प्रमिता ढकाल
भरतपुर, २८ फागुन
नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराध र अपराधीसँग भिड्न सक्ने प्रहरी उत्पादनका लागि प्रशिक्षण केन्द्रको स्तरोन्नति आवश्यक रहेको बताएका छन् । जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा नवनिर्मित ब्यारेक भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक खनालले प्रशिक्षणकालीन समयमा जस्तो व्यवस्थापन र रहनसहनमा जे सिक्यो त्यही सिकाइ कार्यक्षेत्रमा देखिने बताए ।
“पहिले हामीले कति दुःखसहित प्रशिक्षण लियौं भन्ने कथा अब सुनाउन आवश्यक छैन”, खनालले भने, “प्रहरी शिक्षालयको भौतिक र प्राविधिक स्तरोन्नति मेरो प्राथमिकतामा रहेको विषय हो ।” आरामदायी शयनकक्ष, शौचालय, प्रविधिको प्रयोगले प्रहरीको दक्षता बढाउन सहयोग पुग्नेमा उनले जोड दिए । देशभर नयाँ सुविधायुक्त भवन निर्माण भइरहेको उनले जानकारी गराए ।
जुनियर प्रहरी अधिकृत शिक्षालय परिसरमा डाँफे र मुनाल सदनको सोमबार उद्घाटन गरिएको हो । ७ करोड ७३ लाख ९७ रुपैयाँको लागतमा २२ हजार ४२ वर्ग फिटमा दुईवटा भवन तयार गरिएका छन् । ३ तले अत्याधुनिक भवनमा सुविधायुक्त शौचालय र स्नानगृह बनाइएका छन् ।
प्रहरी असल, सज्जन र इमानदार हुनुपर्ने उनले बताए । अञ्जानमा भएका गल्ती सच्याउने अवसर सबैले पाउने भएपनि नियोजित गल्ती क्षम्य नहुने चेतावनी दिए । “प्रहरी भएकै दम्भका कारण अपराधमा संलग्न हुनेलाई यो चेतावनी हो,” खनालले भने, “दलालहरु अब प्रहरीमा टिक्न पाउने भनेको दिवा स्वप्नजस्तै हो ।” घरपरिवारकै करकापका कारण प्रहरी चुक्ने अवस्थाको अन्त्य गर्न उनले आग्रह गरेका छन् ।
घूस लिने र दिने दुवैलाई कारबाही गर्ने अभियानको थालनी भइसकेको उनले बताए । प्रशिक्षणको अवधिलाई कठिनाइका रुपमा भन्दा आफ्नो दक्षता र क्षमता निखार्ने अवसरका रुपमा हेर्न उनले हांैस्याएका छन् । नेपाल प्रहरीलाई प्रविधिको उपयोग गर्ने वातावरण सिर्जना गर्न आफू लागिपर्नेसमेत उनले बताए । अबको ३ महिनाभित्र देशका सबै शहरहरुमा सीसीटिभी जडान गरिने उनले जानकारी गराए ।
उद्घाटन समारोहमा शिक्षालयका प्रहरी नायब उपरीक्षक ई.अनिल रानाले नवनिर्मित भवनको विशेषताका बारेमा जानकारी गराए । शिक्षालयमा उत्पादन हुने जुनियर प्रहरी अधिकृतहरुको उत्कृष्ट गुरुकुल बनाउने अभियानमा लागेको उनले बताए । शिक्षालयका प्रमुख प्रहरी नायब महानिरीक्षक महेन्द्र पोखरेलले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यात, प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले मन्तव्य व्यक्त गर्दै देशको सुरक्षाका लागि तयार हुँदै गरेका प्रहरीलाई सुविधायुक्त भवनले हौसला थप्नेमा विश्वस्त रहेको बताए ।





