तरीकरण सुरु गरिएको छ । स्थानीय होटल तथा र रेस्टुरेन्ट व्यवसायीकै सहभागितामा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले स्तरीकरणको काम सुरु गरेको हो ।
पर्यटक तथा अन्य उपभोक्तालाई खाद्य स्वच्छता प्रदान गर्ने उद्देश्यले पहिलो पटक सौराहामा होटल र रेस्टुरेन्टको मापन गरिएको हो । यहाँका होटलले आफूलाई उत्कृष्ट रहेको दावी गरेपनि त्यस्तो नपाइएको हो । पहिलो चरणमा सौराहाका ९ वटा होटल र ९ वटा रेस्टुरेन्टको स्तर मापन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख बिक्की राउतले जानकारी दिए । जसमध्ये एउटा रेस्टुरेन्टले मात्रै २ वटा तारा अंकित हरियो स्टीकर पाएको छ ।
अत्य ८ वटा होटल तथा रेस्टुरेन्टले भने एक तारा अंकित हरियो स्टीकरण प्राप्त गरेको कार्यालयका प्रमुख राउतले बताए । स्तरीकरणका लागि निरीक्षण गरिएको अन्य ९ वटा होटल तथा रेस्टुरेन्टले भने कुनै पनि स्टीकर प्राप्त गर्न सकेनन् । आवश्यक पूर्वाधार र सरसफाइमा नभएकाले ती होटल तथा रेस्टुरेन्टहरुले स्टीकर नपाएको राउतले बताए । “खाद्य स्वच्छताको आधारमा स्तरीकरण गर्न सुरु गरेका छौं”, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख राउतले भने, “स्टीकर नपाएका होटल तथा रेस्टुरेन्टहरुले स्तरीकरणमा पर्न माग गरेपछि निरीक्षणपछि उपलब्ध गराउँछौ ।”
सोमबार २ वटा तारा अंकित हरियो स्टीकर प्राप्त गर्नेमा केसीज रेस्टुरेन्ट रहेको छ । होटल पार्क साईड, इडन जंगल रिसोर्ट, चितवन गैंडा लज, रेन्वो सफारी रिसोर्ट, राईनो रेजिडेन्सी रिसोर्ट, रोयल पार्क होटल, जंगल सफारी र अलफ्रेस्को रेस्टुरेन्टले एउटा तारा अंकित हरियो स्टीकर पाएका छन् । एक तारा अंकित हरियो स्टीकर पाउनेमध्येमा पनि जंगल सफारी होटल र अलफ्रेस्को रेस्टुरेन्ट उत्कृष्ट पाइएको खाद्य निरीक्षक प्रदीप काफ्लेले जानकारी दिए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले अति उत्तम हुनेलाई तीन वटा तारा अंकित हरियो स्टीकर, उत्तमलाई दुई तारा अंकित हरियो स्टीकर, सन्तोषजनकलाई एक तारा अंकित हरियो स्टीकर र सामान्यलाई पहेलो स्टीकर होटल तथा रेस्टुरेन्टमा टाँसेको छ । सौराहामा १ सय १० वटा होटल तथा ५२ वटा रेस्टुरेन्ट छन् । यी सबै होटल तथा रेस्टुरेन्टलाई क्रमशः स्टीकर प्रदान गरिने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख विक्की राउतले बताए ।
प्रमुखरुपमा भान्साको अवस्था, शौचालय, सेवा क्षेत्र, कर्मचारीको सरसफाइ आदिलाई आधार मानेर मापन गरिएको छ । “सौराहामा पहिलो पटक होटल र रेस्टुरेन्टको स्तरीकरण हुँदा हामी खुसी छौं”, रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले भने, “यसले यहाँको गरिमा बढ्नुका साथै खाद्य सुरक्षामा सजगता अपनाउन मद्दत पुग्छ ।” स्टीकर प्रदान गर्ने अभियानको पहिलो दिन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत शोभाकान्त रिजाल, सोही कार्यालयका खाद्य अनुसन्धान अधिकृत आकाश काफ्ले, डिभिजन चितवन कार्यालय प्रमुख राउत, खाद्य निरीक्षक काफ्ले, क्षेत्रीय होटल संघका अध्यक्ष सुमन घिमिरे, रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीलगायत पदाधिकारी तथा सदस्य, प्रहरी र पत्रकारहरुको सहभागिता थियो ।





