लेखराम सापकोटा
पोखरा बसपार्कको नामले चिनिने नारायणगढको महेन्द्र बसपार्कबाट २०० मिटर पूर्वतर्फ आदर्शचोक छ । अझै पूर्व लाग्ने हो भने हालसालै खुलेको नयाँ तरकारी थोक बजार पुगिन्छ । यही बाटो भएर खुलेका चिया पसलहरु उनका ‘जक्सन’ हुन् । फुर्सद हुनासाथ चिया पिउने बहानामा तिनै चिया पसल चाहर्छन्, चिया मगाउँछन्, चुरोट सल्काउँछन्, टेबुलमा असरल्ल पत्रिका मिलाएर सरसर्ती हेर्छन् अनि चिया सुरुप्प पार्छन् । अनि चुरोटको चुस्कीमा एउटा सपना देख्छन्–नाटकघर ।
चितवनमा नाटकघरको सपना देख्ने यी हुन्–मुकुन्द खलपात्र ।
पत्रिकामा उनी राजनीतिक समाचारका शीर्षक मात्रै हेर्छन् । पूरै समाचार पढ्न मन लाग्दैन । राजनीतिक ‘थिति’ उनलाई कहिल्यै मन परेन । केही गर्छौंं भनेर सरकारमा आएकाहरू सधैं कमाउनै लागेपछि यो जुनीमा यिनीहरु सुध्रिन्नन् भन्ने उनलाई लागेको छ । सरासर उनी कला र शैली पृष्ठमा गएर अडिन्छन् । सबै समाचार एकटक पढ्छन् । अझै नाटकका समाचार देखे भने औधी खुसी हुन्छन् । र, त्यही खुसियालीमा अर्को खिल्ली सल्काउँछन् ।
हिजोआज चितवनको कला, साहित्य जमातमा सेलिब्रेटी छन् उनी । रामलाल जोशीको कथा ‘श्रीमान् वीरबहादुर’ माथि नाटक बनाएपछि उनी एकाएक चर्चामा आए । नारायणी कला मन्दिरमा मञ्चन गरिएको नाटक धेरैले हेरे । नाटकलाई सबैले मन पराए । अब चितवनमा पनि नाटकको उदय भयो है भनेर बुझ्न थाले चितवनबासीले । मुकुन्द अहिले पनि दिमागमा नाटक बोकेर हिंडिरहेका छन् । उनको चाहना छ चितवनकै माटोमा एउटा थिएटर बनोस् । त्यही थिएटरमा नियमितरूपमा नाटक देखाउन पाइयोस् । नाटक हेरेर दर्शकले भरपुर मनोरञ्जन लिउन् ।
को हुन् मुकुन्द ?
मुकुन्द खलपात्रको वास्तविक नाम मुकुन्दराज अर्याल हो । २०३५ मा गुल्मीमा जन्मेका उनी सानैमा चितवन आए । यिनको शिक्षादीक्षा सबै चितवनमै भएको हो । नारायणगढको भानु माविबाट २०५१ सालमा एसएलसी पास गरेका उनले त्यसपछिको पढाइका लागि बालकुमारी कलेजमा भर्ना भए । उनी कलेज त गए । तर, उनको संगत पढ्नेहरुसँग भन्दा रमाइलो गर्नेसँग ज्यादा भयो । त्यही कारण उनको पढाइ प्रवीणता प्रमाणपत्र तहभन्दा माथि उक्लेन ।

साथीभाइको संगतले उनलाई छुट्टै बाटोमा डोहो¥यायो । विन्दास पाराका उनी वीरगञ्जबाट नारायणगढ फर्कने क्रममा प्रहरीको फन्दामा परे । उनीमाथि लागूऔषध ओसारपसार, बेचबिखन र सेवनको आरोप लाग्यो । जेल परे । उनी २०६४ देखि नख्खु, हनुमानढोका र केन्द्रीय कारागार गरी ५ वर्ष जेल बसे । उनलाई जेल जीवन न विरक्त लाग्यो, न त रमाइलो । तर, ५ वर्षे जेल जीवनमा उनले आफूलाई परिवर्तन गराए । २०६९ सालमा जेलमुक्त हुँदा अब कहाँ जाने भनेर बाटो रोजिसकेका थिएनन् । तर, कानूनीरुपमा बन्देज लगाइएका काम नगर्ने प्रण गरिसकेका थिए । जेलमुक्त भएपछि उनले केही समय होटल व्यवसाय गरे । त्यतिबेला नै रंगमञ्चले जिस्काइरह्यो । उनी होटल छाडेर रंगमञ्चको बाटो लाग्ने निर्णयमा पुगे ।
