चार वर्षमा आधा पनि बनेन पुल

भरतपुर, २८ फागुन
भरतपुर महागनरपालिका–१, ठिमुरा र तनहुँको देवघाट गाउँपालिका जोड्ने पुल निर्माण सम्झौता गरिएको चार वर्ष बितिसक्दा पनि ४५ प्रतिशत मात्र काम भएको छ । सरकारी कर्मचारीको उदासिनता र ठेकेदार कम्पनीको बेवास्ताका कारण पुल निर्माणमा ढिलाइ भएको हो ।
विसं २०७१ कात्तिक १९ गते रु १६ करोडको लागतमा ठेक्का दिइएकोमा पछि नक्सांकन संशोधन (डिजाइन रिभ्यू) पछि लागत बढेर रु २१ करोड ६८ लाख पुगेको थियो । पुल शिलान्यासको तीन वर्षमा काम सम्पन्न गर्नुपर्नेमा विभिन्न कारण देखाउँदै समय थप गरिएको छ । डिभिजन सडक कार्यालय चितवनका निमित्त प्रमुख गिताञ्जली कोइरालाका अनुसार थपिएको समय आउँदो वैशाख ९ गते सकिँदैछ । तर, हालसम्म ४५ प्रतिशत मात्र काम भएको उनले बताए ।
कोइरालाले नक्सांकन संशोधनमा १८ महीना लागेको, भूकम्पले छ महिना काम गर्न नसकेको र नाकाबन्दीका कारण तीन महिना ढिला भएको बताए । थपिएको समय सकिन लाग्दा र ठेक्कापछि नक्सांकन परिवर्तन गरी रकम थप गर्दा पनि काम हुन सकेको छैन ।
इलाइट, एड्भेन्जर र इन्द्रेणी जेभी गरी तीन कम्पनी मिलेर संयुक्तरूपमा पुल निर्माणको जिम्मेवारी लिएका छन् । ठिमुरा र देवघाटलाई जोड्ने पुललाई विशेष पुलका रूपमा लिइएको छ । ठिमुरा–देवघाट पक्की पुल निर्माण उपभोक्ता समितिका उपाध्यक्ष टंकनाथ पौडेलले पर्याप्त बजेट र प्राविधिक कठिनाइका कारण समयमा पुल बन्न नसकेको बताए । सम्बन्धित निकायलाई घचघच्याउने काम भइरहेको भए पनि सुरुमा ढिला गरी काम सुरु भएको र बीचबीचमा रोकिएको उनले बताए ।
सो ठाउँमा ‘पिस्ट्रेस्ड कङ्क्रिट ब्रीज’ चार स्पान राखेर बनाइँदैछ । पुलमा ४० मिटर लम्बाइका तीन क्रंकिट स्पान बनाइनेछ । पुलको प्रमुख भाग ८० मिटर लामो स्टिलको ट्रस्ट संरचनासहित बनाउन लागिएको छ । सबै स्पान गरी पुल २०० मिटर लामो बन्ने जनाइएको छ । पुलको माथिको बिम र स्ल्याबको काम बाँकी छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट