मीनराजको पिपिरी चितवनमा

भरतपुर, फागुन २०
युवा लेखक मीनराज बसन्तको नयाँ उपन्यास ‘पिपिरी’ सोमबारबाट चितवनका पुस्तक पसलहरुमा उपलब्ध भएको छ । चितवनका लागि नारायणगढस्थित सम्पूर्ण किताबले यसको बजार व्यवस्थापन गरेको छ ।

पिपिरीलाई गत शनिबार काठमाडौंको कुञ्ज थिएटरमा कवि हाङ्युग अज्ञात, लेखक तथा समालोचक सगुना शाह र आख्यानकार अमर न्यौपानेले संयुक्तरुपमा पुस्तकको लोकार्पण गरेका हुन् । विमोचनपछि वक्ताहरुले पिपिरी बाल्यकाल सम्झाउने सुन्दर आख्यान भएको बताए ।

एउटा बालकको आँखाबाट समाजको परिवेश, अँध्यारा पक्ष र अन्धविश्वासलाई उपन्यासमा देखाउन खोजिएकाले पिपिरी पठनयोग्य भएको बताए । त्यसैगरी लेखक एवं समालोचक सगुना शाहले आफू सम्भ्रान्त परिवारमा जन्मिए पनि पिपिरी पढेपछि गाउँमा पुगेको अनुभूति भएको र त्यहाँको जनजीवनको बारेमा बुझ्न सजिलो भएको बताइन् ।

आख्यानकार अमर न्यौपानेले समाजको परम्परा, अन्धविश्वास र बेथितिलाई आफ्नै आँखाले नियाल्ने बालकको कथा भएको बताए । उनले लेखक मीनराजले आख्यानमा आञ्चलिकता प्रयोग गरेको हुनाले कथा पढ्दा निकै रोचक अनुभूति भएको बताए । आख्यानको रचनागर्भको बारेमा बोल्दै लेखक मीनराजले आफू गाउँमा जन्मिएर अभाव र अप्ठेरा परिस्थितिसँग झेल्दै हुर्किएको हुनाले पिपिरी त्यसैको उपज भएको बताए ।

लेखक मीनराजको यो दोस्रो उपन्यास हो । उनको पहिलो उपन्यास मुदिरमा वैदेशिक रोजगारीको कथा समेटिएको छ । मुदिरलाई युवापुस्ताले निकै रुचाएका थिए ।

यसैबीच उपन्यास चितवन आएलगत्तै पढ्न सुरु गरेका साहित्यकार एलबी क्षेत्रीले पिपिरीको सुरुआती हरफले नै आफूलाई मोहित पारेको भन्दै किताब पढ्न व्यग्र भएको बताए । युवा लेखक मीनराजलाई यो किताबले नयाँ उचाइमा पु¥याउने विश्वास उनले व्यक्त गरे ।

पिपिरीलाई फिनिक्स बुक्सले प्रकाशनमा ल्याएको हो । नेपालमै छापिएको ३५६ पेजको यस पुस्तकको मूल्य ३ सय पचास रुपैयाँ रहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट