ताप्लेजुङ, १६ फागुन
एयर डाइनेष्टीको हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना हुँदा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको मृत्यु भएको छ । बुधबार दिउँसो पाथिभरा दर्शन गरेर फर्किने क्रममा नजिकैको तारेभीरमा हेलिकोप्टर दुर्घटनामा परेको थियो ।
तेह्रथुमको चुहानडाँडामा बनाउन लागिएको प्रस्तावित विमानस्थलको सम्भाव्यता अध्ययन गर्न बुधबार बिहान पर्यटनमन्त्री अधिकारीसहित सातजना त्यसतर्फ प्रस्थान गरेका थिए । दिउँसो सवा १ बजे पाथिभरा दर्शन गरेर फर्किने क्रममा हेलिकोप्टर दुर्घटनामा परेको गृहप्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए ।
दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी, प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, एयर डाइनेष्टीका क्याप्टेन प्रभाकर केसी, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका अंगरक्षक अर्जुन घिमिरे, नेपाल नागरिक उड्ययन प्राधिकरणका ईञ्जिनियर ध्रुवदास भोछिभयाको मृत्यु भएको छ ।
त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीका अनुसार हेलिकोप्टर पौने १२ बजे तेह्रथुमबाट पाथिभरा गएको थियो । पाथिभरा पुगेपछि क्याप्टेन केसीले सुकेटार टावरलाई अहिले ‘हेभी स्नोफल’ (धेरै हिउँ परिरहेको) बताउँदै उड्न नसक्ने जानकारी गराएका थिए । तर, त्यसलगत्तै उडेको अनुमान गरिएको छ । विमानस्थलका प्रवक्ता तिवारीले भने, “पौने १ बजेतिर हेलिकोप्टरले सुकेटार टावरलाई हेभी स्नोफल भएको छ र उड्न सक्दिनँ भन्दै जानकारी गराएको पाइएको छ । त्यसलगत्तै जहाज उडेको हुनुपर्छ । जहाज उडेको एक मिनेटमै दुर्घटनामा परेको अनुमान गरिएको छ ।”
गृह प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार दुर्घटनामा परी मृत्यु भएकामध्ये मन्त्री अधिकारीको शव पहिचान भएको छ भने उनका सुरक्षाका लागि खटिएका नेपाली सेनाका अर्जुन घिमिरेको पनि शव पहिचान भएको छ ।
राजकीय सम्मान, सार्वजनिक विदा
सरकारले स्वर्गीय संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री अधिकारीलाई राजकीय सम्मान दिने निर्णय गरेको छ । बुधबार आकस्मिक बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । यस्तै मन्त्री अधिकारीको निधनको शोकमा आज राष्ट्रिय शोक मनाउँदै देशभर सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको छ ।
छानबिन समिति गठन
सरकारले पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन हुने गरी भएको हेलिकोप्टर दुर्घटनाबारे छानविन गर्न समिति गठन गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को आकमिस्क बैठकले पूर्वपर्यटन सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा चार सदस्यीय समिति बनाएको हो । समितिमा सहायक रथी दीपक बास्तोला, क्याप्टेन प्रमोद लामा र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् । समितिले सम्भव भएसम्म छिटो प्रतिवेदन बुझाउन भनिएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए ।
एक वर्षमा ९ दुर्घटना
यो दुर्घटनासहित पछिल्लो एक वर्षमा नेपाली आकाशमा ९ वटा ठूला हवाई दुर्घटना भएका छन् । ती दुर्घटनामा ६६ जनाले ज्यान गुमाएका छन् । बुधबार भएको एयर डाइनेष्टीको विमान दुर्घटनामा पर्नुअघि बनेका छानविन आयोगका प्रतिवेदनले अधिकांश दुर्घटनाको प्रमुख कारण चालकको गलत निर्णय हो भन्ने निश्कर्ष निकालेका छन् ।
तर, तिनै प्रतिवेदनमा जहाज सञ्चालक कम्पनीलाई जहाजको मर्मतसम्भार र प्राविधिक अवस्था चुस्त नदेखिएकाले सुधार गर्न सुझाव दिएको देखिन्छ । तर, हवाइविज्ञ वाईके भट्टराई भने प्रतिवेदनको रिपोर्ट माथि नै प्रश्न गर्छन् । उनी भन्छन्, “अहिलेसम्म सार्वजनिक भएको प्रतिवेदनमाथि शंका हुन्छ । किनकि व्यक्तिको ज्यान गएपछि उसलाई दोष दिएर पञ्छने चलन बढेको छ ।” यता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महानिर्देश राजकुमार क्षेत्री पनि विमान दुर्घटना बढेको भने स्वीकार्छन् । उनका अनुसार कतिपय दुर्घटना नहुनुपर्ने परिस्थितिमा पनि दुर्घटना भइरहेका छन् ।
नेपालमा हवाई दुर्घटनापछि हुने फितलो छानविन र त्यसको कार्यान्वयनमा सरोकारवाला उदासिन बन्दा दुर्घटना दोहोरिने गरेका छन् । विज्ञहरु भन्छन्, “कतिपय रिपोर्ट बाहिर सार्वजनिक गर्नु त कता हो कता, स्वयं सरोकारवालासम्म पनि पुग्दैनन् ।” अहिलेसम्म भएका हवाई दुर्घटना के कारणले हुन्छ ? यसको यकिन प्रतिवेदन तयार हुन भने सकेको छैन । नागरिक उड्ययन प्राधिकरणले सूचीबद्ध गरेका घटनाका रेकर्डहरूमा ९५ प्रतिशत घटना प्राविधिक कारणले भएको देखिन्छ ।




