प्रमिता ढकाल
भरतपुर, २ फागुन
जलदेवी सामुदायिक वन उपभोक्ता समितिले सञ्चालन गरेको ‘पिकनिक स्पट’ (वनभोजस्थल) आम्दानीको राम्रो स्रोत बनेको छ । पिकनिक स्पट तथा पार्कबाट गत आर्थिक वर्षमा मात्र ५ लाख ७० हजार रुपैयाँ आम्दानी भएको वन समितिले जनाएको छ ।
समितिले यस आर्थिक वर्षमा १० लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्य लिएको छ । त्यसैअनुसार काम गरिरहेको उपभोक्ता समतिका अध्यक्ष केशव थापा निरुले बताए । ७ वटा टहराको व्यवस्था गरिएको ६ हेक्टर क्षेत्रफल ओगटेको पिकनिक स्पटमा एक पटकमा २० वटा समूहसम्म अटाउन सक्छन् । तर, हिउँदको मौसममा एकैदिनमा ४० वटासम्म पिकनिक समूहसम्मले रमाइलो गरेको अध्यक्ष थापाले बताए । अन्य दिनमाभन्दा शनिबार यहाँ बढी चाप हुने गरेको छ ।
आगन्तुकको चापकै कारण पछिल्लो समय पिकिनिक स्पटलाई मनमोहक बनाउन पूर्वाधार विकासमा ध्यान दिइरहेको उनले बताए । “खुला चौर र टहराको मात्र व्यवस्था गरिएको पिकनिक स्पटमा आउने समूहको चाप निकै छ”, अध्यक्ष थापाले भने, “अब हामी उहाँहरुलाई अरु गतिविधिका विकल्प पनि दिनेछौं ।”
पिकनिक स्पटमा खाने र नाच्नेबाहेक थुप्रै गतिविधि हुन सक्छन् । फोटो खिचेर रमाउनेका लागि सुन्दर बगैंचा, विभिन्न ऐतिहासिक एवं संरक्षणका सचेतनासहितका मूर्ती, बालबालिकाको लागि खेलकुदका गतिविधिजस्ता पूर्वाधार अहिले तयार भइरहेका छन् । पिकनिक स्पट प्रवेशका लागि एउटा समूहसँग १५ सय रुपैयाँ टिकट शुल्क लिने गरेको समितिले बाल उद्यानका लागि भने प्रतिव्यक्ति १५ रुपैयाँ छुट्टै शुल्क लिने गरेको छ । पिकनिकबाहेक बालबालिकालाई खेल खेलाउन मात्रै पनि विभिन्न विद्यालय समूह आउने गरेका छन् ।
समितिले छिट्टै नेपालमै पहिलो पटक सुरुआत गर्न लागेको साहसिक खेल जिब्बनले पनि आगन्तुक तान्न मद्दत पुग्ने अध्यक्ष थापाको विश्वास छ । समितिले डोरीको सहायताले एउटा रुखबाट अर्को रुखमा सुर्किदैं जाने खेल (जिब्बन) सुरु गर्ने तयारी गरेको छ । यसअघि पोखरा र धरानमा यस्तै प्रकृतिको साहसिक खेल ‘जिप फ्लाइङ’ सुरु गरेपनि जिब्बन भने नेपालमै पहिलोपल्ट चितवनमा सुरु गर्न लागिएको हो । “अहिले हामीले १० लाखको लक्ष्य राखेका छौं, खेल सुरु भएपछि २५ लाखको आम्दानी हुने अपेक्षा छ”, उनले भने ।
वि.सं. २०६९ सालदेखि सुरु गरिएको पिकनिक स्पटलाई हाल सुन्दर बगैंचासहितको रमणीय पार्क, बालउद्यान र धार्मिक क्षेत्र गरी तीन भागमा छुट्याइएका छन् । देवघाटको मुख्यद्वारमा नै जोडिएको यो पिकनिक स्पटले देवघाटको महिमा वर्णन गर्न सक्ने गरी धार्मिक उद्यान तयार गर्न लागिएको अध्यक्ष थापाले बताए । धार्मिक उद्यानमा २८ फिट अग्लो शिवलिङ्ग निर्माण गरिँदै छ । विभिन्न देवदेवीका प्रतिमा राखेर निर्माण गर्न लागिएको सो उद्यानले राजमार्गमा ओहरदोहर गर्नेलाई पनि देवघाटको महिमा दर्शाउने उनले दावी गरे ।
राजस्थानदेखि भित्राउन लागिएको भगवानका मूर्तीहरु स्थापना गरी आगामी साउनमा देवघाटमा लाग्ने मेलासम्म तयार गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । एक सय ९९ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनका १ हजार ३ सय ५० उपभोक्ता छन् ।





