महानगरमा सुविधाको द्वन्द्व

विप्लव काफ्ले
भरतपुर, १६ फागुन
हरेक पत्रकारसँगको अन्तरक्रियामा ‘अल्पकालीन, मध्यकालीन र दीर्घकालीन’ भन्दै योजनाकोे ‘ब्रिफिङ’ गर्न नछुटाउने भरतपुर महानगरकी मेयर बुधबार फरक शैलीमा प्रस्तुत भइन् । नियमित पत्रकार भेटघाट कार्यक्रममा मेयर रेनु दाहालले अधिकांश समय उपमेयरविरुद्ध शब्द खर्चिन् । उपमेयरले १२ बुँदे आरोपपत्र सार्वजनिक गर्दै भरतपुर र काठमाडांैमा पत्रकार सम्मेलन गरेपछि मेयर प्रतिवादमा उत्रेकी छिन् ।
“घरभित्रको समस्या छाडेर छिमेकी गुहारेर, अनावश्यक मिडियाबाजी गरेर समाधान हुँदैन”, मेयर दाहालले भनिन्, “आफ्नो कमजोरीबाट सिक्नुहोस्, सुधारको बाटो पक्डनुहोस् ।” मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतबीचको सम्बन्ध चिसिएको विषय अनावश्यक रुप लिएको छ । विकास निर्माणका योजनामा भन्दापनि लाभ र सेवा सुविधाको विषयमा लडाइ चुलिएको छ ।
“मेयरले घरभाडाको सुविधा लिदा उपमेयरले पनि पाउनुपर्छ भन्ने सोच उहाँमा आयो”, उनले भनिन्, “मेरो घर यहाँ थिएन, महानगरले भाडा दिने गरी घरभाडामा बसेको छु, घर हुँदाहुँदै घरभाडा देउ भनेर भएन नि !” स्थानीय सरकार सञ्चालन ऐनमा घर हुँदाहुँदै घरभाडा लिन पाइने सुविधा नरहेको उनको जिकिर छ । उपमेयर पार्वती शाहको घर भरतपुर क्षेत्रमै पर्ने भएकाले घरभाडाको सुविधा नदिइएको उनको दावी छ । आन्तरिक छलफलमा उपमेयरले घरभाडा मागेको विषयले निकै चर्चा पाउन थालेको छ ।
मेयर र उपमेयरको सचिवालय कक्षमा दिनहुँ भीड हुन्छ । सचिवालयकै सदस्य सरह उनीहरुको हालीमुहाली देख्न सकिन्छ । सेवाग्राहीले समेत सचिवालय कक्ष पार गरेर मेयर र उपमेयरसँग भेट गर्न निकै सास्ती भोग्नुपर्छ । सचिवालयमा आफ्ना मान्छे नियुक्ति गर्न दुबै पक्ष निकै सक्रिय बन्दै आइरहेका छन् । “उपमेयरको भतिजीलाई जागिर दिन दबाब थियो, मन्त्रालयले नै प्राविधिक कर्मचारी राख्न मिल्दैन भनेर पत्राचार गरेको जानकारी गराएको हो”, मेयरले भनिन्, “विवादको चुरो कुरो यही हो, छलफल गरौंला भनेकै हो ।”
केही दिन पहिले प्रमुख प्रशासकीय अधिकृतलाई उपमेयरले आफू निकटलाई जागिर मिलाइदिन दबाब दिएको दावी मेयरको छ । उपमेयरले न्यायिक तथा इजलासका लागि कर्मचारी अभाव रहेको सार्वजनिक गरेपनि मेयर कर्मचारी अभाव नरहेको जिकिर गर्छिन् । “कर्मचारी पनि भागबण्डा लगाउने कुरा हो र ?”, उनले पत्रकारमाझ भनिन्, “भएका कर्मचारीलाई परिचालन गर्न सक्नुप¥यो नि, कर्मचारीप्रतिको असन्तुष्टिको कुनै तुक छैन ।” उनले भनिन्, “आवश्यकताअनुसार कर्मचारी हेरफेर हुन्छन् नै, नौलो कुरा होइन नि, राजनीतिक पक्षका आधारमा त्यस्तो भए कर्मचारी पनि बोल्नुप¥यो नि ।”
उनले विषयगत समिति गठनमा ‘बलमिच्याइँ’ नभएको दावी गरिन् । ६ समितिको जिम्मेवारी उपमेयरलाई दिइएको बताउँदै उनले जिम्मेवारी तथा अधिकार नदिइएको आरोप झुट भएको बताइन् । विगतमा राजनीतिक लेनदेनका आधारमा नेतृत्वमा आएको भएपनि ‘जुरुक्क उठाएर मेयर बनाएको’ जस्तो गरी अनावश्यक दबाब दिन नहुने बताइन् । नगरसभामा सर्वसम्मत निर्णय भएको दावी उनको छ ।

अनियमितता पुष्टि गर्न चुनौती
मेयर दाहालले महानगरमा आर्थिक अनियमितता भएको भनेर उपमेयरले लगाएका आरोप प्रमाणित गर्न चुनौती दिएकी छन् । “ प्रमुखको हैसियतले एउटामात्रै आर्थिक अनियमितता भएको प्रमाणित गर्नुस्, एक हप्ता वा १५ दिन पर्खन तयार छु”, उनले भनिन्, “मिथ्या आरोप लगाएर चरित्र हत्या नगर्नुस्, जनताका हित बेगरका केही काम भए भन्न सक्नुप¥यो नि ।”
प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले गल्तीबारे जानकारी गराउन उपमेयरलाई आग्रह गरेका छन् । उपमेयरले सुवेदीले आदेश नमानेको, अटेरी गरेको आरोप लगाउँदै आएकी थिइन् । “आरोप लगाउने हिसाबले गल्ती देखाएर भएन”, उनले भने, “गल्ती कमजोरी औंल्याइदिनुस्, म विषय हेरेर माफी माग्न तयार छु ।”

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट