विप्लव काफ्ले
भरतपुर, २ फागुन
भरतपुरको पटिहानी क्षेत्रमा व्यावसायिक पशुपालन बढ्दै गएको छ । यो क्षेत्रमा १६ वटा दुग्ध उत्पादक सहकारी खुलेका छन् । भरतपुर–१३ मा ६, १४ र २२ मा ५–५ वटा दुग्ध सहकारी क्रियाशील छन् ।
जिल्ला दुग्ध उत्पादक सहकारी चितवनका उपाध्यक्ष तथा भरतपुर–२२ मा रहेको गंगानगर दुग्ध उत्पादक सहकारीका अध्यक्ष कृष्णप्रसाद सापकोटा पटिहानी क्षेत्रको पशुपालन व्यावसायिकतातर्फ उन्मुख भएको बताउँछन् । “गाईभैंसीपालनमा लगानी बढेको छ”, उनी भन्छन्, “कम लागतमा उत्पादन गर्ने वातावरण बनाएमा पटिहानी पशुपालनको नमूना क्षेत्रका रुपमा विकास हुनसक्छ ।”

गंगानगर दुग्ध सहकारीका संस्थापक रामजी सापकोटा सुरुका वर्षमा मुस्किलले ८० लिटर दूध संकलन गरेको सहकारीमा हाल ४ हजार लिटर दूध सजिलै संकलन हुने गरेको बताउँछन् । “घरमै खाने, घ्यु बनाएर बेच्ने चलन थियो”, उनी भन्छन्, “नश्ल सुधारिएका गाईभैंसी पालेर व्यवसाय नै गर्ने क्रम बढेको छ ।” सहकारीका सल्लाहकार शान्ताराज आचार्यले मागअनुसारको उत्पादन अझै हुन नसकेको बताउँछन् । “पुख्र्यौली पेशा व्यवसायीक बन्दैछ”, उनी भन्छन्, “अधिकांश घरमा कम्तीमा २ वटा उन्नत जातका गाईहरु छन्, समग्रमा ४ प्रतिशत उत्पादन बढेको छ, तर माग ८ प्रतिशतले बढेको छ ।”
सहकारीका बीमा समिति संयोजक हेमराज आचार्यले स्वरोजगार सिर्जना गर्न पशुपालन गर्ने क्रम बढेको बताउँछन् । “घरका परिवारले पनि काम पाउने, आम्दानी पनि हुने अवस्था सिर्जना भएको छ”, उनी भन्छन्, “गाई फर्म विस्तार गर्नेको संख्या बढ्दै गएको छ ।” गंगानगर दुग्ध सहकारीले मात्रै गतवर्ष १० लाख ९८ हजार ६ सय ३४ लिटर दूध खरिद गरेको थियो । सहकारीमा १ सय ११ जना महिलासहित ३ सय ७१ जना कूल शेयर सदस्य छन् । सहकारीका संकलन केन्द्रमा ७ सय किसानले दूध बेच्ने गर्छन् । भरतपुर–२२ स्थिति मुख्य कार्यालय धनौजीमा २ हजार, भरतपुर–१३ गंगानगरमा १ हजार २ सय, भरतपुर–१४ बरौजीमा ८ सय सय लिटर दैनिक संकलन हुन्छ ।
गतवर्ष यो सहकारीले ललितपुरमा रहेको नवप्रभात डेरीमा करोड ९९ लाख ११ हजार ४३ रुपैयाँ बराबरको दूध बेचेको थियो । गंगानगर दुग्ध सहकारीका व्यवस्थापक रामप्रसाद सापकोटाले पटिहानी क्षेत्रमा दैनिक करिब १५ हजार लिटर दूध सहकारीहरुले किन्ने गरेको बताए । भरतपुर–१३ का वडाध्यक्ष प्रकाश दवाडीले पहिटानी पर्यटन र पशुपालनको क्षेत्रमा अगाडी बढेको बताउँछन् । “महानगरले कृषि अनुदान दिदै आएको छ, वडाले पनि उत्कृष्ट किसानलाई प्रोत्साहन गर्ने नीति लिएको छ”, उनी भन्छन्, “थुनेलो, खोरेत, नाम्ले, माटे जस्ता रोगका प्रकोप फैलन नदिन रोगबारे जनचेतना र विज्ञसँग अन्तरक्रिया गरिने छ ।”
उत्पादनको लागत घटाउन सहकारीको पहल
गंगानगर दुग्ध उत्पादक सहकारी भरतपुर–२२ ले दूध उत्पादनको लागत घटाउन घाँसखेतीमा अनुदान दिने योजना ल्याएको छ । सहकारीका अध्यक्ष कृष्णप्रसाद सापकोटालले व्यावसायिक पशुपालन गर्दै आएका किसानले प्रति दुई कठ्ठामा घाँसखेती गरेमा १ हजार ५ सय रुपैयाँ अनुदान दिने योजना ल्याएको बताए ।
“दाना चोक्करभन्दा घाँसमा आधारित पशुपालन गर्दा लागत कम पर्छ”, उनले भने, “घाँसखेतीमा प्रोत्साहन गर्न अनुदान दिन लागेका हौँ ।” उनले ‘साइलेज’ प्लाण्ट निर्माण गरिने योजना रहेको बताए । “बाह्रैमास घाँस उपलब्ध गराउन साइलेज प्लाण्टले सघाउनेछ”, उनी भन्छन्, “घाँसको पोषणतत्व कायमै राखेर बेमौसममा समेत घाँस उपलब्ध गराउने योजना अघि बढेको छ ।” उनले आसपासका डेरीसँग समन्वय गरेर गुणस्तरीय दाना उद्योग सञ्चालन गर्नेबारे छलफल चलिरहेको बताए । सुपथ मूल्यको औषधि पसल समेत सञ्चालन गर्ने लक्ष्य रहेको बताए । “लागत बढ्दा किसान निराश छन्”, उनी भन्छन्, “मध्यवर्ती क्षेत्रलाई अनुरोध गरेर भएपनि घाँस खेतीलाई अभियानका रुपमा चलाइने छ ।”
दही प्लाण्ट र नमूना गाईफर्म
गंगानगर दुग्ध सहकारीले स्रोत केन्द्र बनाउन नमूना पशुपालन फार्म सञ्चालनमा ल्याउने भएको छ । ५ सय उन्नत जातका गाईभैसी पाल्ने योजना सहित फार्म सञ्चालन गरिन लागेको छ । फार्मको यही ६ गते महानगरका मेयर रेनु दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सहकारीका व्यवस्थापक रामप्रसाद सापकोटाले भरतपुर–२२ स्थित पटलहरामा ४ विघा ३ कट्ठा जग्गा भाडामा लिएर फर्म सञ्चालनमा ल्याउन लागिएको बताए ।
यो वर्ष २५ वटा गाईभंैसी पाल्ने योजना छ । सहकारीका अध्यक्ष कृष्णप्रसाद सापकोटाले करिब १ करोड लागत साझेदारीमा ५ सय लिटर दही उत्पादनको प्लाण्ट निर्माण गर्न लागिएको बताए । दूधको विविधीकरण गर्दै ‘ब्राण्डिङ’ गर्दै बजारीकरण गर्ने बताए ।
रजत महोत्सव मनाइदै
गंगानगर दुग्ध सहकारीको रजत महोत्सवअन्तर्गतका सप्ताहव्यापी कार्यक्रम सार्वजनिक भएको छ । बुधबार पलटहरामा र बिहीबार बरौजीमा निःशुलक पशु स्वास्थ्य शिविर गरिदै छ । बुधबार करिब २ सय ५० पशुको स्वास्थ्य शिविर गरिएको छ । गर्भ तथा गोबर परीक्षण, बन्ध्याकरण, रेबिजविरुद्धको भ्याक्सिन, बाँझोपन निवारणको उपचार, थुनेलो परीक्षणलगायतका सेवा दिइएको थियो । अमर माविअन्तर्गतको प्राविधिक शिक्षालयको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।
भेटेरिनरी प्याथोलोजीका प्रोफेसर डा. डिके सिंह, डा. नवराज चापागाईं, डा. कार्लस शाह, डा. अनिल थापा मगर, डा. रोजिना अधिकारीलगायतका पशु चिकित्सक तथा प्राविधिकको सहभागिता रहेको थियो । विदेशबाट फर्केका वा विदेश जान लागेका युवालाई स्वदेशमै व्यावसायिक पशुपालनमा प्रोत्साहन गर्न शुक्रबार धनौजीमा तालिम दिइदै छ । ४ गते डेरीस्तरीय लोकगीत कार्यक्रम, ५ गते रक्तदान र हाजिरीजवाफ कार्यक्रम, खेलकुद कार्यक्रम, ६ गते नमूना फार्मको उद्घाटन, ७ गते अग्रज किसान सम्मान गर्न लागेको छ । ७ गते मंगलबार नवनिर्मित भवनको उद्घाटन, पुरस्कार वितरण तथा प्रभातफेरीलगायतका कार्यक्रम हुनेछन् ।





