अब ९० प्रतिशत क्षेत्रमा बिजुली
विप्लव काफ्ले
भरतपुर,११ फागुन
माडी नगरपालिकामा यो वर्ष करिब ९० प्रतिशत क्षेत्रमा विद्युत्् सेवा विस्तार गरिने भएको छ । ९ वटा नयाँ ट्रान्सर्फमर जडान गरिदैछन् । करिब १ हजार ९ सय पोल थपिदैछन् ।
“यसपालि माडीको विद्युतीकरणमा बजेट निकासा भएको छ, टेण्डर भइसकेको छ”, नेपाल विद्युत्् प्राधिकरण भरतपुरका प्रमुख सुरेशकुमार महतोले भने, “विद्युत्् नपुगेका धेरै क्षेत्रमा विद्युत्् सेवा विस्तार हुनेछ, झण्डै ९० प्रतिशत ‘कभरेज’ हुने लक्ष्य छ ।” उनका अनुसार ९ वटा ट्रान्सफर्मर जडान गर्न ज्यालातर्फ २ करोड ६ लाख बराबरको टेण्डर स्वीकृत भएको छ । बैराठ, धोवाहा, आँपेखाल्डो, चैनपुर, गणेजकुञ्ज, जेठी बगई, सितलपुर, इन्द्रबस्ती लगायतका क्षेत्रमा ट्रान्सफर्मर जडान हुँदैछन् ।
गतवर्ष ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत थप भएका १२ ट्रान्सफर्मर यही १२ गते चार्ज गर्दैछ । ५० केभीए क्षमताका ट्रान्सफर्मरबाट विद्युत्् प्रवाह परीक्षण हुँदैछ । वनकट्टा, सितलपुर, खैरहनी, लक्ष्मीनिवास, ढुकुरबारी, स्याउलीबास, दिवानगर, कुन्तिपुर, बाउनडोरीमा गत वर्ष ट्रान्सर्फमर जडान भएका थिए ।

गतवर्ष ज्यालातर्फको ३३ लाख बजेट निकासा भएको थियो । “गतवर्ष विद्युतीकरण गर्न करिव ७ करोड बजेट अभाव देखिएपछि केन्द्रमा अनुरोध गरेका छौँ”, उनले भने, “सो बजेट स्वीकृत हुने प्रक्रियामा छ ।” वितरण केन्द्रका सुपरभाइजर तथा माडीका इञ्चार्ज आनन्द कुँवरले यही महिनाभित्र २ सय ५० पोल राख्ने गरी काम सुरु हुन लागेको बताए । “अहिले करिव ४५ प्रतिशत ‘कभरेज’ छ”, उनले भने, “यो वर्ष अधिकाँस क्षेत्रमा विद्युत् सेवा पुग्नेछ । जनप्रतिनिधिको रोहबरमा यही पुसमा पोल विस्तारको तथ्यांक संकलन भएको थियो । सबै वडाका भित्री गाउँसम्म विद्युत् सेवा पु¥याउने गरी काम अघि बढिरहेको बताए । हाल माडीमा ४ हजार ५ सय घरधुरी विद्युत्का उपभोक्ता छन् ।
भारतीय सैनिक कल्याणकारी कोष र विद्युत्् प्राधिकरणको लगानीमा सञ्चालित भरतपुर–चनौली–माडी ३३ केभी प्रसारण तथा ग्रामीण विद्युतीकरण आयोजनाले माडीमा २०७३ साल कात्तिकमा विद्युत्् सेवा पुगेको थियो । मंसिरदेखि विद्युत्् सेवा सुचारु भएको थियो । “सबै बस्तीमा विद्युत् सेवा पु¥याउन पहल भैरहेको छ”, मेयर ठाकुरप्रसाद ढकालले भने, “प्रयाप्त बजेटको माग भैरहेको छ ।” उनले विद्युत् सेवा विस्तार नहुदा विगतमा विकासलाई प्रत्यक्ष असर पारेको बताए । “निकुञ्जभित्रको भूमीगत तार प्रणालीको विकल्प सोच्न ध्यानाकर्षण गराइरहेका छौँ”, उनले भने, “बेलाबखत खराबी आउँदा माडीनै अन्धकार हुने अवस्था छ, दीर्घकालिन समाधान हुनुपर्छ ।”
निकुञ्जभित्र १५ करोड
चनौली सबस्टेशनबाट चितवन राष्ट्रिय निकुञ्जहुदै माडीमा विद्युत् सेवा पु¥याइएको छ । तर, बेलाबखत तार जल्ने समस्याले निकुञ्जभित्रको भूमीगत तार प्रणालीकै कारण माडीमा विद्युत् सेवा अवरुद्ध हुदै आउने गर्छ । “पुनः ‘अण्डर ग्राउण्ड’ तार विछ्याउन बजेट मागेका छौँ”, वितरण केन्द्रका महतोले भने, “१५ करोड ‘स्टिमेट’ छ, फाइल केन्द्रमा पुगेको छ ।” गत वर्ष २ करोडको बजेट स्वीकृत भएपनि सो बजेटले काम पुरा नहुने देखिएपछि पुनः लागत अनुमान गरेर पठाइएको उनले बताए । करिव ९ किमी भूमीगत तार प्रणाली जडान हुनेछ । विगतकै तार भएकै ठाउँमा अर्को तार प्रणाली राखिने योजना छ ।
‘फल्ट लोकेटर’ मेसिन भित्रियो
भूमिगत तार प्रणालीको खराबी पत्ता लगाउने मेसीन भरतपुर वितरण केन्द्रमा आइपुगेको छ । विगतमा निकुञ्जभित्रको तार प्रणालीमा देखिने समस्या पहिचान गर्न भारतबाट मेसीन मगाउनुपर्ने अवस्था थियो । मेसीन आउनै झण्डै एक महिना लाग्दा विद्युत् सेवाबाट माडी पटक पटक वञ्चित हुने गर्दथ्यो । “अब मेसीन छ, समस्या हुने वित्तिकै पहिचान गर्न सहज बनेको छ”, महतोले भने, “अब विगतको जस्तो सास्ती माडीले लिन नपर्ने भएको छ ।” केन्द्रलेनै वितरण केन्द्रमा मेसीन पठाएको हो ।