जेल बसेर आएको भनी उनलाई धेरैले खिसी गरे । अब पनि पहिले जस्तै गर्ने त होला नि भनेर गिज्याउन थाले । तर, मुकुन्दले ती सबलाई बेवास्ता गरे र आफूले रोजेकै बाटोमा हिंड्न तल्लीन भइरहे ।
नाटकघर सपना
२०७१ सालतिर हो, ‘रेशम फिलिली’ चलचित्रमा सानो भूमिकामा अभिनय गर्ने मौका पाए । तर, ‘प्राविधिक कारण’ भन्दै उनको झल्को नै समेटिएन चलचित्रमा । त्यसपछि नाटक खेल्न काठमाडौं लागे । थिएटर भिलेजमा सञ्जीव उप्रेतीको ‘मकैको अर्कै खेती’ नाटक मञ्चन भइरहेको थियो । नाटक हेरिसकेपछि उनले उप्रेतीलाई भेटे । आफूलाई पनि नाटक मनपर्ने र अब नाटकको लागि केही गर्ने सोच सुनाए ।
त्यसपछि सुनिल पोखरेल र अशेष मल्ललाई पनि भेटे । नाटकका तीन जना हस्तीहरुलाई भेटेर यससम्बन्धी परामर्श लिएपछि मुकुन्द चितवन झरे । २०७२ पुसमा सर्वनाम थिएटरसँग सहकार्य गरेर क्षेत्रपुरमा नाटकसम्बन्धी १२ दिने कार्यशाला गरे । कार्यशालामा श्याम खड्का, सविना गोपाली, अर्जुन न्यौपानेलगायतले प्रशिक्षण दिए । कार्यशालामा १५÷१६ जनाले प्रशिक्षण लिए ।
सहकार्यको यात्रा
अभियानमा मुकुन्द एक्ला छैनन् । साथीहरूलाई सँगै लिएर हिंडिरहेका छन् उनी । उनले साथीहरूसँग मिलेर फायर फ्लाई युथ सोसाइटी दर्ता गरे । साहित्यिक गतिविधि यही संस्थाको नाम राखेर आयोजना गर्न थाले । श्रीमान् वीरबहादुर नाटक गर्ने भएपछि कर्मी नाट्य समूह खोले । कर्मीमा भीम राईले अध्यक्षता गरे । केही पछि ‘अराजक अक्षर समूह’ बनाए । यो समूहका अध्यक्ष उनी आफै हुन् । आजभोलि उनको नेतृत्वमा जति पनि कार्यक्रम हुन्छन्, आयोजना र संयोजन यिनै संस्थाहरुको हुने गर्दछ । मुकुन्दको नेतृत्वले सडकनाटक, नाटक र काव्य गरेर अहिलेसम्म दर्जन बढी कार्यक्रम गरिसकेको छ ।
२०७२ चैत २० गते पहिलोपटक श्रवण मुकारुङसँग मिलेर उनले संयुक्तरूपमा कविता वाचन गरे । चितवनको नारायणी कला मन्दिरको प्रेक्षालयमा गरिएको यो कार्यक्रम काव्यमेलाको पहिलो शृंखला थियो । त्यस्तै २०७३ असार २४ गते ‘मुकुन्द खलपात्रको एकल कविता वाचन’ कार्यक्रम गरियो । काठमाडौंमा गरिएको यो कार्यक्रम काव्यमेलाको दोस्रो शृंखला थियो । तेस्रो शृंखलाको रूपमा चितवनमै ‘मुकुन्दको एकल कविता वाचन’ भयो । चौंथो शृंखलामा शशी लुमुम्बु र शीतल लामा कविता वाचनमा उपस्थित भए । पाँचौं शृंखलामा डा. अमर गिरी र अञ्जान ढुंगानाले कविता सुनाए ।
छैटौं शृंखला २०७४ बैशाखमा काठमाडौंमा भयो । उक्त शृंखलामा पाँच कविले रचना वाचन गरे । सातौं शृंखलामा गणेश श्रमण, विनय सरगम र विष्णु सन्यासले कविता सुनाए । आठौं शृंखला गत माघ महिनामा गरियो । फूलमान वल र रञ्जना लिम्बूले यस शृंखलामा कविता सुनाए । काव्यमेलासँगै मुकुन्दकै संयोजनमा नाटक पनि मञ्चन गरियो चितवनमा । २०७४ पुसमा नारायणी कला मन्दिरमा श्रीमान् वीरबहादुर नाटक देखाइयो । भीष्म जोशीले निर्देशन गरेको यो नाटक दर्शकहरुले रुचाएका कारण दोस्रोपटक पनि देखाइएको थियो । यो नाटकको कथा रामलाल जोशीले लेखेका हुन् । यो कथा मदन पुरस्कार प्राप्त कृति ऐनामा पनि समावेश छ । नाटक हेर्न लेखक जोशी धनगढीबाट चितवन आएका थिए । त्यसैगरी मुकुन्दले विजय मल्लको नाटक ‘बहुलाकाजीको सपना’ पनि मञ्चन गराए । उनले बालश्रमसम्बन्धी चेतनामूलक सडक नाटक पनि प्रस्तुत गरिसकेका छन् ।
उनी यो अभियानमा लागिरहन चाहन्छन् । चितवनमा थिएटर निर्माण गरेरै छाड्ने उनको धोको छ । कतिपय कार्यक्रम टिकटमा गराउँछन् । टिकटबाट जम्मा भएको पैसा कार्यक्रम गर्दै सकिन्छ । तर, पनि उनले हरेश खाएका छैनन् । कर्म गर्दै गइरहेमा टोलीले एकदिन चितवनमा थिएटर निर्माण गर्न सक्नेमा ढुक्क छन् उनी । उनका अनुसार यो अभियानमा आ–आफ्नो क्षेत्रबाट यो यात्रालाई सहयोग पु¥याउनेहरुको बुझाइ केवल कविता वाचन या नाटक मञ्चनजस्तो ठहर भएकोले यस अभियानलाई नदीको जस्तै प्रवाहको रुपमा लिन अनुरोध गर्छन् ।
अहिले उनीसँग नागरिकता छैन । प्रतिलिपि पनि छैन । हराएको नागरिकता भेटिएला नभेटिएला पत्तो छैन । प्रशासन गएर नागरिकता बनाइ हालुँ भन्ने इच्छा पनि छैन । मुकुन्द खलपात्रले चिनिएका उनी आफू अहिले ‘अनागरिक खलपात्र’ भएको बताउँछन् । भन्छन्, “म आफ्नै देशमा अनागरिक भएर नाटकघरको सपना पूरा गर्न चाहन्छु ।”

१५ लाख आवश्यक
चितवनमा सबैजसो जिल्लाका मान्छेहरुको बसोबास छ । कला, साहित्य, संस्कृतिका विविध गतिविधि यहाँ भइरहन्छन् । तर, नाटकका गतिविधि उतिसारो हुँदैनन् । पुष्प आचार्यलगायतको टिमले हिजोका दिनमा चितवनमा नाटकसम्बन्धी काम गरे पनि निरन्तरता पाउन सकेन । खलपात्र त्यही नाटकको रस बढाउन मरिमेटेका हुन् । चितवनमै नाटकघर बनाउन सके केही युवालाई रोजगारी मिल्नुका साथै जिल्लाको गरिमा पनि बढ्ने बताउँछन् उनी । उनको सोच नयाँ ढंगको नाटकघर बनाउने हो । २०० जना जति अट्ने ‘ब्ल्याक बक्स’ प्रविधिको नाटकघर उनले बनाउन चाहेका हुन् ।
यस्तो नाटकघरमा ‘पिन माइक’को पनि प्रयोग गर्नुपर्दैन । यहाँ गरिने नाटकमा अभिनयको जीवन्तता पनि पाइन्छ । बाँसलगायत सामग्री प्रयोग गरेर यस्तोखाले नाटकघर बनाउन सकिने उनी बताउँछन् । सबै क्षेत्रबाट श्रमदान जुटाएर अरु १५ लाख जति खर्चमा नाटकघर बनाउन सकिने उनको अनुमान छ । नारायणी कला मन्दिरका अध्यक्ष अमरदेव प्रधानसँग यसबारेमा सल्लाह गरिरहेको मुकुन्द बताउँछन् । एक्लैले केही गर्न सकिन्न, नाटकसम्बन्धी ज्ञान भएका व्यक्तिहरु संस्थागतरूपमा लागिपर्ने हो भने नाटकघर बनाउन गाह्रो नहुने कुरामा निश्चिन्त छन् उनी ।




